६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

खोटाङमा संक्रमणमुक्त हुने संख्या १ हजार ५०३ पुग्यो

खोटाङका १ हजार ५०३ जनाले कोरोना संक्रमणलाई जितेका छन्। बिहीबारसम्मको तथ्यांक अनुसार जिल्लामा कोभिड–१९ को संक्रमणबाट कुल १ हजार ८३६ जनालाई संक्रमण भएकामा १ हजार ५०३ जना संक्रमित निको भएका हुन्। १० स्थानीय तह रहेको जिल्लामा १ हजार ५०३ जनाले संक्रमण जित्दा र ९ जनाको मृत्यु हुँदा हाल सक्रिया संक्रमितको संख्या ३०५ रहेको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिए। 

जिल्लामा संक्रमण जित्नेको संख्या सक्रिया संक्रमितको संख्याभन्दा १ हजार १९८ ले बढी हुन पुगेको छ। यद्यपी, हाल कोभिड–१९ को संक्रमण परीक्षणको दायरा भने साँघुरो पारिएको छ। गाउँ–गाउँमा संक्रमण फैलिरहँदा पर्याप्त मात्रामा पिसिआर र एन्टिजेन परीक्षण गर्न छाडिएका कारण पनि संक्रमितको संख्या घटेको आँकलन छ। अर्कातर्फ कतिपय सरकारी कार्यालय तथा हाटबजारमा भिडभाड पनि बढ्न थालेको देखिएको छ।  

हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ५८१ जना, हलेसी तुवाचुङ नगरपालिकाका २०६ जना, रावाबेँसी गाउँपालिकाका १०० जना, केपिलासगढी गाउँपालिकाका ६६ जना, ऐसेलुखर्क गाउँपालिकाका ११७ जना, जन्तेढुंगा गाउँपालिकाका ६९ जना, खोटेहाङ गाउँपालिकाका ५९ जना, साकेला गाउँपालिकाका १६९ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका १११ जना र बराहपोखरी गाउँपालिकाका २५ जनाले संक्रमण जितेका छन्। जिल्लामा हालसम्म ६ हजार २८९ जनाको एन्टिजेन र १ हजार ८३१ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ५०३ जनालाई संक्रमण पुष्टि भएको हो। हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १३६ जना, हलेसी तुवाचुङ नगरपालिकामा २६ जना, रावाबेँसी गाउँपालिकामा १४ जना, केपिलासगढी गाउँपालिकामा १९ जना, ऐसेलुखर्क गाउँपालिकामा ३६ जना, जन्तेढुंगा गाउँपालिकामा १ जना, खोटेहाङ गाउँपालिकामा १८ जना, साकेला गाउँपालिकामा ८ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ५० जना र रावाबेँसी गाउँपालिकामा २ जना सक्रिया संक्रमित रहेको स्वास्थ्य कार्यालयका प्रमुख सिग्देलले बताए।  

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा हालसम्म ३२ स्वास्थ्यकर्मी संक्रमित भएका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १० जना, हलेसी तुवाचुङ नगरपालिकामा २ जना, रावाबेँसी गाउँपालिकामा २ जना, केपिलासगढी गाउँपालिकामा ३ जना, ऐसेलुखर्क गाउँपालिकामा ३ जना, जन्तेढुंगा गाउँपालिकामा २ जना, खोटेहाङ गाउँपालिकाका १ जना, साकेला गाउँपालिकामा २ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ६ जना र बराहपोखरी गाउँपालिकामा १ जना स्वास्थ्यकर्मी संक्रमित भएका हुन्। संक्रमित स्वास्थ्यकर्मीमध्ये कतिपय डिस्चार्ज भइसकेका छन्। 

हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ५ जना, हलेसी तुवाचुङ नगरपालिकामा १ जना, रावाबेँसी गाउँपालिकामा १ जना, केपिलासगढी गाउँपालिकामा १ जना र ऐसेलुखर्क गाउँपालिकामा १ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ।  

हाल १९ जना जिल्ला बाहिरका अस्पतालमा रेफर गरिएको अवस्थामा छन् भने ८ जनाको संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ।

प्रकाशित: १७ असार २०७८ १५:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App