२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

२ करोड ६१ लाखको राहत ठेक्का मिलेमतोमा

राहतमा कुहिएको चामल

फाइल तस्बिर

धनगढी-  धनगढी उपमहानगरपालिका ४ उत्तरवेहेडी महिमा टोलकी सीता थापा राहात उपलब्ध गराउने भनेपछि खुशी भएर शिवपुरी धाम पुगिन्। धनगढी उपमहानगरपालिकाले उपलब्ध गराएको राहात स्वरुपको चामलको कट्टा बुझेर घर गईन। 

डेढ महिना लामो लकडाउनले चुल्हो नै वल्न बन्द हुने अवस्थामा राहात पाएर खुशी भएकी उनी घर पुगेर चामल हेर्दा भने आकाशवाट खसे झै भईन्। चामल कुहिएको मात्र थिएन्, कुहिएको चामलमा किराहरु समेत थिए।‘घरमा गएर चामल हेर्दा त, पुरै कुहिएको र किरा परेको देखे’उनले भनिन्,‘मैले फिर्ता लगेर दिए।’ उनलाई मात्र नभई धनगढी उपमहानगरपालिकाले राहात स्वरुप बितरण गरेको चामल कुहिएको र किरा परेको रहेको स्थानीयले बताएका छन्।‘धनगढी उपमहानगरपालिकाले राहात भनेर दिएको चामल हेर्दै पनि जिउ जिरिङ्ग हुने खालको कुहिएको र किरा परेको थियो’धनगढी वडा नम्वर २ सरस्वती नगरकी खिमादेवी सुनारले भनिन्,‘हामी गरिवलाई राहातका नाममा किरा परेको चामल दिइयो, हामीले फिर्ता गरिदियौ।’ जनताले तिरेको राजस्व खर्चेर  राहातका नाममा कुहिएका चामल बितरण गरेकोमा स्थानीय आक्रोशित भएका छन्। किरा परेको राहात बितरण गर्ने कार्यमा संलग्नलाई कारवाही गर्नुपर्ने स्थानीयको माग छ। खाद्य प्रविधी तथा गुणस्तर नियन्त्रण कार्यालय, जिल्ला प्रशासनका प्रतिनिधी लगायतको टोलीले छानबिन र अनुगमन गर्दा पनि राहात बितरण गर्न लगिएमा चामलमा किरा परेको भेट्टाएको थियो। ‘अनुगमन गर्दा चामलमा किरा भेट्टिएको छ’कुँवरले भने।

राहात स्वरुप बितरण गरिएका चामलको कट्टामा सिलप्याक र लेवल समेत नरहेको स्थानीयले बताएका छन।‘मेरो भागमा परेको चामलको कट्टा सिल प्याक र लेबल समेत थिएन, घरमा पुगेर हेर्दा त पूरै कुहिएको थियो ’थापाले भनिन्।

दैनिक ज्यालादारी गरेर परिवार पाल्नेहरुका लागि भन्दै धनगढी उपमहानगरपालिकाले सवै वडामा कुहिएको चामल बितरण गरेको स्थानीयले बताएका छन्। 

उप–महानगरपालिकाले वितरण गरेको दोस्रो चरणमा मजदुरलाई दिएको राहतमा कुहिएको चामल भेटिएको हो। 

                धनगढी उप–महानगरपालिका वडा नम्बर ४ उत्तरबेहडी र वडा नम्बर २ मा वितरण गर्न थालेको राहतको चामल कुहिएको भेटिएको हो। धनगढीस्थित ठाकुर ट्रेड लिंकले उप–महानगरपालिकाबाट राहत सामग्री खरिद गर्न ठेक्का पाएको थियो। 

राहतस्वरुप पाएको चामलको कट्टा खोल्दा कीरा परेको पाएका वडा नम्बर–४, भगवती टोलका मदन पाण्डेले भने,‘राहत वितरण स्थलमा नै मैले पाएको १५/१५ केजीका दुवै कट्टा खोलेर हेर्दा चामलमा कीरा परेका थिए।’ चामलमा कीरा भेटिएपछि घर नलगेरै राहत स्थलमै वडा कार्यालयलाई नै चामल फिर्ता गरेको उनले बताए। ‘यदि मैले राहत स्थलमै चामलको कट्टा नखोलेको भए म नै गलत हुन्थेँ, संयोगले त्यहीँ कट्टा खोल्दा कुहिएको भेटिएपछि वडा कार्यालयलाई नै फिर्ता गरेँ,’ उनले भने,‘यस्तो बेला गरिबलाई कुहिएको चामल दिएर स्वास्थ्यमाथि खेलवाड गरियो।’ 

                वडा कार्यालयले राहतका लागि हस्तान्तरण गरेको चामलको कट्टा खोलेर हेर्दा कुहिएको भेटिएपछि राहत पाएका वडाबासीले कुहिएको चामल दिएको भन्दै गुनासो गरेका थिए। वडाबासीको गुनासोपछि धनगढी उप–महानगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको टोलीले भण्डारण गरिराखेको चामलको अनुगमन गरेको थियो। अनुगमनमा भण्डारण गरि राखिएका चामलका कट्टा खोलेर हेर्दा कुहिएका र कीरा परेको देखिएको बताउँदै अनुगमन टोलीका सदस्य तथा नेपाल पत्रकार महासंघ कैलाली कोषाध्यक्ष हिमाल जोशीले भने,‘हामीले अनुगमन गर्दा चामल पूरै कुहिएको र कीरा समेत परेकाले खान योग्य नै थिएन।’ 

वडा नम्बर ४ का वडाध्यक्ष दीपक थापाले कुहिएको चामल वितरण गर्नुमा आफ्नो कुनै गल्ती नभएको बताए। ‘चामल वितरण गर्नु अघि स्याम्पलका लागि एक/दुई बोरा खोलेर हेर्दा राम्रै थियो, सबै खोलेर हेर्ने कुरै भएन,’ अध्यक्ष थापाले भने, ‘राहत पाएको उपभोक्ताले घरमा लगेर हेर्दा कुहिएको भेटियो, त्यसलाई तुरुन्तै ल्याएर वडा कार्यालयमा राख्यौँ, र जनप्रतिनिधि र अनुगमन टोलीको सहभागितामा नगरपालिकालाई कुहिएको चामल उपलब्ध गराउने ठेकेदार कम्पनीलाई आवश्यक कारबाहीका लागि उपमहानगरपालिकालाईलिखितरुपमा सिफारिस गरेका छौँ।’ 

                लक डाउनका समयमा विपन्न परिवारका लागि भन्दै उप–महानगरपालिकाले अहिले दोस्रो चरणको राहत वितरण गरिरहेको छ। पहिलो चरणमा प्रति परिवार १० केजी चामल वितरण गरिएको थियो भने दोस्रो चरणमा प्रति परिवार २० केजी चामल, चिनी, तेल साबुन वितरण भइरहेको थियो। 

‘मिलेमतोमा २ करोड ६१ लाखको टेण्डर’

कोरोनाको कहरका वेला लकडाउनले भोकभोकै वसेका गरिव जनतालाई किरा परेका चामल बितरण भएपछि धनगढी उपमहानगरपालिकाले प्रक्रिया पुर्याएर मिलेमतोमा ठेक्का दिएको कुरा खुलेको छ। टेण्डरको स्पेकिफिकेसन बनाउदाँ नै आफुले चाहेकोलाई ठेक्का दिने र बितरण गर्ने चामल लगायत समाग्रीको गुणस्तर किटान नगरी बनाइएको छ।

                उप–महानगरपालिकाले ठाकुर ट्रेड लिंकसँग २ करोड ६१ लाख रुपैयाँमा तीन हजार तीन सय क्विन्टल चामल, ८ सय क्विन्टल दाल लगायतका सामाग्री आपूर्तिका लागि सम्झौता गरेको थियो।

३ हजार ३ सय क्विन्टल चामल, ३ सय ९९ सय क्विन्टल दाल, २ सय ९ क्विन्टल नुन,२२ हजार ५ सय लिटर तेल, २ सय ६५ क्विन्टल चिनी र ५१ हजार ९ सय वटा सावुन लागी ठेक्का दिएको थियो।बैशाख ११ गते टेण्डरको सुचना भएकोमा बैशाख १४ गते टेण्डर खोलीएको थियो। टेण्डरको शर्तमा सम्झौता भएको २४ घण्टाभित्र २ करोड बरावरको खाद्य सामग्री उपलब्ध गराउनुपर्ने र नभएर सम्झौता रद्ध गरी धरौटी जफत गरिने उल्लेख छ। ठाकुर ट्रेड लिंक सँग बैशाख १५ गते ठेक्का सम्झौता गरिएको थियो। टेण्डरमा मध्य मसिनो चामल भनिएपनि अन्य गुणस्तर खुलाइएको छैन। टेण्डर गर्दा चामलमा बिग्रेको दाना, कनिका, चक्कीदाना, चिस्यान, बाह्या पदार्थ कति राख्न पाइने वा नपाइने भनेर पनि स्पष्टहुनुपर्ने बिज्ञहरु बताउछन। यस्तै अन्य सामग्रीको पनि स्पष्ट नखुलाएर आफूले चाहेको समान दिन सक्ने ठाउँ राखिएको छ।

चामल प्रतिकिलो ४४, दालप्रति किलो १ सय २५, नुन प्रतिकिलो २५, चिनी प्रतिकिलो ७६ ,तेल १ सय ६५ लिटर, सावुन ४ पिसको १ सय १४ दररेट निर्धारण गरेको छ।

कमिशनकै चक्करमा प्रतिस्पर्धा नगरी प्रक्रिया पुर्याएर धनगढी उपमहानगरपालिकाले २ करोड ६१ लाखको राहात सामग्री खरिदका लागी ठाकुर ट्रेड लिंकलाई ठेक्का दिएको श्रोतले बताएको छ। ‘मुहान सफा नभई धारावाट कसरी पानी  सफा आउँछ’उपमहानगरपालिकाकै एक कर्मचारीले भने,‘उपमहानगरपालिकाले ठेक्का दिदाँ नै प्रतिस्पर्धा नगराई चाहेको व्यक्तीलाई दिएपछि गरिव मजदुरले बजेट अनुसारको गुणस्तर सामग्री पाउने अपेक्षा कसरी गर्न सकिन्छ।’

धनगढी उपमहानगरपालिकाका प्रमुख नृप वहादुर वडले भने केही वोरामा मात्र कुहिएको चामल भेट्टिएको र सवै चामल कुहिएको नभएको बताए। ठूलो परिमाणमा वितरण गर्दा केही कट्टा वोरामा कुहिएको चामल भेटिएको हो, अरु सवै राम्रो छ’उनले भने,‘यसलाई अलि ठूलो बिषय बनाएको मात्र हो।’ प्रतिस्पर्धा नगरी मिलेमतोको आधारमा राहातको ठेक्का एकै जनालाई दिएको भन्ने कुरा पनि गलत भएको उनको भनाई छ।‘राष्ट्रिय पत्रिकामा टेण्डर निकालेर हामीले ठेक्का दिएका छौं, ठेक्का दिदाँ धनगढी उपमहानगरपालिकाले सवै प्रक्रिया पुरा गरेको छ’उनले भने,‘राम्रो काम गरेको देख्न नसुक्ने भनेको गलत कुरा हो यो।’

छानबिन गरेर दोषीलाई कारवाही गरिने उनले बताए।

स्थानिय वासिले यो संकटका वेला गरिव जनतालाई दिएको राहातमा भएको यो ठूलो भ्रष्टाचार रहेको र छानबिन गरि सवैलाई कारवाही गर्न माग गरेको छ।‘ २ करोड ६१ लाख को राहात किन्न मिलेमतोमा ठेक्का दिने काम सरासर भ्रष्टाचार हो, भ्रष्टाचारीलाई कारवाही हुनुपर्छ’स्थानीय व्यवसायी कृष्णबहादुर महरले भने,‘गरिव जनताको भोको पेटका लागी किरा परेको चामल दिने कार्य अत्यन्त घृणित हो।’

प्रकाशित: ३१ वैशाख २०७७ ०४:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App