५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

रौतहटमा जघन्य अपराधका घटना बढ्दै

पछिल्लो समय रौतहटमा जघन्य अपराधका घटना बढ्दै गएपछि जिल्लावासी त्रसित भएका छन्। एक हप्ता नबित्दै दुई जनाको हत्या भएपछि रौतहटमा त्रास बढेको स्थानीयको भनाइ छ। जिल्लामा निषेधाज्ञा घोषणा गरिएको र प्रहरीको सक्रियता बढेको भए पनि गम्भीर प्रकृतिका आपराधिक घटनामा वृद्धि भएको देखिएको छ। मन्दिरमा पुजा गर्ने पुजारी र श्रम गर्ने मजदुरको हप्तादिनमा हत्या हुँदा सर्वसाधारणमा त्रास बढेको हो।

बुधबार राति खाना खाँदै गरेको अवस्थामा रौतहटमा एकजना साधुको हत्या भयो। बुधबार साँझ मन्दिरको पुजा सकेर खाना खाइरहेका हनुमान मन्दिरका पुजारीको हत्या भएको हो। रौतहटको माधवनारायण नगरपालिका–२ खेसरहियास्थित हनुमान मन्दिरका पुजारीको हत्या भएको प्रहरीले जनाएको छ। खाना खाइरहेको अवस्थामा साधु साहको कन्चटमा गोली लागेको थियो। साधुलाई गोली कसले हानेको भन्ने अहिलेसम्म पुष्टि भएको छैन।

गोली लागेर ढलेका साधुको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ। ‘साधुजस्तो व्यक्तिलाई कसले कुन उद्धेश्यले गोली हानेको हो ?’ केही खुलेको छैन,’ जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रविराज खड्काले भने। मन्दिरका पुजारीको कसैसँग पनि विवाद तथा झगडा नभएको स्थानीयको भनाइ छ। समाजमा साधुजस्तो मान्छे पनि पनि सुरक्षित नभएपछि अरु को सुरक्षित हुने ? स्थानीयले प्रश्न गर्न थालेका छन्। प्रहरीले गस्ती गर्दै नगरेकोले आपराधिक घटना बढ्दै गएको स्थानीयको आरोप छ। रातिमा प्रहरीको गस्ती नहुनाले जताततै अपराध बढेकाले प्रहरीको गस्ती बढाउनुपर्ने उनीहरूको माग छ।

गत शनिबार राति जिल्लाको गरुडा नगरपालिका–८ जिंगडियामा एक युवकको घाँटी रेटेर हत्या भएको थियो। २२ वर्षका युवक निरन्जन रामको हत्या गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। स्थानीय नर्सरीमा मजदुरीको काम गर्दै आएका रामलाई गाउँका साथीहरूले रक्सी ख्वाएर मात चढेपछि हत्या गरेको प्रारम्भिक अनुसन्धानमा पाइएको प्रहरीको भनाइ छ।

पक्राउ पर्नेमा जिंगडियाका २२ वर्षीय शेख अजाद, २० वर्षीय अजयकुमार रन्जन, १९ वर्षीय विवेक राय यादव, अर्जुन राम, सिकिन्द्र पासवान, र विजय महरा रहेका छन्। अदालतबाट म्याद थप भएर उनीहरू विरुद्ध अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। जिल्लामा कोरोनाको महामारीले त्रास फैलाइरहेको अवस्थामा हत्याहिंसाको घटनाले थप त्रासको वातावरण सिर्जना गरेको छ।

प्रकाशित: ५ भाद्र २०७७ ०३:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App