१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

चितुवाले मार्‍यो एउटै कृषि फर्मका २२ बाख्रा

खोरमा पसेर चितुवाले मारेको बाख्रा मृत अवस्थामा । तस्बिर/नागरिक

सामुदायिक वनबाट बस्ती पसेको चितुवाले एउटै फर्मका २२ वटा बाख्रा मारेको छ। गुलरिया नगरपालिका–५ मा रहेको सन्तोषी सामुदायिक वनदेखि १ सय मिटर दूरीमा रहेको बृष कृषि तथा पशु पंक्षी फर्मको खोरमा पसेर चितुवाले बाख्रा मारेको हो। खोरमा रहेका २३ बाख्रामध्ये एउटा भेटिएको छैन भने खोर तल खसेर एउटा बाख्रा बाचेको छ।

नभेटिएको एउटा बाख्रा चितुवाले बोकेर भागेको अनुमान छ। पक्की बाख्राको खोर भुईदेखि चार फिट अग्लो छ। टिनको छानो लगाएको र देवालमा २ फिट खाली रहेको ठाउँमा चितुवा खोरमा पसेर बाख्रा मारेको हुन सक्ने फर्म संचालक चन्द्रकान्त पौडेलले बताए। ‘पक्की खोरमा चितुवा कसरी पस्यो भन्ने अनुमान लगाउन सकिएको छैन,’ पौडेलले भने, ‘ तर, टिनको छानो र देवाल रहेको २ फिट खाली ठाउँबाट चितुवा पसेको हुन सक्छ।’ 

फर्मदेखि पौडेलको घर दुई सय मिटर दूरीमा छ। आइतबार राती ९ बजे खोर रेखदेख गरेर फर्केको पौडेलले सुनाए। उनकाअनुसार चितुवा आइतबार १२ बजे राती खोरमा पसेर बाख्रा मारेको हुन सक्छ। सन्तोषी सामुदायिक वनमा चितुवा देखिने गरेको स्थानीय जगदिश अधिकारीले बताए। ‘एउटा बाख्रासम्म झम्टेर लगेको सुनिएको थियो,’ उनले भने,‘खोरभित्र पसेर २२ वटा बाख्रा मारेको घटना पहिलो हो।’ सामुदायिक वनमा रहेका चितुवा पटक पटक सन्तोषी टोलमा पस्ने गरेको स्थानीयको भनाइ छ। सामुदायिक वनमा रहेका चितुवा बस्ती पस्न थालेपछि स्थानीय त्रसित बनेका छन्।  

सन्तोषी सामुदायिक वनमा बच्चासहित चितुवा देखिने गरेको प्रत्यक्षीदर्शीले बताएका छन्। घाँस दाउराका लागि वन पस्ने सर्वसाधरणले सन्तोषी सामुदायिक वनमा चितुवा देखिएको बताएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै संचालक पौडेलले भने,‘चितुवा खोरमा पसेर भए भरिका बाख्रा मार्ला भन्ने कल्पना गर्न पनि सकिएन।’ चाडपर्व नजिएको बेला चितुवाले ठूलो दुर्घटना घटाएको उनले बताए।

संचालकले १२ वटा बाख्राको बिमा गरेका थिए भने अन्य बाख्राको बिमा छैन। ७ वटा माउ बाख्रा, ७ वटा खसी, एउटा बोका र ७ वटा पाठापाठी मध्ये एउटा बाख्रा खोरमा जिउँदो भएको उनले जानकारी दिए। फर्मको खोरमा रगत लट्टिएको कतै देखिँदैन। तर चितुवाले घाटी च्यापेर बाख्रा मारेका जस्तो देखिन्छ। 

खोरमा रहेको एउटा बाख्राका पछाडि चितुवाको पंजाले हानेको जस्तो घाउँ मात्र छ। बाँकी सबै बाख्राको घाटीमा च्यापेर दात गाडेको छ। चितुवाले मारेको बाख्रालाई खाल्डोमा पुरेर नष्ट गरेको पौडेलले बताए।

प्रकाशित: ११ आश्विन २०७८ १३:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App