पोखरा क्षेत्रमा यस वर्ष (सेप्टेम्बर २३ सम्म) झन्डै पाँच हजार मिलिमिटर वर्षा भएको छ। जल तथा मौसम विज्ञान कार्यालयकाअनुसार पोखरामा विगतका वर्षमा तीन हजारदेखि ३२ सय मिलिमिटरसम्म वर्षा हुनुलाई औषत मानिन्छ। तर यो वर्ष औषतभन्दा धेरै पानी परेको छ।
वर्षा धेरै हुँदा बाढीपहिरोको जोखिम समेत उत्तिकै बढेको छ। यसले गर्दा फेवातालमा पनि क्षति पुग्ने सम्भावना बढ्दै गएको छ। अत्याधिक वर्षाले तालको जलाधार क्षेत्रमा भूक्षय बढाउँदा तालले बढीको मार खेपेको स्थानीयको भनाइ छ। जलाधार क्षेत्रको भूक्षयबारे धेरैले चासो नलिँदा यसले तालमा पारेको असर तल्लो क्षेत्रमा भएको अतिक्रमणभन्दा कम नभएको विज्ञको भनाइ छ।
तालको जलाधार क्षेत्रको एउटै खहरे खोलामा यो वर्ष अहिलेसम्म ३२ वटा पहिरो झरेका छन्। पहिरोका कारण त्यस क्षेत्रमा जंगलको हरियाली समेत बगेको छ। खहरेबाट बगेको ढुंगामाटोले तल्लो क्षेत्रको खेतीयोग्य जमिन पुरेको छ। पहिरो थपिँदै जाँदा कृषियोग्य जमिन कटान, वनक्षेत्र नोक्सान भएको स्थानीयको भनाइ छ।
सिरान क्षेत्रमा वर्षेनी जाने गरेको पहिरोले ताल पुरिँदै जाने गरेको छ। अघिल्लो वर्षभन्दा यो वर्ष धेरै पहिरो गएको अन्नपूर्ण गाउँपालिका–१ अधिकारीडाँडाका तुलसीप्रसाद अधिकारी बताए। पहिरो गए पनि मानवविय क्षति भने नभएको उनले बताए। पहिरोले गर्दा खेतियोग्य जमिनमा क्षति पुगेको उनको भनाइ छ।
पोखरा महानगरपालिका–२३ फेवातालको सिरान क्षेत्र हो। वडाको सम्पूर्ण भाग नै जलाधार क्षेत्रभित्र पर्छ। वडाध्यक्ष विष्णुप्रसाद पराजुलीले यो पटक अत्याधिक वर्षाले जलाधार क्षेत्रमा अति भूक्षय गराएको बताए। उनकाअनुसार २३ नम्बर वडामा मात्रै झन्डै एकसय किलोमिटर दूरी कच्ची सडक रहेको छ। तालको सिरानबाट बगेको पहिरोले ताल पुर्दै गएको छ। केही दिनअघिको पहिरोले अँधेरी खोला क्षेत्रको १५६ रोपनी क्षेत्रफलको धानखेतीमा नोक्सान पु¥याएको छ।
अन्नपुर्ण गाउँपालिका अध्यक्ष युवराज कुँवरकाअनुसार फेवातालको जलाधार क्षेत्रमा धेरै पहिरो गएको छ। अन्नपूर्ण हुँदै बग्ने अँधेरी खोलामा अहिले व्यापक कटान भइरहेको उनले बताए। प्रदेश सरकार र पोखरा महानगरपालिकाको संयुक्त लगानीमा अहिले तालको सिरान क्षेत्रका वेतयानी, लौरुक, अँधेरीखोला र हर्पनखोला घाँटीछिनामा ‘सिल्टेसन ड्याम’ निर्माण गरिएको छ। अत्याधिक वर्षाका कारण ड्याममा संकलित ढुंगामाटो पनि निकाल्न नसकेको महानगरका इन्जिनियर बिमल आचार्यले बताए।
प्रदेशको वन मन्त्रालयले जलाधार क्षेत्रको अध्ययन गर्न एउटा विज्ञ टोली बनाएका थियो। फेवाको जलाधार क्षेत्रमा पर्ने अँधेरी खोलामा यो पटक अहिलेसम्म ३२ वटा पहिरो झरिसकेको उक्त अध्ययन टोलीका सदस्यसमेत रहेका आचार्यले पुष्टि गरे।
प्रकाशित: ११ आश्विन २०७७ ०२:५० आइतबार