६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

जलवायु परिवर्तन अभियान सञ्चालन गर्दै बाबुछाेराले गरे सगरमाथाको सफल आरोहण

आफ्ना १६ वर्षीय छोरा सोनाम सहित ताप्लेजुङको मैवाखोला गाउँपालिकाका ४३ वर्षीय पिके शेर्पाले जलवायु परिवर्तन अभियान अन्र्तगत आइतवार बिहान(२०२२ मे २३) ८ बजेर ५० मिनेटमा सगरमाथाको सफल आरोहण गरेका छन्। हिमालयन गाईड्स नेपाल ट्रेक्स एण्ड एक्स्पेडिशन प्रालिमार्फत बाबु पिके र छोरा सोनामले एकसाथ सगरमाथाको सफल आरोहण गरेको हिमालयन गाईड्सका प्रवन्ध निर्देशक इश्वरी पौडेलले जानकारी दिए।  

पिके बिगत लामो समय देखि जलवायु परिवर्तन विरुद्धको अभियानमा संगठित भएर लागि रहेका छन् । हिमाल सफाइ सहित जलवायु परिवर्तन विरुद्धको जनचेतनामूलक कार्यक्रम र पैरवीमा संलग्न रहँदै आएका पिके र उनका छोरा सोनामका साथ शेर्पा छेबी भोटेले समेत सगरमाथाको सफल आरोहण गरेको पौडेलले जानकारी दिए ।  

को हुन् पिके ?  

ताप्लेजुङ मैवाखोलाका पीके सानै उमेर देखि नै घर वरिपरि बगैंचा बिस्तार र सरसफाइमा खप्पिस थिए ।  अहिले हिमाली क्षेत्रको सरसफाइ तथा संरक्षण अभियानकर्मीको पहिचान बनाएका छन्। बाल्यकालमा उब्जिएको प्रकृतिको त्यही मायाले आजसम्म हिमाली क्षेत्रको सरसफाइ र संरक्षणका लागि खट्ने शक्ति मिलिरहेको छ उनमा।  

पर्यटन व्यवसायी शेर्पा फोहोरको बोरा काँधमा हालेर हिमालका काखमा घुम्ने मात्र हैन राष्ट्रिय/अन्तर्राष्ट्रिय मञ्चमा गएर विश्व समुदायलाई झक्झकाउने पनि गर्छन्। कक्षा ८ मा पढ्दापढ्दै २०५२ सालमा काठमाण्डौतर्फ हानिएका पिके त्यसपछि पर्यटकको भारी बोकेर हिमालतिर जान थाले। शेर्पा विदेशी पर्यटकको भारी बोकेर सगरमाथा क्षेत्र,अन्नपूर्ण क्षेत्र, मुक्तिनाथ, लाङटाङ लगायतका विभिन्न स्थानमा पुगे। भरियाबाट स्पेयर, भान्छाको काम गर्ने सहयोगी,भान्छे हुँदै सहायक पथप्रदर्शक र पछि पूर्ण पथप्रदर्शक बनेका शेर्पाले हिमाल आरोहणका तालिम पनि लिए।

उनीसंग विभिन्न आरोहणमा सम्पर्क अधिकृतसम्मको अनुभव छ । शेर्पालाई सानैमा निगालो रोपेर सुरु भएको संरक्षण चेत र घर वरिपरि चिटिक्क बनाएर पलाएको सरसफाइको झल्कोले झक्झकाइ रहन्छ। भरिया बनेर हिमालतिर जाँदादेखि नै भारीसँगै फोहोर संकलन गर्ने झोला समेत बोक्ने र दिनभर संकलन गरेको फोहोर राति बास बस्ने ठाउँमा व्यवस्थापन गर्ने अभियान समेत उनले चलाए  शेर्पाले एकदशक अघि सगरमाथामा सरसफाइ अभियान पनि चलाएका थिए। त्यसबेला सगरमाथा क्षेत्रबाट झण्डै ८ सय किलो फोहोर र पाँचवटा मृत मानव शरीर व्यवस्थापन गरेका छन् उनले। हिमाल सफाइ कार्यक्रम गर्न केही साथीसँग मिलेर पिकेले सन् २०१० मा ‘फ्रेन्ड्स अफ सेभ द हिमालय’ नामक संस्था खोलेका छन्। 

प्रकाशित: ९ जेष्ठ २०७८ ०५:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App