६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

असहाय वृद्धवृद्धाको घर निर्माण पछि बाँकी रहेको रकम ब्रेन ह्यामरेज बिरामीलाई

ब्रेन ह्यामरेज पिडित जितेन्द्रप्रसाद खत्रीलाई सहयोग रकम प्रदान गर्दै अभियान्ता । तस्बिर : नागरिक

खोटाङमा चन्दा उठाएर पहिरो पीडित दम्पत्तीको घर निर्माण गरेपछि बाँकी रहेको रकम ब्रेन ह्यामरेज भएका बिरामीलाई प्रदान गरिएको छ । चन्दा उठाएर साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका मानबहादुर खत्रीको घर पुनर्निर्माण गरेपछि बाँकी रहेको ४५ हजार रकम सोही ठाउँका ब्रेन ह्यामरेजका बिरामी जितेन्द्रप्रसाद खत्रीलाई प्रदान गरिएको हो ।  

गत भदौ १२ गते हिड्दा हिड्दै मष्तिष्क पक्षघातका कारण बेहोस भएर ढलेपछि हाल काठमाडौंको मोडेल अस्पतालमा उपचार गराइरहेका जितेन्द्रको सहयोगार्थ उनकै श्रीमती अनिता तामाङलाई सोमबार ४५ हजार ८५३ रुपैयाँ रकम प्रदान गरिएको हो । गत असार ३२ गतेको भारी वर्षाका कारण भत्किएको खत्री दम्पत्तीको घर पुनर्निर्माणका लागि चन्दा संकलन अभियान सञ्चालन गरिएको तथा घर निर्माण भएपछि बाँकी रहेको रकम ब्रेन ह्यामरेज भएका बिरामीको उपचारार्थ प्रदान गरिएको वृद्धवृद्धाको घर निर्माणका अभियान्ता थिरेन्द्र भट्टराईले बताए ।  

उपचारका क्रममा आर्थिक समस्या झेलिरहेका खत्री परिवार हाल काठमाण्डौंको तल्लो पासिकोटस्थित राष्ट्रिय चोकमा बसेर मोडेल अस्पताल धाइरहेका छन् । ब्रेन ह्यामरेजका बिरामी जितेन्द्रका परिवारले खर्च अभावकै कारण मोडेल अस्पतालमा उपचारकैक्रममा तीन महिना बसेर बिचैमा डिस्चार्ज लिएका थिए । श्वासले अलि–अलि बोल्न सक्ने अवस्थाका जितेन्द्र आफै हात खुट्टा चलाउन सक्ने अवस्थामा छैनन् । अरुले हात खुट्टा चलाइदिनु पर्ने अवस्था छ । घरमुलीलाई ब्रेन ह्यामरेज भएपछि परिवारको बिचल्नी भएको छ । उनलाई ब्रेन ह्यामरेज भएपछि छोरीको पढाईमा समेत असर परेको छ ।  

ब्रेन ह्यामरेजका कारण दयनीय अवस्थामा पुगेका जितेन्द्रको उपचारमा सहयोग पुर्‍याउनका लागि सहयोग प्रदान गरिएको भट्टराईले बताए । जितेन्द्रलाई सहयोग गर्नका लागि उनकी श्रीमती अनितालाई ९८६०२०२४३३ मा सम्पर्क गर्न सकिने छ ।  

पहिरो पिडितको खत्रीको घर पुनर्निर्माणका लागि स्वदेश तथा विदेशबाट ३ लाख ६० हजार ८६२ रुपैयाँ संकलन भएको थियो । तर घर पुनर्निर्माणका क्रममा संकलन भएकामध्ये ३ लाख २१ हजार ७०८ रुपैयाँमै खत्री दम्पत्तीको नयाँ घर ठडिएपछि बाँकी रहेको रकम ब्रेन ह्यामरेजका बिरामीलाई प्रदान गरिएको अभियान्ता भट्टराईले बताए । भूकम्प प्रतिरोधात्मक शैलीको घर निर्माण गरेर वृद्धवृद्धा दम्पत्तीलाई गत माघ २ गते हस्तान्तरण गरिएको थियो । एक मात्र छोरीले विवाह गरेपछि घरमा वृद्ध दम्पत्ती मात्र बसिरहेका छन् ।

प्रकाशित: १४ चैत्र २०७७ ०७:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App