१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बाढी–पहिरोसँगै मेलम्चीमा डुब्यो खबर संवाहक

हरेक बिहान भाले बास्नु अगावै स्थानीयको घर–घरमा पुगेर ताजा समाचारमार्फत स्थानीयलाई ब्यूँझाउने मेलम्ची–इन्द्रावती नदी करिडोरको एक मात्र खबर संवाहक रेडियो मेलम्ची डुबानमा परेको छ ।  

पश्चिमी सिन्धुपाल्चोकको केन्द्र मेलम्ची बजारमा रहेको रेडियो भवन डुवानमा परेको हो । डुवानमा परेसँगै रेडियोको प्रशारण बन्द हुन पुगेको छ । तीन तले भवनको दुई तला डुबेको रेडियोका स्टेशन म्यानेजर देबराज सुवेदीले बताए । ‘रेडियोको सम्पूर्ण उपकरण बगेका छन्,’ उनले भने ।  

मंगलबार दिउँसोदेखि हेलम्बु मुहान रहेको मेलम्ची खोलामा बाढीपहिरो आउँदा यस क्षेत्रमा व्यापक जनधनको क्षति भएको छ । नदीमा पानी सतह बढेसँगै रेडियो कार्यरत पत्रकार तथा कर्मचारीले मंगलबार साँझबाटै भवन छोडेका थिए । ‘यत्रो बिपद्मा सर्वसाधरणलाई सूचना सम्प्रेण गर्न नपाउँदा मर्माहत छौँ,’ स्टेशन म्यानेजर सुवेदीले गला अवरुद्ध पार्दै भने, ‘आपतबिपद्मा खबरमार्फत सामाजिक उत्तरदायित्व बहन गर्नबाट बञ्चित हुँदा स्तब्ध भएका छौँ ।’ रेडियो भवन डुवानमा पर्दा झण्डै ५० लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको उनले जानकारी दिए ।  

इन्द्रावती र मेलम्ची करिडोरका मेलम्ची नगरपालिका, हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिका तथा छिमेकी काभ्रेको मण्डन–देउपुर उपत्यकाका स्थानीयका लागि रेडियो मेलम्ची एकमात्र खबर संबाहक थियो । क्षण–क्षणमा स्थानीय ताजा खबर प्राथमिकतामा राखेर समाचार प्रशारण गर्ने उक्त रेडियो यस क्षेत्रमा लोकप्रियसमेत थियो ।

झण्डै एक दशक भाडाको घरबाट सञ्चालित यो सामुदायिक रेडियो केही महिना अघिदेखि मात्र आफ्नै भवनबाट सञ्चालित थियो । यो रेडियो भवन यस क्षेत्रका जनजनको श्रम र पसिनाबाट बनेको थियो । त्यसैले स्थानीय रेडियोलाई ‘आफ्नै ठान्थे । व्यक्तिगत धनसम्पत्ति जत्तिकै माया पाएको रेडियो भवन डुब्नुका साथै उपकरण बगाएर प्रशारण बन्द हुँदा स्थानीय मर्माहत भएका छन् । ‘मेलम्चीबाट माथि र तलतिर बाढीपहिरोले पु¥याएको क्षतिबारे अनविज्ञ छौँ,’ स्थानीय शिक्षक धर्म दुलालले चुकचुकाउँदै भने ।  

  झण्डै ८५ लाख रुपैयाँ लागतमा यसै वर्ष मात्र रेडियो भवन निर्माण सम्पन्न भएको थियो । स्थानीय, सांसद विकास कोष र जनस्तरबाट भवन निर्माणको लागि ६६ लाख रुपैयाँ संकलन भएको थियो । जनस्तरबाट मात्रै २५ लाख रुपैयाँ चन्दा उठेको रेडियोका अध्यक्ष डम्बर रसिक भारतीले बताए । ‘त्यो रकम स्थानीयले आफ्नो छाक कटाएर दिएका थिए,’ उनले भने । उनका अनुसार रेडियो भवन बनाउँदाको १२ लाख रुपैयाँ अझै ऋण तिर्न बाँकी छ । चन्दा जुटाउँदै बिस्तारै काम अघि बढाउँदै साढे दुई लगाएर भवन निर्माण गरिएको थियो ।  

प्रकाशित: २ असार २०७८ ०६:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App