६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

बाढीपहिराेमा ज्यान गुमाएका परिवारलाई राहत

बाढीपहिराेमा ज्यान गुमाएका १५जनाका परिवारलाई राहत प्रदान गरिएको छ।कात्तिकको पहिलो साता परेको अविरल वर्षाका कारण बाढीपहिराेमा ज्यान गुमाएका यहाँका १५ जनाको परिवारलाई सरकारी राहत उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले जानकारी दिए।

उनकाअनुसार नेपाल सरकारका तर्फबाट बाढीपहिराेमा मृत्यु भएका परिवारलाई प्रतिव्यक्ति दुई लाखका दरले राहत प्रदान गरिएको हो।यसैगरी  एकै परिवारका थप मृतक सङ्ख्याका आधारमा थप एक लाखका दरले राहत प्रदान गरिएको प्रजिअ विष्टले जानकारी दिए।जिल्लामा बाढीपहिराेबाट १५ जनाको मृत्यु भएको थियो भने एकजना बेपत्ता छन्।  

सबैभन्दा बढी मानवीय क्षति जिल्लाको जोरायल गाउँपालिकामा भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। जोरायल गाउँपालिकामा मात्रै बाढीपहिरामा परी सात जनाको मृत्यु भएको थियो।यसैगरी बाढीपहिराेबाट धनजनको क्षति भएका अन्य पीडितका लागि सरकारबाट उपलब्ध हुने रकम आएपछि यथाशीघ्र वितरण गरिने प्रजिअ विष्टले बताए। उनले भने, 'अहिले मृतकका लागि आएको राहत रकम वितरण गरेका छौँ,अब अन्य क्षतिको रकम आए तत्कालै वितरण गर्ने छौँ।'

यहाँका बाढीपहिराेपीडितलाई नेपाल रेडक्रस सोसाइटी डोटी शाखाले त्रिपाल, लुगाकपडा, भाँडाकुडालगायतका सामग्री वितरण गरेको सभापति लछीराम कुँवरले जानकारी दिए।

यसैगरी जिल्लाको जोरायल गाउँपालिकाले बाढीपहिराले ज्यान गुमाएका परिवारलाई किरिया खर्चस्वरुप २५ हजार उपलब्ध गराएको गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिए। बाढीपहिराले घर जमिन बगाएपछि यहाँका अधिकांश पीडितको पालमुनि बास भएको छ।

प्रकाशित: २३ कार्तिक २०७८ ०८:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App