१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

लेखा समितिद्वारा चमेलियाको अनुगमन

भीमदत्तनगर- गत जेठ महिनादेखि कामकाज ठप्प भएको निर्माणाधीन चमेलिया जलविद्युत् आयोजनाको निर्माण कार्यको सार्वजनिक लेखा समितिले अनुगमन गरेको छ।दार्चुलाको चमेलिया जलविद्युत् आयोजना लम्बिनु र लागत बढ्नुको विषयबारे अनुगमन गर्न सार्वजनिक लेखा समितिका संयोजक तथा सभासद् राजन केसी नेतृत्वको छजना सभासद्को टोली चमेलिया पुगेको हो।

लेखा समितिले चमेलियाका कर्मचारी, आयोजनास्थलका स्थानीय निर्माण कम्पनी र प्रशासकीय कार्यबारे अन्तर्क्रिया गरी फर्केको आयोजना प्रमुख राजेन्द्र मानन्धरले बताए।

सो टोलीले एकदिने अन्तर्क्रिया र भेटघाट गरी आयोजनाबारे जानकारी लिएको उनले बताए।  

चमेलियाको निर्माण बन्द हुँदा कोरियाली कम्पनीको इलेक्ट्रो मेकानिकल कार्यसमेत प्रभावित बनेको छ। चिनियाँ कम्पनी सिजिजिसीले करिब साढे चार किलोमिटर सुरुङ निर्माणलगायतको ९५ प्रतिशत निर्माण कार्य सम्पन्न गरिसकेको चमेलिया जलविद्युत् आयोजनाले जनाएको छ।

आयोजना सन् २००७ मा निर्माण कार्य सुरु भई डिसेम्बर २०११ सम्पन्न गर्ने लक्ष्य रहेको थियो। तर विविध कारणले तोकिएको समयभित्र आयोजना सम्पन्न हुन नसक्दा पटक–पटक म्याद थप हुँदै आएको छ।

थपिएको म्यादमा पनि तीन महिना बितिसक्दा पनि अझै सञ्चालन हुन सकेको छैन। निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप अफ पावर कम्पनी सिजिजिसीले सम्झौताअनुसार नेपाल विद्युत् प्राधिकरणले समयमा भुक्तानी नगरेको भन्दै निर्माण कार्य ठप्प पारेको छ।

पछिल्लो समय २०१५ मार्चसम्म आयोजना सम्पन्न गर्ने गरी म्याद थप भएको छ। चमेलिया जलविद्युत् आयोजनाको सिभिल ठेकेदार चाइना गेजुबाले करिब रु एक अर्ब २० करोडको क्षतिपूर्ति दाबी गरेको छ। दाबीअनुसार क्षतिपूर्ति दिए ३० मेगावाटको चमेलियाको लागत प्रतिमेगावाट करिब ५४ करोड पुग्नेछ। सामान्यतः प्रतिमेगावाट जलविद्युत् उत्पादन लागत करिव रु २० करोड हो। २०६३ पुस ६ मा ठेक्का सम्झौता भएको उक्त आयोजनाको अनुमानित लागत करिब रु सात अर्ब १८ करोड २८ लाख थियो।

पटक–पटक भेरिएसन अर्डर स्वीकृत गरी पछिल्लोपटक गत असारमा चमेलियाको लागत रु १५ अर्ब छ करोड पुर्‍याइएको थियो। संसद्को सार्वजनिक लेखा समितिको निर्देशनमा भेरिएसन अर्डरबापतको भुक्तानी रोकिएको छ। उक्त भुक्तानी पनि प्राधिकरणले दिनुपर्ने माग गरिएको छ।

ठेकेदार गेजुवाले क्षतिपूर्ति दाबी गर्दै करिब तीन महिनादेखि काम रोकेको हो। पटकपटक आयोजना बन्द गरिने र समयमै काम नभएका कारण अझै निर्माण कार्य लम्बिने देखिएको छ। आयोजनाका प्रमुख राजेन्द्र मानन्धरका अनुसार आयोजनाको म्याद तीन/चार महिना पर धकेलिने छ। २०६३ पुस ६ मा ठेक्का सम्झौता भएको उक्त आयोजनाको अनुमानित लागत करिब रु सात अर्ब १८ करोड २८ लाख थियो। सम्झौताअनुसार चमेलिया २०६८ पुसमा सकिनुपर्ने थियो। तर, नसकिएपछि म्याद २०६९ साउन, २०७० असार गर्दै हाल २०७१ पुससम्म सारिएको थियो। पछिल्लोपटक थपिएको म्यादअनुसार चमेलिया आगामी चैतमा सकिनुपर्छ तर सो अवधिमा पनि नसकिने भएको छ।

अहिले ठेकेदारको सल्लाहमा वार्ता टोलीले चमेलियाको अन्तिम म्याद तय गर्ने तयारी गरिरहेको छ। तीन महिना लामो समयसम्म निर्माण कार्य रोक्किँदा तीन चार/महिना आयोजना लम्बिने देखिएको मानन्धरले बताए।

अहिले गेजुवाले कार्य रोकेकै कारण ढिलाइ भएको छ। चमेलियामा १३१ किलोमिटर लामो १३२ केभी प्रसारण लाइन, १० एमभिएको दुईवटा र ३ एमभिएको एउटा सबस्टेसन, ३३ केभी र ११ केभीको साढे ३७ किलोमिटरको प्रसारण लाइन तथा १८ किलोमिटर लामो सडकका कारण लागत अत्यधिक देखिएको छ। अहिले चमेलियाको वास्तविक काममा ९४ प्रतिशत काम सकिएको छ। -रासस

प्रकाशित: ८ भाद्र २०७१ ०२:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App