१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

चार दिनदेखि बाँकेमा लगातार बाघको आक्रमण

चार दिनमा दुई महिलाको मृत्यु, दुईजना घाइते

बुधबार सालको पात टिप्न गएकी राप्तीसोनारी–४ बैजापुरकी ३० दुर्गा थारु बाघको आक्रमणमा परिन्। बाघसँग प्रतिकार गर्दा उनले ज्यान बचाइन्। बिहीबार जंग्मा घाँस काट्न गएकी राप्तीसोनारी गाउँपालिका–४ प्रसोनाकी ५२ वर्षीया लीला विष्टको बाघ आक्रमणमा परि मृत्यु भयो। उसो त शुक्रबार पनि बाघले आक्रमण गर्‍यो। जंगलमा बाख्रा चराउन गएका राप्तीसोनारी–५, का बमबहादुर पुन शुक्रबार पाटेबाघको आक्रमणबाट जोगिए।  

बाख्रा चराउन उनी स्थानीय शिद्धेश्वरी सामुदायिक वनभित्र गएका थिए। झाडीमा लुकेर बसेको बाघले आक्रमण गर्ने प्रयास गरे पनि उनी रुखमा चढेर जोगिए। उनका बाख्रा भने पाठेबाघले खाएको थियो। रुख चढेर उनले ज्यान बचाए। लगातार तीन दिन हिंसात्मक गतिविधि गरेको बाघले शनिबार फेरि अर्की महिलालाई आक्रमण गरेको छ। बाघको आक्रमणमा परेर दाउरा काट्न सामुदायिक जंगलमा गएकी राप्तीसोनारी फत्तेपुरकी २९ वर्षीया चाँदनी थारुको मृत्यु भएको छ। पछिल्ला चार दिन लगातार बाघले आक्रमण गरेको छ।

बाघको आक्रमणमा परेर दुईजना महिलाले ज्यान गुमाएका छन् भने दुईजना घाइते भएका छन्। बाँके राष्ट्रिय निकुञ्ज र सामुदायिक वन नजिकै रहेका बस्तीहरु यतिबेला त्रसित भएका छन्। बाघले दिनदिनै मान्छेमाथि आक्रमण गर्न थालेपछि यतिबेला पूरै गाउँ त्रसित भएको छ। यसभन्दा अघि पनि बाघले मान्छे खाएको छ। तर बाँके राष्ट्रिय निकुञ्जले हिंसात्मक गतिविधि गर्ने बाघलाई नियन्त्रण गर्न सकेको छैन। निकुञ्जसँगै जोडिएको सामुदायिक वनमा बाघ पसेको छ।

बजैजापुर, प्रसोना, फत्तेपुरलगायतका निकुञ्ज र सामुदायिक वनसँग जोडिएका बस्तीका सर्वसाधारण बाघको त्रासमा छन्। बाँके राष्ट्रिय निकुञ्जले हिंसात्मक बाघको पहिचान गर्न नसक्दा पाठेबाघले आक्रमण गरिरहेको स्थानीयहरुको भनाइ छ। यता निकुञ्जले भने बाघ बस्तीमा नगएको बताएको छ।

असावधानीपूर्वक मान्छे जंगलमा जाँदा बाघले आक्रमण गर्ने गरेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख श्यामकुमार साहले जनाए। ‘बाघ गाउँमै पसिसकेको छैन,’ उनले भने, ‘जे जति घटना भएका छन् ति सबै जंगलभित्रै भएका छन्।’ यसले पनि बाघ भएको ठाउँमा सर्वसाधारण जाँदा बाघले आहारका लागि आक्रमण गर्ने गरेको उनी बताउँछन्। निकुञ्जभित्र आहार कम हुँदा पनि बाघ बस्ती नजिकैको सामुदायिक वनमा प्रवेश गरेको स्थानीय रामु थारुले बताए। ‘बस्ती नजिकै बाघ आउँदा पनि निकुञ्जले गम्भीरता देखाएन,’ उनी भन्छन्।

पटकपटक बाघ गाउँ वरिपरि घुमिरहँदा गाउँले शान्तसँग हिँड्डुल गर्न नपाएको उनले जनाए। साँझ ढुक्कका साथ सुत्नै सकेनन्। यो घटना निकुञ्ज आसपास भएको पहिलो भने होइन, यसभन्दा पहिला पनि यस्ता घटना घटेका छन्। तर पछिल्ला चार दिनयता लगातार बाघले आक्रमण गर्दा पनि बाँके राष्ट्रिय निकुञ्ज नागरिकलाई सुरक्षित राख्न नसकेको उनी बताउँछन्।

वन्यजन्तुले निकुञ्ज आसपासका बस्तीमा पटकपटक क्षति गर्दा पनि बाँके राष्ट्रिय निकुञ्जले बस्ती जोगाउन दीर्घकालीन योजना अघि सारेको देखिँदैन। बस्तीलाई सुरक्षित राख्न नसक्दा बेलाबेला वन्यजन्तु गाउँ छिरेर क्ष्यति गर्ने गरेको स्थानीयको भनाइ छ। सामान्य सरसफाइले मात्र भन्दा पनि वन्यजन्तुबाट बस्ती बचाउन दीर्घकालीन योजना निर्माण गर्नुपर्ने स्थानीयहरुको भनाइ छ। ‘कतिबेला बाघ बस्ती तथा बस्ती वरिपरि आउँछ थाहा हुँदैन,’ भूमिसरा थारुले भनिन्, ‘पछिल्लो समय बाघ बस्ती नजिक आउन थालेको छ।’ यस्तो अवस्थामा कसरी जोखिम कम गर्न सकिन्छ उपाय अवलम्बन गर्नुपर्ने उनको भनाइ छ। ‘बाघ कतिबेला आउँछ भन्ने डरले दैनिक कामकाज प्रभावित भएका छन्,’ उनी भन्छिन्, ‘एक्लै हिँड्डुल गर्न र काममा निस्कन सकिएको छैन।’  

निकुञ्ज आसपासमा रहेका पानी प्रदूषण भएका कारण पनि खतरा बढ्दै गएको छ। खोला तथा तलाउमा प्रदूषण बढ्दा वन्यजन्तुमा प्रत्यक्ष असर पर्दै गएको र उनीहरु बस्ती वरिपरि आउने थालेको सामुदायिक वन उपभोक्ता महासंघ बाँकेका अध्यक्ष सावित्रा पुनले बताइन्। चुरे क्षेत्रमा पानीको मुहान सुक्दै जाँदा वन्यजन्तु बस्ती नजिक आउने गरेको उनको भनाइ छ। खोला र नदीको पानी सफा हुँदा त्यो वरपर सबैको वातावरण राम्रो हुने, पानीका स्रोतहरु स्वच्छ हुने भएकाले यस विषयमा सबै पक्षको सचेतना आवश्यक रहेको उनले बताइन्। फोहोर र प्रदूषित पानी बग्ने खोला र नदी वरपर अन्य स्रोतको पानी पनि दूषित हुने भएकाले पानी खान वन्यजन्तु बस्ती नजिक आउने गरेको उनले जनाइन्।

निकुञ्जभित्र ठूला सडक, पुललगायत भौतिक संरचनाले वन्यजन्तुको बासस्थान, आहार र समग्र जैविक–विविधतामा असर पार्न सक्ने वातावरणविद्हरुले जनाएका छन्। राजमार्गको दुवैतिर वनजंगल भइ पाटेबाघलगायतका हिंस्रक वन्यजन्तु ओहोरदोहोर गर्नुको साथै बस्तीमा समेत निस्किने सम्भावना भएको, यस्ता वन्यजन्तुले मानिसलाई आक्रमण गरी घाइते बनाउने तथा मार्ने सम्भावना भएको हुँदा सर्वसाधारणहरु सचेत हुनेपर्ने बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत साहले बताए।

वन्यजन्तुबाट मानव तथा घरपालुवा जनावर बचाउन खासै क्रियाकलाप नभएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत साहले बताए। निकुञ्जले जंगलमा बाघका लागि आवश्यक आहारा, पानीका लागि पर्याप्त कुँवा निर्माण गरेको जनाएको छ। तर स्थानीयका अनुसार वन्यजन्तुका लागि आवश्यक आहार र पानी नहुँदा बाघ बस्ती नजिक आउने गरेको छ।

पछिल्लो समय मानव–वन्यजन्तु द्वन्द्व बढ्दै जाँदा निकुञ्ज पहिला मानव बचाउने की वन्यजन्तु भन्ने विषयमा अन्योलमा छ। पर्यावणीय हिसाबले निकुञ्ज वन्यजन्तु संरक्षणमा लागेकाले निकुञ्ज वन्यजन्तुमैत्री हुने बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ।

प्रकाशित: २४ पुस २०७८ १३:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App