११ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

विरुवा लिनेको लर्को, १ लाख विरुवा वितरण गर्दै वन

भक्तपुरमा विरुवा लिनेको लर्को लागेको छ। डिभिजन वन कार्यालय परिसरमा मंगलबारदेखि विरुवा लिनेको लर्को लाग्न थालेको हो।

कार्यालयले विरुवा रोप्नका लागि तयार गरेको नर्सरीमा विहानैदेखि विरुवा लिनेको भीड भएको वन कार्यालयले जनाएको छ। कार्यालयले हरेक वर्ष असार १५ गतेपछि विरुवा वितरण गर्दै आएको छ।

कार्यालयले व्यक्तिगत र संस्थागत रुपमा विरुवा वितरण गर्ने गरेको छ।‘अहिलेको समय विरुवा रोप्ने समय हो, यो समयमा रोपेको विरुवा छिट्टै सर्ने र हुर्काउन सजिलो हुने गर्दछ’, कार्यालयका प्रमुख वन अधिकृत प्रेम खनालले भने, ‘यही समयलाई लक्षित गरेर हामीले विरुवा उत्पादन गरेका छौं र वितरण पनि थालेका छौं।’

उनले यो वर्ष १ लाख बढी विरुवा वितरण गर्ने लक्ष्य रहेको सुनाए।‘मानिसको लागि रुख विरुवाको आवश्यकता छ, अहिले धेरै पर्ती ठाउँहरु खाली रहेका छन्, ती ठाउँहरुमा पनि विरुवा रोप्न सकिन्छ, मानिसहरुमा वृक्षरोपनको आवश्यकता बोध गराउनका लागि पनि हामीले आवश्यक मात्रामा विरुवा उत्पादन गर्ने गरेका छौं’ उनले थपे।

उनले केही वर्ष यता मानिसहरुमा विरुवा रोप्ने चलन बढेको समेत बताए। मानिसहरुले विरुवाको महत्व बुझ्न थालेको र विरुवा भएको ठाउँ रमाइलो पनि हुने भएकाले मानिसहरु विरुवा खोज्न आउने गरेको उनको भनाइ छ।

उनले कार्यालयले आफ्नो नर्सरीमा विभिन्न जातका विरुवा तयार बनाएको जानकारी दिए। उनका अनुसार अहिले कार्यालयको नर्सरीमा कपुर, मसला, तेजपात, इपिलइपिल, अम्बा, कागती, धुपीसल्ला, वीरेन्द्र फूल, ज्याकाराण्डा, अमला, कल्की फूल, रुख टमाटर, चाँप , विभिन्न जातका फूलहरु, पारिजात, काँगियो, ओखर, रोजमेरी, लप्सीलगायतका विरुवाहरु तयारी अवस्थामा रहेको बताए।

उनका अनुसार एउटा विरुवा उत्पादनका लागि कार्यालयले २० रुपैयाँ खर्च गर्दै आएको छ। अहिले कार्यालयमा आएर विरुवा लिनेहरुको संख्या बढेको छ। सोही कारण कार्यालयले निश्चित समय समेत तोकेको छ भने प्रतिव्यक्ति ५ वटा विरुवा निःशुल्क वितरण गर्दै आइरहेको छ।

प्रकाशित: १६ असार २०७८ ०८:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App