१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

भारतबाट साईकल चढेर आएका थिए संक्रमित

दाङ, देउखुरी गढवामा भेटिएका कोरोना संक्रमित एक हप्ता अघि भारतबाट आएको खुुलेको छ । गढवा गाउँपालिका–३ का उनीहरू मध्य एकजना गोरखपुरबाट र अर्का एकजना मुम्बईबाट आएको वडा नम्बर ३ का वडा अध्यक्ष तुलसी अधिकारीले जानकारी दिए । उनीहरू साईकल चढेर कृष्णनगर नाकाबाट नेपाल प्रवेश गरेका थिए ।  

हप्ता दिन अघि कृष्णनगर आईपुगेका उनीहरूलाई त्यहाँ स्थित क्वारेन्टाईनमा राखिएको थियो । ‘उनीहरू साईकलमा आएका रहेछन्, नेपाल प्रवेश भएपछि उनीहरूलाई कृष्णनगर नाकामै क्वारेन्टाईनमा राखिएको थियो,’ वडा अध्यक्ष अधिकारीले भने । कृष्णनगरको क्वारेन्टाईनमा रहेका उनीहरूलाई गढवा गाउँपालिका–३ का वडाध्यक्ष अधिकारीकै पहलमा जेठ १ गते दाङ ल्याईएको थियो । अधिकारीका अनुसार उनीहरूले क्वारेन्टाईनमा बस्न धेरै असुविधा भएको भन्दै दाङ सम्म पुर्याउन अनुरोध गरेका थिए । गाउँपालिकाले भने उनीहरूलाई कपिलवस्तुकै क्वारेन्टाईनमा बस्न आग्रह गरेको थियो । ‘मलाई पनि उनीहरूले फोन गरेर जसरी पनि दाङ लैजान भनिरहेका थिए, तर मैले मानेन्,’ गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले भने, ‘मैले तपाईहरू जहाँ हुनुहुन्छ, त्यहिँ बस्नुस् भनेर तारन्तार भनिरहेको थिएँ ।’

तर संक्रमण पुष्टि भएका उनीहरुले कृष्णनगरको क्वारेन्टाईन सुविधायुक्त नरहेको भन्दै भाग्ने सम्मको चेतावनी दिएका थिए । यसले झनै ठूलो दुर्घटना निम्त्याउन सक्ने भन्दै वडा अध्यक्ष अधिकारीले उनीहरूलाई दाङ सम्म ल्याई पुर्याएका थिए । ‘हामीलाई जसरी हुन्छ दाङ लैजानुस् नत्र भाग्छौँ भनेपछि मैले झनै ठूलो दुर्घटना हुन सक्ने खतरा देखेँ,’ वडा अध्यक्ष अधिकारीले भने ‘अनि एम्बुलेन्सको व्यवस्था गरेर उनीहरूलाई दाङ सम्म ल्याएँ ।’ 

उनीहरूलाई दाङ ल्याएर सिधै क्वारेन्टाईनमा राखिएको थियो । वडा अध्यक्ष अधिकारीका अनुसार उनले एम्बुलेन्स पठाएर गोरखपुरबाट आएका दुईजनालाई मात्रै ल्याउन भनेका थिए । तर उनिहरूसंगै क्वारेन्टाईनबाट थप दुईजनालाई पठाईएको थियो । ‘मलाई त गोरखपुरबाट आएका दुईजनाले फोन गरेका थिए र उनीहरूलाई मात्रै ल्याउनका लागि एम्बुलेन्स पठाएको थिएँ,’ अधिकारीले भने ‘तर उताबाट थप दुईजनालाई पठाईएछ, गोरखपुरबाट आएका एक र थप पठाईएका दुईजना मध्ये अर्का एकजनालाई कोरोना पुष्टि भयो ।’

गढवा गाउँपालिकाका अनुसार उनीहरू दाङ आएर सिधै क्वारेन्टाईनमा बसेकाले उनीहरूको सम्पर्कमा स्थानीयहरू पुग्न भने पाएनन् । यसर्थ उनीहरूका कारण स्थानीयलाई संक्रमणको खतरा भने नरहेको गाउँपालिकाका अध्यक्ष यादवले जानकारी दिए । ‘उनीहरू सिधै क्वारेन्टाईनमा बसेकाले उनीहरूको कसैसंग पनि सम्पर्क हुन पाएन,’ उनले भने ‘यसर्थ उनीहरूबाट अरु थप स्थानीयहरूलाई संक्रमणको खतरा भने हुन पाएन्।’ शुक्रबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणका क्रममा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरू दुबैजनालाई बेलझुण्डि स्थित कोरोना बिशेष अस्पतालमा पठाईएको प्रतिष्ठानले जनाएको छ ।  

उता तुलसीपुरमा भेटिएका भनिएका अर्का युवक भने काठमाडौँमै रहेका बेला कोरोना संक्रमण पुष्टि भएको खुलेको छ । शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत उनी अहिले पनि काठमाडौंमै रहेको तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले जानकारी दिए । ‘उनको स्थायी ठेगाना तुलसीपुर–७ रहेपनि उनी काठमाडौं मै भएको बेला संक्रमण पुष्टि भएको हो,’ मेयर पाण्डेले भने, ‘उनी अहिले पनि काठमाडौँमै छन् ।’

प्रकाशित: ३ जेष्ठ २०७७ ०५:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App