६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

पहिरोले ९ परिवार विस्थापित

घरमुनिबाट खसेको पहिरो । तस्बिरः नागरिक

पहिरोका कारण बराहताल गाउँपालिका–५, तल्लो सुन्दारीको सामुदायिक वन, खेतीयोग्य जमिन र मानव बस्ती जोखिममा परेको छ । गाउँमाथि र मुनिबाट लगातार पहिरो खस्न थालेपछि नौ घर परिवार विस्थापित भएका हुन् ।  

कर्णाली राजमार्गअन्तर्गतको सुर्खेत–जुम्ला सडकबाटै पहिरो खस्न थालेपछि एक सातादेखि घर छोडेको स्थानीयको गुनासो छ । ‘घर आसपासको जमिन पहिरोले बगाएको छ, अहिले गाउँपालिकाले दिएको टेन्टमा बस्न बाध्य छौं,’ स्थानीय सुजाता कँडेलले भनिन्, ‘पानी परे पहिरो खस्न थालिहाल्छ ।’ पहिरोले घर आसपासको करिब सात रोपनी खेतीयोग्य जमिन बगाएको उनको गुनासो छ । 

गाउँपालिकाले गाउँमुनिको सोतखोलामा हिउँदभरि डोजर लगाइ बालुवा र ढुंगागिट्टी निकालेपछि पहिरोको समस्या बढेको स्थानीय शिक्षक ओमप्रकाश अधिकारीले बताए । ‘गाउँमुनि खोलाको कटान कायमै छ,’ उनले भने, ‘माथिबाट पनि लगातार पहिरो खस्न थालेपछि आफ्नै घरमा बस्न पनि असुरक्षा भयो ।’ उनका अनुसार बराहताल–८, बेल्चौरस्थित गाउँपारिको आमपानी सामुदायिक वनमा पनि झन्डै पाँच सय मिटरमाथिबाट पहिरो खस्न सुरु भइसकेको छ ।  

पहिरोले धानको ब्याडसमेत बगाएपछि रोपाइँ गर्न समस्या भएको स्थानीय दुर्गा कँडेलले गुनासो गरिन् । ‘पहिरोले सबैको बिचल्ली बनायो,’ उनले भनिन्, ‘सानो पानी पर्दा पनि घर वरिपरिको जमिन बग्न थाल्छ, यो बर्खामा घर र जग्गा जोगाउनै मुस्किल देखियो ।’ बराहताल गाउँपालिका उपाध्यक्ष शोभाकुमारी शर्माले तत्कालका लागि पीडित परिवारलाई त्रिपालको व्यवस्था गरिएको बताइन् । उनका अनुसार गाउँपालिकाका चेपाङ, रत्तेनी, इसेनीलगायत गाउँका ५० घर पनि पहिरोको उच्च जोखिममा छन् । ‘पहिरो पीडितका लागि राहत र व्यवस्थापनका कामहरु भइरहेका छन्,’ उनले भनिन्, ‘गाउँपालिकास्तरीय प्रकोप व्यवस्थापन कार्ययोजना पनि कार्यान्वयनमा ल्याइएको छ ।’

प्रकाशित: १ श्रावण २०७७ ११:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App