१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

रिपोर्टमा भाइरल लोड तथ्यांक कति आवश्यक

पिसिआर परीक्षण

फाइल तस्वीर

कोभिड–१९ संक्रमण पहिचानका लागि आरटी पिसिआर विधि उपयोग हुने गरेको छ। यो विधिले दिने नतिजा भनेको पोजेटिभ अथवा नेगेटिभमात्र हो, जसका आधारमा सम्बन्धित व्यक्ति संक्रमित भएको अथवा नभएको पत्ता लाग्छ।  

महामारी नियन्त्रणका लागि यी दुई नतिजा पर्याप्त नहुने र संंक्रमितले अन्यलाई रोग सार्न सक्ने सम्भावना छ कि छैन भन्ने थाहा पाउन थप गहिराइमा जान आवश्यक रहेको विज्ञ तथा केही अन्तर्राष्ट्रिय अध्ययनको राय छ। विश्वभर मान्यता पाएको यो ‘स्ट्यान्डर्ड टेस्ट’ ले धेरै संक्रमित मानिसको पहिचान गरे तापनि वास्तवमा ती संक्रमितले तुलनात्मक रूपमा फरक हिसाबले भाइरस प्रसारण गरिरहेका हुन सक्छन्।  

परीक्षणका क्रममा आरटी पिसिआरले भाइरल लोडको अवस्था के छ भन्ने देखाउँछ र यसलार्ई साइकल थ्रेसहोल्ड (सिटी) ‘भ्यालु’ का रूपमा परिभाषित गरिएको छ। विज्ञका अनुसार यो ‘भ्यालु’ ले संक्रमणको अवस्था र उपचारका लागि आवश्यक क्लिनिकल निर्णय लिन सहयोग गर्छ। सँगसँगै यसले सबैभन्दा बढी संक्रामक ‘सुपर स्प्रेडर’ लाई पहिचान गरेर महामारी नियन्त्रण गर्न सहयोग गर्छ। पोजेटिभ देखिएका बिरामीमा भाइरल लोड बढी अथवा कम रहेको सूचना विभिन्न हिसाबले उपयोगी हुने तर्क विज्ञको छ।  

नेपालका सबै प्रयोगशालाले आरटी पिसिआर परीक्षण गर्दा यो तथ्यांक स्वतः आउँछ। तर यो सूचना सरकारी कार्यालय र प्रयोगशालाका ‘लग बुक र मेसिन’ मा मात्र सीमित छ र हालसम्म यसले मापन गरेको भाइरल लोडको समीक्षा गरेर उपयोग गरिएको छैन।  

‘धेरै अध्ययन, अनुसन्धान, विस्तृत विश्लेषण अर्थात् ‘मेटा एनलाइसिस’ले भाइरल लोड अर्थात ‘सिटी भ्यालु’ जति कम देखियो त्यति नै बिरामीका लागि गम्भीरता थपिने औंल्याएका छन्,’ त्रिभुवन विश्वविद्यालयका माइक्रोबायोलोजी विषयका प्राध्यापक डा. प्रकाश घिमिरे भन्छन्।  

भाइरसको आरएनए पत्ता लाग्ने स्तरमा पु¥याउन आरटी पिसिआर विधि प्रयोग गरिएको हुन्छ। यो विधिअन्तर्गत भाइरसमा रहेको न्युक्लिक एसिडको उपस्थिति पत्ता लगाउन प्रतिदीप्तिशील संकेत (फ्लोरोसेन्ट सिग्नल) उपयोग गरिन्छ।  

मेसिनको आधार विन्दु पार गरेर यो संकेत देखाउन आवश्यक पर्ने प्रक्रिया अर्थात् ‘साइकल’ को मापन सिटी भ्यालुले गरेको हुन्छ। सिटीको थोरै ‘भ्यालु’ लाई अधिक भाइरल लोड रहेको मानिन्छ। अन्तर्राष्ट्रिय रूपमा सामान्यतया ३५ अंकभन्दा माथि रहे कम भाइरल लोड र ३५ भन्दा जति कम हुँदै गयो, त्यति नै बढी भाइरल लोड भएको मानिने केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झा भन्छिन्। तर यो अंक परीक्षणमा प्रयोग हुने मेसिन, रसायन र नमुना संकलन विधि, नमुना संकलन गर्दा लाग्ने समय तथा नमुना ढुवानी गर्दाको तापक्रममा भर पर्ने भारत सरकारको स्वामित्वमा रहेको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइसिएमआर) ले हालै जारी गरेको एडभाइजरीमा उल्लेख गरिएको छ। यो अंंक एकै व्यक्तिको पनि नाक र घाँटीबाट निकालिने स्वाबको नतिजामा फरक देखिएको आइसिएमआरले जनाएको छ। त्यसो त आइसिएमआरले बिरामीको गम्भीरता भाइरल लोडमा मात्र नभई अन्य विविध कारणमा पनि भर पर्ने तथा न्यून भाइरल लोड हुँदाहुँदै पनि केही गम्भीररूपमा बिरामी हुन सक्ने जनाएको छ। यसैगरी सुरुमा लक्षण देखिने बेला बिरामीमा उच्च ‘सिटी भ्यालु’ देखिने तर त्यो बिस्तारै परिवर्तन हुने पनि बताइएको छ।

जनस्वास्थ्य प्रयोगशालाले केही साताअघि परीक्षणको रिपोर्टमा ‘सिटी भ्यालु’ पनि समावेश गरेको थियो तर केही दिनमा नै यो तथ्यांक समावेश गर्न बन्द गरिएको थियो। ‘यो तथ्यांक इन्ट्री गर्दा झन्डै तीन गुणा बढी समय लाग्यो र जनशक्तिको अभावको हालको अवस्थामा हामीले त्यसलाई रोकेका हौं,’ उनी थप्छिन्, ‘सिद्धान्ततः यो तथ्यांक दिँदा राम्रै हो, यसबाट कुनै नोक्सान छैन तर यो ‘भ्यालु’ र भाइरस संक्रमणको सन्बन्धलाई प्रस्ट्याउन पर्याप्त वैज्ञानिक आधार छैनन्। यस विषयमा अझै धेरै अध्ययन आवश्यक देखिन्छ।’ उनले केही निजी प्रयोयशालाले यो ‘भ्यालु’लाई आधार बनाएर अनावश्यक प्रचारप्रसार गरेको आरोप लगाइन्।  

‘परीक्षणअनुसार ‘सिटी भ्यालु’ मा आउने फरक नतिजाका कारण पनि विरोधाभास उत्पन्न हुन सक्छ। खासगरी ३५ देखि ४० सम्मको अंकभारमा अन्य विविध कारणले असर पार्ने देखिएको छ,’ डा. झा थप्छिन्।

प्राध्यापक डा. घिमिरे भने यो तथ्यांक परीक्षण रिपोर्टमा समावेश गर्नुपर्नेमा जोड दिन्छन्। ‘हालसम्म आरटी पिसिआरले पोजेटिभ र नेगेटिभ भनेर नतिजा दिएको छ, अब ‘सिटी भ्यालु’ को तथ्यांक पनि समावेश गर्न आवश्यक देखिएको छ। हामीले परीक्षण नीति परिवर्तन गर्नुपर्छ र प्रयोगशालाले यसलाई रिपोर्टमा राख्ने व्यवस्था गर्नुपर्छ।’

निजी स्वास्थ्य प्रयोगशाला इन्टे«पिड नेपालका अनुसन्धान निर्देशक डा. समीरमणि दीक्षित ‘सिटी’ को नतिजा उपलब्ध गराउँदा बेफाइदा नहुने तर यसलाई राम्ररी बुझाएर मात्र दिनुपर्ने ठान्छन्। ‘यसले संंक्रमितलाई मनावैज्ञानिक रूपमा थप असर पनि पार्न सक्छ तर खासखास तहमा बाँडेर र सावधानीका साथ यो सूचना सार्वजनिक गर्दा संक्रमितको निगरानी, सम्पर्कमा आएकाको पहिचान तथा उपचारमा आवश्यक क्लिनिकल निर्णय लिन सहयोग पुग्छ,’ दीक्षित थप्छन्।  

खासगरी कन्ट्याक्ट ट्रेसिङमा भएको सरकारी ढिलाइले भाइरस संक्रमण बढेको देखिन्छ। आमनागरिकले परीक्षणको नतिजा कैयन दिनसम्म कुर्नुपरेको बताउँदै प्रा. घिमिरे भन्छन्, ‘एकै दिनमा परीक्षण र एकै दिनमा नतिजा आउने व्यवस्था गर्नुपर्छ। राजधानीमा रहेका जनस्वास्थ्यसँग सम्बन्धित ४० वटा शैक्षिक निकायका शिक्षक तथा विद्यार्थीलाई तालिम दिएर खटाउन सकिने उनको भनाइ छ। ‘जनशक्ति व्यवस्थापन गर्ने कुरा हो, अभाव छ भनेर उम्कन मिल्दैन,’ उनी थप्छन्, ‘सबैभन्दा महŒवपूर्ण कुरा, संक्रमितको अवस्था के छ भनेर निरन्तर निगरानी हुनुपर्छ, त्यसो हुन सकेको छैन।’

जामा इन्टरनल मेडिसिन जर्नलमा अगस्ट पहिलो साता प्रकाशित एक प्रतिवेदनले दक्षिण कोरियामा भएको अध्ययनलाई आधार बनाई लक्षण भएका तथा नभएका दुवैमा सिटी भ्यालु उत्तिकै रहेको देखाएको थियो र महामारी रोकथामका लागि लक्षण नभएका बिरामी पनि आइसोलेसनमा रहन आवश्यक रहेको सुझाव दिएको थियो।  

यसैबीच अमेरिकाले लक्षण नदेखिएकालाई परीक्षण आवश्यक नभएको भनी यो साताको सुरुमा गरेको निर्णयलाई सरुवा रोग विज्ञले पश्चगामी भनेका छन्। सोमबार न्युयोर्क टाइम्समा प्रकाशित एक समाचारमा हार्वर्ड विश्वविद्यालयअन्तर्गतको हार्वर्ड टिएच चान स्कुल अफ पब्लिक हेल्थका सरुवा रोग विशेषज्ञ डा. माइकल मिनाले भनेका छन, ‘हामीले एक प्रकारको तथ्यांकलाई सबै चिजका लागि प्रयोग गर्ने गरेका छौं चाहे त्यो क्लिनिकल डायग्नोसिस होस् वा जनस्वास्थ्य अथवा नीतिगत निर्णय लिनका लागि होस्।’

आरटी पिसिआरले नेगेटिभ र पोजेटिभ नतिजामात्र देखाउनेतर्फ इंगित गर्दै उनी थप्छन्, ‘हो अथवा होइन भन्नु पर्याप्त छैन, संक्रमितमा रहेको भाइरसको मात्राका आधारमा आवश्यक निर्णय लिनुपर्छ। यसलाई गुणात्मक विषय मात्र भनेर उम्कन मिल्दैन।’

प्रकाशित: १८ भाद्र २०७७ ०२:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App