१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

पृथ्वी राजमार्गका ठाउँठाउँमा पहिरो, आवागमन पूर्णरुपमा ठप्प

बाढीपहिरोले अवरुद्ध पृथ्वी राजमार्ग । फोटो सौजन्य : दानबहादुर गुरुङ

अविरल वर्षापछि पहिरो जादाँ पृथ्वी राजमार्गका विभिन्न ठाउँ अवरुद्ध भएको छ । सोमबार आएको बाढीपहिरोले धादिङ र चितवनको सिमानामा रहेको मौवाखोलाको पुल बगाउदाँ आवागमन पूर्ण रुपमा ठप्प छ । धादिङतर्फ पुलको ढलानसँग जोडिएको सडक बगाएपछि राजधानीबाट पृथ्वी राजमार्ग हुँदै पूर्वपश्चिम आवागमन प्रभावित भएको छ  भने काठमाडौंतर्फ जाने सयौं सवारी साधन मौवाखोलाबाट नै फर्किएका छन् । पुल र सडक जोड्ने १२ मिटर भाग बाढीले भत्काएको हो ।

बाढीले भत्काएको भागमा नेपाली सेनाको सहयोगमा ग्याबिन जाली भरेर सडक सञ्चालन गरिने डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्ण अधिकारीले जानकारी दिए । ‘पुलको अनुगमन गरि बेलिब्रिज बनाउने वा ग्याबिन भर्ने भन्नेबारे विभागमा छलफल भएको थियो’, उनले भने, ‘चाँडो र तत्कालका लागि छिटो सवारी सञ्चालन गर्न ग्याबिन जाली प्रभावकारी हुने निष्कर्ष निकालेका छौँ ।’  

राजधानी काठमाडौं जोड्ने मुख्य लाइफलाइन सडकको पुल भत्किदा सयौं सवारी साधानहरु रोकिएका छन् । अधिकांश ठूला मालबाहक सवारी साधनहरुले काठमाडौं जान यही सडकखण्ड प्रयोग गर्दछन् । लकडाउनले यात्रुबहाक सवारी नचलेपनि दैनिक आवातजावत गरिरहेका ठूलामालबाहक र नीजि सवारीसाधन अलपत्र परेका छन् । बाढीपहिरोले राजमार्ग छेउछाउका घर, पसल, अस्थायी प्रहरी चौकी, सवारीसाधन र सडक नै बगाएको छ ।    

मुग्लिन–नौबिसे सडकखण्डमा मात्र साना–ठूला २०० भन्दा बढी पहिरो खसेका छन् । लगातार पानी परिरहेका कारण पहिरो पन्छाउन समस्या भएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । ‘पानी पर्न कम भएपछि पुलको डाइभर्सन बनाउन र ठाउँठाउँमा गएको पहिरो पन्छाउने काम गछौँ,’ प्रजिअ तामाङले भने, ‘अहिले केही ठाउँहरुमा पहिरो पन्छाउने काम भइरहेको छ, राजमार्ग पूर्ण रुपमा संचालन हुन अझै दुई दिन लाग्छ ।’  

पृथ्वीराजमार्गको हुग्दीखोला, मौवाखोला, जवाङखोला आसपास क्षेत्र, बादरेखोला, बैरेनी, चालिसे, फूर्केखोला, छहरे लगायतको क्षेत्रमा राजमार्ग भन्दा माथिबाट पहिरो र लेते आएर थुप्रिएका कारण राजमार्ग अवरुद्ध भएको छ । गजुरी गाउँपालिकाको वडा नं ६ स्थित बेल्खुमा पहिराले ३३ के भि लाईनको पोल बगाएकोले जहरे सबस्टेशनबाट वितरण भएको अवरुद्ध विद्युत सेवा अझै सूचारु हुन सकेको छैन ।

यता कालुपाण्डे मार्ग अन्र्तगत धादिङ मलेखु सडक खण्डको फिसफिसेटारमा सडक भासिंदा ठुला सवारी साधन सदरमुकाम भित्रिन सकेका छैनन् । धादिङको जिल्ला सदरमुकालाई पृथ्वीराजमार्गसँग जोड्ने एकमात्रै सडकको आधा भाग धस्सिएर पहिरो गएकाले दुई पाङग्रे र ४ पाङग्रे साना सवारी साधनमात्रै चलेको छ । सडक भासिएकाले अन्यत्र ठाउँबाट कालुपाण्डे मार्ग हुँदै जिल्ला सदरमुकाम आइरहेका मालवाहक ट्रक र बस बीच बाटोमै अलपत्र परेका छन् ।

प्रकाशित: ६ श्रावण २०७७ १४:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App