६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

स्रोत नभएको संस्थालाई नगरपालिकाको ३० लाख

भेरीगंगा नगरपालिकाले चार वडामा चार नमुना गाउँ निर्माणका लागि वीरेन्द्रनगरको नमुना समाजसँग भदौ २३ गते सम्झौता गर्‍यो। कार्यक्रमअन्र्तगत तीन वर्षको अवधिमा नगरपालिकाले ९० लाख र नमुना समाजले २ करोड १० लाख रूपैयाँ बेहोर्ने उल्लेख छ।

भदौ २३ गते सम्झौता गरेर मंसिर २४ गते कार्यादेश दिएको नगरपालिकाले पुस २ गते पहिलो वर्षको ३० लाख रूपैयाँ एकमुष्ट नमुना समाजलाई उपलब्ध गराएको छ। तीन वर्षमा ३ करोड रूपैयाँ नमुना गाउँ निर्माणका लागि खर्चिने उल्लेख गरिए पनि नमुना समाजसँग कुनै आर्थिक स्रोत छैन। समाजका कार्यकारी निर्देशक लालबहादुर जिएम द एरिया फाउन्डेसनको सहयोगमा २ करोड १० लाख रूपैयाँ नमुना समाज निर्माणका लागि खर्चिने बताउँछन्।

‘एसिया फाउन्डेसनको आर्थिक सहयोगमा साझेदारी कार्यक्रमअन्र्तगतको २ करोड १० लाख रूपैयाँ नमुना गाउँ निर्माणमा खर्चिन्छौं,’ उनले भने, ‘कोरोनाका कारण रकम आउन केही ढिलो भएको हो।’ रकम दिने भनिएको दातृ निकायसँग छलफल भइरहेको उनी बताउँछन्।

तर नमुना समाजले नगरपालिकामा पुस १ गते पठाएको पत्रमा खातामा नगरपालिकाले दिएको ३० लाखसहित १ करोड रूपैयाँ मौज्दात रहेको उल्लेख छ। साझेदारी कार्यक्रम भएकाले नगरपालिकाले सम्झौता गरेको संस्थाको आर्थिक स्रोतको हिसाबकिताब माग्नुपर्ने हो।  

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतबहादुर बस्नेत भने अरू पालिकामा पनि काम गरेका आधारमा दातृ निकायको स्रोतको विषयमा कुनै चासो नदिएको बताउँछन्।‘हामीसँग खातामा पैसा छ भनेर संस्थाका अध्यक्ष र कार्यकारी निर्देशकले पत्र पठाएका छन्,’ बस्नेतले भने, ‘विश्वासका आधारमा अहिलेसम्म स्रोतको खोजी गरेका छैनौं।’ चालू आर्थिक वर्षमा खर्च गर्ने भनिएको १ करोड रूपैयाँबाट के–के काम भयो भन्नेबारे आफूलाई जानकारी नभएको उनले बताए।  

‘साझेदारी कार्यक्रम अन्र्तगतको पहिलो वर्षको ३० लाख रूपैयाँ एकमुष्ट दिएका छौं, तर अहिलेसम्म त्यसको खर्च विवरण आएको छैन्, प्रमुख प्रशासकीय अधिकृत बस्नेतले भने, छनोट भएका वडाध्यक्षलाई यो विषयमा जानकारी होला।’ सम्झौतामा नगरपालिकाले ३० र नमुना समाजले ७० प्रतिशत खर्च बेहोर्ने उल्लेख छ। नमुना गाउँ निर्माणअन्तर्गत पालिकाको बजेटमार्फत सिस्नो, टिमुर, लोकल कुखुरा, बाख्रापालन, भेटेनरी, हेयर कटिङ, दुनाटपरी, छाला जुत्ता र व्यावसायिक तरकारी खेती तालिम दिनुका साथै होमस्टे निर्माण तथा व्यवस्थापनसहित १० वटा शीर्षकमा कार्यक्रम गर्ने भनिएको छ।

यसका लागि नगरपालिकाले तीन वर्षसम्म हरेक वर्ष ३०–३० लाख रूपैयाँ अग्रिम नमुना समाजलाई दिने सम्झौतामा लेखिएको छ। नमुना समाजले दातृ निकायबाट प्राप्त भएको रकमबाट समूह गठन, क्षमता विकास तालिम, स्वास्थ्य शिविर, ल्याप्चे हटाऔं अभियान, छाउपडी गोठ हटाउने, शौचालय निर्माण, पत्रकार परिचालनलगायतका २५ वटा कार्यक्रम सञ्चालनका लागि ७० लाख रूपैयाँ वार्षिक खर्च गर्ने उल्लेख छ।

संस्थाका कार्यकारी निर्देशक जिएम कोरोनाका कारण दातृ निकायहरूबाट आउने रकममा ढिलाइ भइरहेको दोहो¥याउँछन्। सुरुमा एसिया फाउन्डेसनमार्फत सहयोग भइरहेको बताएका उनले पछि युके भोलेन्टियर्स ग्रुपलगायतले पनि सहयोग गरिरहेको बताए। ‘हामीलाई तीनवटा दातृ निकायले सहयोग गरिरहेका छन्,’ उनले भने, ‘गोपनीयताका कारण सबै विवरण भन्न मिल्दैन्।’

नगरपालिकालाई बुझाएको पत्रमा संस्थाको खातामा दातृ निकायबाट उपलब्ध ७० लाख रूपैयाँ मौज्दात रहेको उल्लेख भए पनि कार्यकारी अधिकृत जिएमले दातृ निकायबाट कुनै किसिमको सहयोग अहिलेसम्म आइनसकेको बताए। ‘अहिले नगरपालिकाबाट प्राप्त रकमले केही काम गरिरहेका छौं,’ उनले भने, ‘बाह्य सहयोगको खोजीमा छौं, कुरा भइराखेको छ, खातामा रकम आइपुगेको छैन।’

प्रकाशित: २० फाल्गुन २०७७ ०५:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App