६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

बिशेष स्कुल तथा पुनर्स्थापना केन्द्रले आफ्नै भवनमा मनायो अटिजम दिवस

बिशेष स्कुल तथा पुनर्स्थापना केन्द्र(एस.एस.डि.आर.सी)ले 'विश्व अटिजम सचेतना दिवस अप्रिल-२' आफ्नै भवनमा मनाएको छ। एस.एस.डि.आर.सी. ले एक औपचारिक कार्यक्रममार्फत् चांगुनारायण नगरपालिकाका वडा नं ९ स्थित ताथली याकाडोल भक्तपुरमा बनिरहेको आफ्नै भवनमा अटिजम दिवस मनाएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मिश्रले संस्थालाई सकेको सहयोग पुर्‍याउने प्रतिबद्धता जनाए। संस्थाकी संस्थापक अध्यक्ष उप्रेतीले संस्थालाई यहाँसम्म ल्याउन सहयोग पुर्‍याउने सहयोगी हातहरुलाई आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै साथ सहयोग पाएमा अटिजम बालमैत्रीपूर्ण वातावरण सिर्जना गराइ थप सेवा प्रदान गर्ने कुरा व्यक्त गरिन्। संस्थाका अटिजम भएका बालबालिकाहरुलाई नगरप्रमुखद्वारा खादा लगाई सम्मान र मायाको चिनो प्रदान गरिएको थियो।

कार्यक्रममा अटिजम बालबालिकाहरुले विशेष प्रस्तुति दिएका थिए। जसमा आदेशराज काफ्लेले आफ्नो सफलताको कथा प्रस्तुत गरी सबैलाई भावुक बनाएका थिए।

संस्थाकी संस्थापक अध्यक्ष सबिता उप्रेतीको सभापतित्वमा भएको सो कार्यक्रममा प्रमुख अतिथी चांगुनारायण नगरपालिकाका नगरप्रमुख सोमप्रसाद मिश्र, बिशेष अतिथी नेपाल सरकारका सचीव गोपी मैनाली, प्रा.डा. जनक कोइराला, डा. क्षितिज  बराकोटीलगाएत विभिन्न संघ संस्थाका विशिष्ठ व्यक्तिहरु तथा संस्थाका सल्लाहकार, कार्यसमिति सदस्य, अभिभावक, स्वयंसेवक, अटिजम भएका बालबालिका र किशोर किशोरीहरुको सहभागिता रहेको थियो।

संस्थाको परिचय

विशेषस्कुल तथा पुनर्स्थापना केन्द्र(एस.एस.डि.आर.सी) बिगत १० वर्षदेखि गैरसरकारी, गैह्र नाफामुलक सामाजिक र परोपकारी संस्थाको रुपमा नियमिता दाता र राज्यको सहयोग बिना पनि सीमित स्रोत र साधनमा अटिजम सम्वन्धी राज्यसंग पैरवी गर्ने संस्था हो। 

यसले अटिजम सम्वन्धी समाजमा सचेतना बढाउँदै अटिजम भएका ब्यक्तिहरुको लागि शिक्षा, स्वास्थ विभिन्न किसिमका थेरापीहरु तथा सिपमुलक तालिम प्रदान गरि समाजमा पुनर्स्थापना गर्ने काम गर्दछ। संस्थाले नेपाली समाज र अटिजम भएका व्यक्तिका अभिभावकहरु प्रति ठूलो योगदान दिएको छ। संस्थाका संस्थापक तथा अध्यक्ष युवा सामाजिक अभियान्ता सबिता उप्रेतीले काम गर्ने सिलसिलामा अटिजम बालबालिकाहरु घरमा बाँधेर तथा थुनेर राखेको कारुनिक दृश्य देखेपछि आफ्नो व्यक्तिगत जीवन त्यागेर बिगत ११ वर्षदेखि यसै संस्था र बालबालिकाहरुको सेवामा समर्पित छन्।  

हाल संस्थामा ५० जना अटिजम भएका बालबालिका तथा किशोर किशोरीहरुले सेवा लिरहेका छन्। साथै डाक्टर तथा थेरापिष्ट, साईकोलोजिष्ट, शिक्षक तथा अन्य कर्मचारी गरेर ३० जनाले सेवामा कार्यरत छन्।

अटिजम के हो ? 

नशा र तन्तुको विकास क्रममा भएको असमानता अटिजम हो। जस्लाई न्युरो डेभलपमेन्ट डिसडर पनि भनिन्छ। यो रोग होइना। मस्तिष्कको विशेष अवस्था हो। अटिजम भएका व्यक्तिहरुमा भाषा, संचार सीप र सामाजिकिकरणमा समस्या हुने र एउटै क्रियाकलाप दोहोर्‍याउनु, एकोहोरोपना लगाएतको लक्षण देखिने गर्छ। जन्मेको १८ महिनदेखि ३ वर्षसम्म स्पष्ट लक्षण देखिन्छ। नेपालमा अटिजम सम्वन्धी जनचेतना कम छ भने यस क्षेत्रमा काम गर्ने सेवा केन्द्रहरु पनि कम छ। नेपालमा बिशेष स्कुल तथा पुनर्स्थापना केन्द्र एक अग्रणी संस्था हो।

प्रकाशित: २१ चैत्र २०७७ ११:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App