४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

खोटाङका तीन कोरोना संक्रमित उपचारमा पठाइए

खोटाङका तीन कोरोना संक्रमितलाई उपचारमा पठाइएको छ । कोरोना संक्रमण पुष्टी भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका १८ वर्ष र ३८ वर्षका पुरुष तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका २५ वर्षीया महिलालाई उपचारमा पठाइएको हो । 

स्वास्थ्य तथा जनसंख्य मन्त्रालयले आइतबार पत्रकार सम्मेलनमार्फत कोरोना संक्रमण भएको सार्वजनिक गरे लगत्तै उनीहरुलाई रातारात उपचारमा पठाइएको हो । संक्रमित दुई पुरुषलाई पुर्वाञ्चल विश्वविद्यालय मोरङको गोठगाउँस्थित आइसोलेसन उपचार केन्द्रमा र महिलालाई विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताए । उनीहरु सोमबार अस्पताल भर्ना भएका छन् ।  

१८ वर्षीय युवा भारतबाट, ३८ वर्षीय पुरुष साउदीअरबबाट र २५ वर्षीया महिला कुबेतबाट घर आएका हुन् । पिसिआर परीक्षण गरेर आएका ३८ वर्षीय पुरुष पाँच दिन मात्र क्वारेन्टिनमा बसेर घर पठाइएकाले उनको अल्छेढुंगास्थित घर आसपासमा सिल गरिएको छ । संक्रमितकी श्रीमती लगायतको पिसिआर परीक्षणको रिपोर्ट नआएसम्मका लागि सो क्षेत्रमा आवतजावत गर्न रोकिएको वडाध्यक्ष हर्क खत्रीले बताए । १८ वर्षीय युवा र २५ वर्षीया महिला भने आउँदा आउँदै क्वारेन्टिनमा राखिएकाले घर सिल गर्नु नपरेको मेयर रिजालले बताए ।  

यस्तै, कोरोना संक्रमण भएकी ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलकी ३० वर्षीया महिलालाई पनि उपचारमा पठाउने तयारी भइरहेको छ । संक्रमण भएको पूष्टी भएपछि उनलाई छुट्टै राखेर परिवारका सदस्यको पिसिआर परीक्षणको तयारी भइरहेको ऐसेलुखर्क गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुकुप्रसाद आचार्यले बताए । विभिन्न स्थानबाट आएपछि क्वारेन्टिनमा राखिएका १५ जनाको स्वाब संकलन गरेर पिसिआर परीक्षणका लागि असार १० गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाउँदा उनीहरुको रिपोर्ट पोजिटिभ आएको थियो ।  

यसअघि हलेसी तुवाचुङ नगरपालिकाका चार जना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन् । 

प्रकाशित: १५ असार २०७७ १३:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App