१३ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

स्वदेशकालाई आरडिटी, विदेशकालाई पिसिआर

तिला गाउँपालिका ९ का चार जना दुई महिनाअघि सुर्खेतदेखि जुम्ला पुगे । उनीहरु मध्ये केही पैदल हिँडर पाटन हुँदै आएका थिए । केही सडक मार्ग हुँदै गाडीमा । उनीहरु सबैलाई भैरव आधारभुत विद्यालय जोगिवाडामा निर्माण गरिएको क्वारेन्टिनमा राखियो । चौध दिनसम्म उनीहरु क्वारेन्टिनमै बसे । उनीहरुको आशा थियो,‘क्वारेन्टिनमा आइसकेपछि पिसिआर नै परीक्षण हुन्छ होला । तर उनीहरुको आशा पुरा हुन सकेन । जिल्ला जनस्वास्थ्य कार्यालयको टोली क्वारेन्टिन स्थलमा पुगेर आरडिटी गरेर फर्कियो । सबैको रिर्पोट नेगेटिभ देखियो । तर घर फर्कदा सम्म उनीहरुको मनमा आरडिटी गरेकोमा चित्त बुझेको थिएन ।  

उनीहरुको माग पिसिआर परीक्षण नै हुनु पर्ने थियो । तर भैइदियो आरडिटी परीक्षण । उनीहरु कमजोर मन लिएर घर फर्किए । दुइ दिनअघि कुडारीस्थित वडा कार्यालयमा बनाइएको क्वारेन्टिनमा स्वदेशबाट फर्केका १३ जनाको आरडिटी परीक्षण गरियो । सबैको रिर्पोट नेगेटिभ आयो । नजिकै रहेको जिल्लास्तरीय क्वारेन्टिनमा बसेका भारतबाट आएकाहरुको पिसिआर परीक्षणका लागि स्वाब संकलन भइरहदा स्वदेशबाट फर्किएकाले पनि पिसिआर परीक्षण नै हुने अपेक्षा गरेका थिए । तर उनीहरुको पिसिआर परीक्षण हुन सकेन् । भारतबाट आउनेलाई मात्र पिसिआर परीक्षण गर्ने र स्वदेशबाट फर्किएकालाई आरडिटी परीक्षण गर्दा ठूलो विभेद भएको अनुभुति स्वदेशबाट भित्रिएकाले गर्न थालेका छन् ।  

पछिल्लो समयमा आरडिटी नगेटिभ देखिएको रिर्पोट पिसिआर परीक्षण गर्दा पोजेटिभ आउने र आरडिटी पोजेटिभ देखिएको ब्यक्तिमा पिसिआर गर्दा नेगेटिभ देखिने गरेकोले आरडिटीको विश्वास घटेको छ । उनीहरुको एउटै माग थियो,‘हामी एउटै सडक हुदै आएको, भारतबाट आएकाहरु प्रयोग गरिरहेको सवारीमा आउने भएकोले सबैको कोरोना परीक्षण समान हुनुपर्छ । सबैको पिसिआर परीक्षण नै हुनुपर्छ । ’

स्थानीय चन्द्रबहादुर बुढा एउटै प्रकारको रोग परीक्षण गर्न फरक फरक मेसिनको प्रयोग हुनु सान्र्दभिक नभएको बताउँछन् । उनले भने,‘कोराना संक्रमण विदेशबाट आएकाहरुबाट पनि फैलिएको छ । स्वदेशमा बसेका ब्यक्तिमा पनि लागेको छ । यो अवस्थालाई सबैलाई ढुक्क हुने गरि समान किसिमले परीक्षण गर्दा उपयुक्त हुने थियो । ’

कर्णाली प्रदेशको दैलेखमा आरडिटी नेगेटिभ देखिएर घर फकाईएकाहरुमा नै कोराना भाइरसको संक्रमण देखिएपछि जुम्लामा पनि त्रास बढेको छ । सबैलाई समान हिसावले परीक्षण हुनु पर्ने, स्वदेश विदेशबाट आएका सबैलाई विभेद गर्न नहुने स्थानीय बताउँछन् । पिसिआर परीक्षणको दायरा बढाउँदै सबैलाई पिसिआर परीक्षण गर्ने वातावरण बनाउनु पर्ने स्थानीयको माग छ ।  

यसअघि मुगु जिल्लाको खत्याड र डोल्पा जिल्लामा एक एक जनामा आरडिटी गर्दा पोजेटिभ देखिएकोमा पिसिआर गर्दा नेगेटिभ देखिएको थियो । आरडिटी र पिसिआर परीक्षण बारेको फरक थाहा नपाउँदा स्थानीयबासिन्दा अन्यौलमा छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापा कोराना परीक्षणको दायरालाई फराकिलो बनाउदै लगेको बताउँछन् । उनका अनुुसार आरडिटी र पिसिआर बीचको फरक सबैलाई जानकारी हुुनु पर्छ ।

अहिले भारतबाट आएका र स्वदेशबाट फर्किएकाहरुलाइ राख्ने अलग अलग क्वारेन्टिन व्यवस्थापन गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटा जुम्लामा भित्रिएकाहरुको जोखिमका आधारमा पिसिआर र आरडिटी परीक्षण भइरहेको बताउँछन् । उनले भने,‘विशेषगरी भारतबाट भित्रिएकाहरुलाई उच्च जोेखिमका रुपमा हेरिएको छ । स्वदेशबाट भित्रिएकालाई कम । त्यही आधारमा स्वदेशबाट भित्रिएकालाई आरडिटी परीक्षण भइरहेकोछ  ।  

यहाँका हरेक स्थानीय तहमा जनस्वास्थ्यको टोली खटिएर आरडिटी गरिरहेको छ । अहिले आरडिटी प्रयाप्त छैन । तर आरडिटी आउँदैगर्छ, यहाँ भएको आरडिटी परीक्षण हुदैगर्छ । आरडिटी किट अभाव हुन नदिने जनस्वास्थ्य कार्यालय जुम्ला बताउँछ । जुम्लाको लागि जोखिम हेरेर परीक्षण कार्य भइरहेको छ । बढि जोखिम भएको र शंकास्पद देखिएका व्यक्तिलाई पिसिआर गर्ने । कम जोखिम ठानिएकाहरुलाई आरडिटी गर्ने गरिएको छ ।  

जिल्ला प्रशासन कार्यालय जुम्लाका अनुसार हाल सम्म ३ सय ३५ जनाको आरडिटी परीक्षण गरिएको छ । यी मध्ये अधिकांस स्वदेश भित्रबाटै घर फर्किएका हुन् । पिसिआर २ हजार ९५ जनाको परीक्षण भएकोमा दुई हजार ६७ जनाको नेगेटिभ आएको छ । २८ जनाको मात्र रिर्पोट पोजेटिभ देखिएको हो । जसमध्ये १८ जना आइसोलेसनबाट निको भएर घर फर्किसकेका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले कर्णाली प्राविधिक शिक्षालयको एकीकृत क्वारेन्टिनमा २८ जना,दुर्गा माबि लाम्रामा ४८ जना,सरस्वती माबि कुडारीमा १२० जना,सीता माबि रारालिहीमा १५२ जना,राहदेव माबि मोफ्लामा ६७ जना राखिएका छन् । यसैगरी नेत्रज्योति माबि हाँकुमा १५३ जना,पातारासीमा ४१ जना,कालिका माबि कालिकाखेतुमा ९७ जना  क्वारेन्टिनमा बसेका छन् । जुम्ला भित्रिएका अधिकांस भारतबाट आएका हुन् ।

आरडिटी परीक्षण गर्ने नाममा जोखिम बढाइरहेको स्थानीय बताउँछन् । उनीहरुले सबैलाई पिसिआर परीक्षण गर्न,क्वारेन्टिनमा बराबरी सुविधा दिन र सबैलाई एकै प्रकारको व्यवहार गर्न आग्रह गरेका छन् ।

प्रकाशित: २९ जेष्ठ २०७७ ११:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App