७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

हतियार र लागुऔषधसहित भारतीय नागरिक पक्राउ

विराटनगरमा बुधबार राति एक भारतीय नागरिकलाई हतियार र लागुऔषधसहित सशस्त्र प्रहरीले पक्राउ गरेको छ। भारत–नेपाल सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१६ स्थित भत्केको वालनजिकबाट बुधबार राति साढे १० बजेतिर भारतीय नागरिकलाई पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ। शंकास्पद रूपमा पैदल नेपाल प्रवेश गरेका अररिया जिल्ला जोगबनी नगरपञ्चायत–९ इन्द्रनगरका ४१ वर्षीय पप्पुकुमार पटेललाई नियन्त्रणमा लिई खानतलासी गर्दा हतियार र लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।

‘भारतको जोगबनीबाट हतियार र लागुऔषध लिएर आउँदै गर्दा जोगबनीका पप्पुकुमार पटेल बुधबार राति पक्राउ परेका हुन्,’ सशस्त्र प्रहरी बल मोरङका डिएसपी गोपीकृष्ण ठाकुरले भने, ‘झोलाभित्र राखेर ल्याउँदै गर्दा उनको साथबाट एउटा कटुवा पेस्तोल, लागुऔषध एभिल २ सय ९२ र लुपिजेसिक २ सय ९५ एम्पुल तथा एउटा चक्कु र दुईवटा मोबाइल बरामद भएको छ।’ पटेलले नेपालमा हतियार र लागुऔषध सप्लाई गर्ने कारोबारी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। 

पक्राउ परेका पटेलले नेपालमा कहाँ, कसलाई हतियार र लागुऔषध बिक्रीवितरण गर्ने गरेका छन् भन्ने विषयमा अनुसन्धान भइरहेको छ। सशस्त्र प्रहरीले आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा पटेललाई बुझाएको र उनीविरुद्ध हतियार खरखजना र लागुऔषध कसुरमा मुद्दा चलाइने प्रहरीले जनाएको छ।

प्रकाशित: १ श्रावण २०७८ ०३:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App