११ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

‘संविधानमा सबै जातजाति र भाषीको अधिकार सुनिश्चित छ’

‘बिहीबार लुंगालाई च्याब्रुङम नचाइन्छ,’ बरबोटेका अगुवा समाजसेवी मनराज जबेगुको साथीभाइसँगको जोस कम थिएन। उसो त लिम्बू समुदायका एक हुल पुरुष बिब्ल्याँटे बजाारमा बिहानैदेखि तागामा ठाँटिएर च्याब्रुङ घन्काउँदैथिए भने मेख्लीमा चिरिच्याट्ट महिला शिरबन्दी, कण्ठा र रेजीमा लय मिलाइरहेका थिए।  

उनीहरूको प्रतीक्षा थियो–आफ्नै निर्वाचन क्षेत्रबाट पटक–पटक निर्वाचित भएर राष्ट्रिय राजनीतिमा छवि बनाइसकेका संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङको। नेम्बाङलाई समेत च्याब्रुङमा नचाउन समाजसेवी जबेगु तारतम्य मिलाउँदै थिए। यतिबेला प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटनको कदममा नेम्बाङसमेत चर्चाको केन्द्र बिन्दुमा छन्। तर, इलाम नगरपालिका–५, बरबोटेमा बिहीबार नेम्बाङ सहभागी हुँदा न कुनै दलीय राजनीतिको गन्ध थियो न कुनै राजनीतिक कार्यक्रम नै। थियो त केबल, नेम्बाङकै पहलमा बनेको स्थानीयको साझा सम्पत्ति चुम्लुङ हिम (भवन)को उद्घाटनको उद्धेश्य।  

किरात याक्थुङ चुम्लुङमा आबद्ध सदस्यहरू आफ्नो संस्थाका संस्थापकमध्येका एक नेम्बाङलाई गाउँमा स्वागत गर्न बिहानैदेखि पर्खिरहेका देखिन्थे। जब नेम्बाङ कार्यक्रमस्थलभन्दा करिब ५ सय मिटर पर बिब्ल्याँटे बजारमा ओर्लिए, स्थानीयले आफ्नो सांस्कृतिक परम्पराअनुसारको संस्कृतिमा सजिएर च्याब्रुङ बजाउँदै नेम्बाङलाई कार्यक्रमस्थलतर्फ लगे।

कार्यक्रमस्थल पुगेपछि नेम्बाङले च्याब्रुङ बजाएरै चुम्लुङ हिम उद्घाटन गरे। नेम्बाङ लिम्बु समुदायकै व्यक्ति भएपनि उनको बोलीमा प्रायः मातृभाषाको लबज मिसिएको सुनिँदैन। र त, धेरैले अनुमान गर्छन्, उनी लिम्बू भाषा धेरै बोल्दैनन्, बुझ्दैनन्। तर, नेम्बाङले करिब ३५ वर्षअघि किरात याक्थुङ चुम्लुङ स्थापना गर्दाताकाको परिवेश स्मरण गरे।  

‘त्यतिबेला देशका विविध जातजाति, भाषाभाषीको संरक्षण गर्नुपर्छ भनेर चुम्लुङ स्थापना गर्दा पक्राउ परेको झल्झली याद छ,’ नेम्बाङले सम्झिए, ‘काठमाडौं सहरभन्दा अलिमाथिको डाँडामा बसेर हामी पूर्वका केही साथीहरूले यो संस्था स्थापनाको खाका बनाएका थियौं, त्यतिबेला हामीलाई साम्प्रदायिक विचलनको आरोपमा पक्राउ गरिएको थियो।’ नेम्बाङले अहिले नेपाली समाज सबै जातजाति, भाषाभाषीले अपनत्व अनुभूत गर्ने अवस्थामा आइसकेको बताए। ‘मैले नै नेतृत्व गरेको संविधानसभाले निर्माण गरेको संविधानले सबै जातजाति र भाषाभाषीको अधिकार संरक्षण सुनिश्चित गरेको छ,’ उनले भने, ‘लामो समयदेखिको लडाइँ ऐतिहासिक उपलब्धिका रूपमा आएको छ।’ नेम्बाङले बरबोटेमा निर्माण भएको यही साझा चुम्लुङ हिम पनि सांस्कृतिक सहिष्णुताको नमुना भएको बताए। स्थानीय समाजसेवी गोविन्द पौडेलले गाउँमा निर्माण भएको चुम्लुङ हिम सबैको साझा भएको बताए। ‘यो भवन किरात याक्थुङ चुम्लुङको अगुवाइमा बनाएकाले उसकै मात्र सम्पत्ति हो भन्ने हामीले बुझ्नुपर्दैन,’ पौडेलले भने, ‘यो हामी सबैको सहकार्यमा बनेको साझा सम्पत्ति हो। सबै मिलेर यसको उपयोग गर्नुपर्छ। निर्माणकर्ताको मुख्य ध्येय पनि त्यही छ। यसले सांस्कृतिक सहिष्णुता अझ बलियो बनाएको छ।’  

संघीय सरकारको ३० लाख तथा इलाम नगरपालिकामार्फत् १ नम्बर प्रदेश सरकार, मेची पर्यटन प्रवद्र्धन तथा विकास समितिको १०/१० लाख र सुपरमाई जलविद्युत् आयोजनाको २० लाख रूपैयाँ सहयोगमा चुम्लुङ हिम निर्माण भएको निर्माण समिति संयोजक सटेन्द्रकुमार लिम्बूले जानकारी दिए। ‘बरबोटेबासीको साझा सम्पत्तिका रूपमा भवन प्रयोेग गरिनेछ,’ उनले भने, ‘स्थानीयले दान दिएकोसहित १ रोपनी जमिनमा बनेको भवन विभिन्न सभा–समारोह आयोजना गर्न उपयोगी बन्नेछ।’

प्रकाशित: ७ फाल्गुन २०७७ ०२:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App