६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

अफगानिस्तानमा रहेका नेपालीलाई छिटो उद्धार गर्न सरकारलाई निर्देशन

प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिले अफगानिस्तानमा रहेका नेपालीहरुको छिटो उद्धार गरी स्वदेश फिर्ता ल्याउन सरकारलाई निर्देशन दिएको छ।  

समितिको बुधबार सिंहदरवारमा बसेको बैठकले अफगानिस्तानमा रहेका नेपाली नागरिकहरुको वास्तविक तथ्यांक र अवस्था पत्ता लगाई सुरक्षित रुपमा खाने बस्ने व्यवस्था मिलाउँदै छिटो भन्दा छिटो उद्धार गरी नेपाल फर्काउन सरकारलाई निर्देशन दिएको हो। 

समितिले दिएको निर्देशनबारे सभापति कृष्णभक्त पोखरेलले भने, ‘श्रम स्वीकृति लिई वा अन्य पक्रियाबाट त्यहाँ पुगेका नेपाली नागरिकको जोखिममा पर्नसक्ने जानकारी विभिन्न सञ्चारमाध्यममा आइरहेको सन्दर्भमा त्यहाँ रहेका नेपाली नागरिकको एकिन तथ्यांक र वास्तविक अवस्था पत्ता लगाई, सुरक्षित रुपमा खाने, बस्ने प्रवन्ध मिलाइ जोखिमपूर्ण अवस्थामा रहेका नेपालीको जीवन रक्षा र मानव अधिकारको संरक्षण गर्न र छिटोभन्दा छिटो उद्धार गरी सुरक्षित रुपमा नेपाल ल्याउन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई निर्देशन गर्ने।’

बैठकमा बोल्दै गृहमन्त्री बालकृष्ण खाँणले सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुलाई नेपाल ल्याउने सन्दर्भमा महत्वपूर्ण निर्णय र पहलकदमी गरिरहेको बताए। उनले अफगानिस्तानमा भएको राजनीतिक परिवर्तनको सन्दर्भमा नेपालले तटस्थताको नीति लिएको र गम्भिरतापूर्वक अवलोकन गरिरहेको बताए।  

गृहमन्त्री खाँणले भदौँ १ र २ गतेदेखि २ सय ७२ जनाको उद्धार भइसकेको जानकारी दिए। त्यसमध्ये ९ जना भारतीय नागरिक रहेको पनि उनले उल्लेख गरे। परराष्ट्र मन्त्रालयले नेपाली युवाहरु कार्यरत रहेको राष्ट्रको त्यहाँ रहेको कटनीतिक नियोग र काठमाडौंस्थित कुटनीतिक नियोगलाई सम्पर्क गरिरहेको बताए। 

अमेरिका, बेलायत, क्यानडा, जर्मनी, युरोपियन युनियन, जापानलाई औपचारिक रुपमा पत्राचार पठाएर त्यहाँ रहेका नेपालीहरुलाई सकुशल छिमेकी मुलुकमा पुर्‍याइदिन र नेपाल जानका लागि सहजीकरण गरिदिन कुटनीतिक पहल गरिरहेको पनि उनले उल्लेख गरे। 

उनले नेपाली ध्वजावाहक जहाज भने अपगानिस्तान पठाउनसक्ने अवस्था नगरेको बताए। उनले भने, – ‘नेपाली ध्वजावाहक जहाज पठाउन सरकार तयार छ। तयारी नै छौँ हामीहरु। तर अब काबुलमा जानसक्ने अवस्था रहेन। किनकी त्यहाँ नागरिक उडड्यनका जहाजहरु जानसक्ने अवस्था छैन। त्यहाँबाट अन्य माध्यमबाटैै छिमेकी मुलुकहरुमा ल्याउनुपर्ने देखिएको छ। 

छिमेकी मुलुकमा नेपालीहरु फेरी नेपाल आउन सक्ने अवस्था रहेन भने नेपाली जहाज जानसक्छ। त्यसको पूर्वतयारी सरकारले गरेको छ। मन्त्रीपरिषद्ले सम्बन्धित विभागिय मन्त्रालयलाई त्यो निर्देशन दिई सकेको छ।’ नेपालीहरु कार्यरत कुटनीतिक नियोग र दुतावासले नेपालीलाई सुरक्षित रुपमा अफगानिस्तान बाहिर ल्याउने प्रतिवद्धता जनाएको मन्त्री खाँणले बताए।  

प्रकाशित: २ भाद्र २०७८ १२:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App