९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

अपांगतालाई परिवारको सहयोग

जन्मजात अपांगता भएकी गजुरी गाउँपालिका–५ राईगाउँकी सन्तोषी राईलाई स्याहार गर्दै परिवारका सदस्य । तस्बिर: नागरिक

गजुरी गाउँपालिका–६ राम्चेका शर्मिला नेपाली १४ वर्षकी भइन्। उनको जन्मजात कम्मरदेखि तलको भाग चल्दैन। आमा शन्तमायाले उनको हेरचाहा र रेखदेख गर्दै आएकी छिन्। परिवारको साथले शर्मिलाको पढ्ने इच्छा पनि पूरा भएको छ।

शर्मिला भानुभक्त माविमा कक्षा ६ मा पढ्दै आएकी छिन्। ‘जन्मजात अपांगता भए पनि छोरीको पढने इच्छालाई पूरा गरिदिएका छौँ,’ शन्तमायाले भनिन्, ‘अपांगता भएकी छोरीलाई हरेक दिन घरदेखि ४५ मिनेटको दूरीमा रहेको विद्यालयसम्म आफैंले बोकेरै पुर्‍याउने र ल्याउने गरिरहेकी छु।’

जन्मजात अपांगता भएपछि आफन्त, छिमेकीको कटु बोली, नकारात्मक व्यवहार उनको परिवारले वर्षौंदेखि भोग्दै आइरहेका छन्। तर, त्यसको कुनै प्रवाह नगरि शन्तमाया छोरीको हेरचाह, रेखदेख र पढाइमा ध्यान दिँदै आएकी छिन्। ‘अपांगता भएकाहरूलाई समाजले हेर्ने दृष्टिकोण फरक छ, त्यो भोग्दै पनि आइरहेका छौँ,’ उनले भनिन्, ‘जीवन सबैका लागि सोचेजस्तो नहुन सक्छ तर त्यहीँ जीवनभित्रको सौन्दर्यलाई केलाउन सके सुगन्धित हुन्छ।’  

प्रत्येक पल अर्काको सहारामा दिन गुजार्ने शर्मिला पढेर अपांगता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउने दृढ इच्छा रहेको छ। आफ्नो पढाइका लागि आमा र परिवारले खर्चेको समय, बगाएको पसिना र मेहनतलाई खेर नफाल्ने उनले बताइन्। अपांगताको प्रकृतिका आधारमा उनले रातो रङको अपागंता परिचयपत्र पाएकी छिन्। त्यसले पढाइ र घरव्यवहार चलाउन केही सहयोग पुगेको छ। दोस्रो विवाह गरेर टाढिएपछि सानैदेखि बुबाको मायाबाट बञ्चित भएकी शर्मिला आमा र परिवारको साथ पाएर खुसी छिन्।

समाजमा अधिकांश अभिभावक आफ्ना अपांग सन्तान अरूलाई जिम्मा लगाउन चाहन्छन्। उनीहरूको अपांगताप्रतिको बुझाइ नै फरक रहेको छ। अपांग भएका बालबालिकाको भविष्य नै देख्दैनन् अभिभावकले। आफ्ना अरू स्वस्थ सन्तानसँग तुलना गर्छन्, र अपांगता भएका आफ्नै सन्तान अरूको सहारामा छाडिदिन्छन्।

यस्तो सोच बनाउने संयन्त्र गरिबी, अशिक्षा र संस्कृति नै भएको विज्ञहरूको भनाइ छ। यसले गदाए अपांगता भएका व्यक्तिहरू सम्मानजनक रूपमा बाँच्ने अधिकारको समेत हनन् भइरहेको छ। गजुरी गाउँपालिका–७ पेटारेका ११ वर्षीय प्रमिला तामाङ पनि जन्मजात अपांगता छिन्।

उनको कम्मरभन्दा तलको भाग चल्दैन र बोल्न समेत सक्दिनन्। उनका आमा ५० वर्षीया हिरामाया तामाङले उनको रेखदेख गर्दै आएकी छिन्। ‘सातवटा छोराछोरीमध्ये कान्छी छोरी जन्मजात अपांगता भएकी छिन्,’ हिरामायाले भनिन्, ‘अपांगता भएकी छोरीको रेखदेख, हेरचाहको सबै काम आफैंले गर्छु, परिवारका अन्य सदस्यले पनि सहयोग गर्छन्।’

३ वर्षअघि रोगका कारण पतीको निधन भएपछि पाँच छोरी र दुई छोराको रेखदेखको जिम्मा हिरामायाको काँधमा थपियो। खेतबारीमा उब्जाएको अन्नबालीले जसोतसो परिवार धानिरहेको उनको भनाइ छ। अपांगता भएकै कारण प्रमिलाले पढ्न पाएकी छैनन्।  

टाढाको विद्यालय पढ्नको लागि बोकेर आवात जावत गर्नुपर्ने र दिशापिसाब गर्न समेत अरूको सहारा लिनुपर्ने भएका कारण पढाइ सम्भव नभएको हिरामायाको भनाइ छ। छोरी अपांगता भएपछि उपचारका लागि कयौं अस्पताल पुग्दा पनि आर्थिक अवस्था कमजोर भएकै कारण भने जस्तो उपचार गर्न नसकिएको उनले बताइन्।  

अपांगता भएका व्यक्तिलाई उपचार मात्रै नभई माया र हौसला प्रदान गर्न सके खुसी मिल्ने हिरामायाको अनुभव छ। आर्थिक उपार्जनको उपाय नभएको र कमाउने व्यक्ति नै छोरीको हेरचाहमा लाग्नुपर्ने भएका कारण परिवार धान्न मुस्किल छ।

जन्मजात अपांगता भएपछि गजुरी गाउँपालिकाले गाउँमै शिविर सञ्चालन गरेर प्रमिलालाई रातो कार्ड प्रदान गरेको छ। भत्ता स्वरूप महिनाको ३ हजार रूपैयाँ पाउँदै आएकी छिन्। त्यसैबाट घर खर्च सञ्चालन गर्न केही सहज भएको हिरामायाको भनाइ छ।  

शर्मीला र प्रमिला जस्तै अपांगता भएका व्यक्तिहरूलाई परिवारको साथ र सहयोगले हौसला मिलेको छ। लडेर घाइते भई अपांगता भएका गजुरी गाउँपालिका–६ राम्चेका ३५ वर्षीया सरिता रेग्मी पनि परिवारको साथमा रमाइरहेकी छिन्।

अपांगता भएका व्यक्तिहरूलाई पूर्णिमा–बिहानी परियोजनाले सहायता सामग्री, सहजीकरणलगायत विभिन्न सहयोगहरू गरिरहेको छ। जन्मजात अपांगता बनेकी गजुरी गाउँपालिका–५की २० वर्षीया सन्तोषी राईलाई पनि परिवारले साथ र सहयोग गरिरहेको छ।

प्रकाशित: ३ फाल्गुन २०७७ ०२:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App