१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कोशी टप्पु आरक्ष क्षेत्रमा हात्तीको आक्रमणबाट थप एकको मृत्यु

कोशी टप्पु आरक्ष र आसपासका क्षेत्रमा आतंक मच्चाउँदै आएको हात्तीको आक्रमण थप एक जनाको मृत्यु भएको छ। हात्तीको आक्रमणबाट कोशी गाउँपालिका वडा नं. ५ का १८ वर्षे मोति यादवको मृत्यु भएको हो।

सोमबार राति हात्तीले आक्रमण गर्दा यादवको मृत्यु भएको हो। हात्तीले श्रृखलाबद्ध रुपमा मानवीय क्षति गर्दै आएपछि स्थानीयवासी अहिले पूर्व पश्चिम राजमार्ग अन्तर्गत कोशी गाउँपालिका क्षेत्रमा अहिले मृतकको शव राखेर प्रदर्शन गरि रहेका छन्। राजमार्ग खुलाउनका लागि स्थानीय प्रशासनले पहल थालेको हो।  

हात्तीले आक्रमण गर्दा मंसिर २९ गते कोशी गाउँपालिका वडा नं. ६ का २७ वर्षे प्रमोद यादवको मृत्यु भएको थियो। त्यो बेला मकुना हात्तीले आक्रमण गर्दा यादवको मृत्यु भएको थियो। अहिले मकुना हात्तीलाईं मानवीय क्षति कम गर्न राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनबाट आएको डाक्टर अमीर सडौला नेतृत्व टोलीले डार्ट गरेर शिथिल बनाउन उपचार गरेको छ। जसले गर्दा कुन हात्तीले मोतीको मृत्यु भयो भनेर खुल्न सकेको छैन। आरक्षका रेन्जर जयराम न्यौपानेका अनुसार कोशी टप्पु आरक्ष र आसपासका क्षेत्रमा भने बढी मात्रमा मकुना हात्तीले हिड्ने गर्छ। तर, मकुनालाईं अहिले डार्ट गरेर शिथिल बनाएकाले गर्दा कुनले आक्रमण गरेको खुल्न सकेको छैन।  

मकुनालाईं डार्ट गरेर शिथिल बनाएपछि पाँच–छ महिनासम्म चुपचाप बस्ने विश्वास गरिन्छ। कोशी टप्पु तथा आसपासका क्षेत्रमा श्रृखलाबद्ध रुपमा मकुनाको आक्रमणबाट मर्नेको संख्या थुप्रै छ।  

कोशी टप्पु आरक्ष र आसपासका क्षेत्रमा १६ वटाको संख्यामा हात्ती रहेकोमा सवैभन्दा बढी मानवीय क्षति मकुनाकै कारण हुने गरेको छ। हात्ती मकै, धान, उखु र आपलगायतमा लोभिएर गाउँ प्रवेश गर्दा मानवीय क्षति हुने गरेको छ। कोशी टप्पु क्षेत्रमा रैथाने रुपमा शुरुवातमा ११ वटा हात्ती थिए। पछि तिनै हात्तीले छावा बच्चा जन्माएर १४ वटा पुगेका थिए। अघिल्लो वर्ष तीनवटा छावा जन्माएपछि १७ वटा पुगेका थिए। मंसिर ६ गते बिजुुलीको तारले जेलिएर सप्तरी कञ्चनरुप नगरपालिका क्षेत्रमा बुढो दाह्रे हात्तीको मृत्यु भएपछि १६ मा झरेका हुन्।  

सुनसरी, सप्तरी र उदयपुर गरी एक सय ७५ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको आरक्षमा हात्तीलाईं गाउँ प्रवेश गर्नबाट रोक्नका निम्ति सुनसरीको वस्तीतर्फ विद्युतीय घेराबेरा गरिएपनि सप्तरी र उदयपुर क्षेत्रमा भने बाँकी छ। कोशी पूर्वको सुनसरीतर्फ २५ किलोमिटर विद्युतीय घेराबेरा भइसकेको छ। यद्यपी कतिपय स्थानमा हात्तीले विद्युतीय घेराबेरा भत्काउने गरेको छ। रुखको हागा डालेर लत्राएर घेराबेरा भत्काउने गरेको छ। जसले गर्दा सहजै वस्तीमा प्रवेश गर्छन्।  

नेपालमा कुल २०० देखि २२५ वटा जंगली हात्ती छन्। कोशी टप्पुमा १६ वटा हात्ती रहेकोमा भारतबाट झापाको बाहुन डागीमा १३० देखि १५० वटासम्म आउने गरेका छन्। आरक्ष आसपासको मध्यवर्ती क्षेत्रमा १४ हजार ८६५ घर परिवारका ८४ हजार ४२३ जना बसोबास गर्छन्।  

०४६ सालको परिवर्तनपछि बनेका हरेक सरकार र निर्वाचनताका प्रमुख मुद्धा बन्दै आएको हात्तीपीडितको पीडामा मल्हम लगाउन कसैले सार्थक प्रयास गरेको छैन।  

डेढ दसकअघिदेखि झापादेखि उदयपुरसम्मको चारकोसे जंगलमा रैथाने रुपमा बस्ने जंगली हात्ती पछिल्ला वर्ष कोसी टप्पु वन्य जन्तु आरक्ष क्षेत्रमै बढी मात्रमा बस्दै आएकाले गर्दा सुनसरी, सप्तरी र उदयपुरको मानववस्तीमा प्रवेश गरी बढी मात्रमा विध्वंस मच्चाउने गर्दा मानवीय क्षतिसँगै अन्नबालीको नोक्सानी हुने गरेको छ।

प्रकाशित: १४ पुस २०७७ ०७:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App