६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

राहतमा कोदो

फाइल तस्बिर

पोखरा  - कोरोना भाइरस संक्रमण फैलने डरले मुलुकमा लकडाउन भएपछि दैनिक ज्यालादारी गरेर जीविका चलाउने धेरै मान्छे कामविहीन भएका छन्। ती मजदुरलाई बिहानबेलुकी हातमुख जोर्न समेत समस्या भएपछि ठाउँठाउँमा राहत वितरण थालिएको छ। स्थानीय तहमार्फत राहतका कार्यक्रम अघि सारेर कतिपय ठाउँमा वितरण सुरु भइसकेको छ भने निजी क्षेत्रले पनि विभिन्न बस्ती, टोल र घरघर पुगेर राहत सामाग्री वितरण गरिरहेका छन्।

धेरैले राहत सामग्रीका रुपमा चामल, मैदा, आटा, दाल, तेल, नुन, चाउचाउ, बिस्कुट, भुजा, चिउरा बाँडिरहेका छन्। कास्कीको अन्नपूर्ण गाउँपालिकाले भने कोदो वितरण गर्ने तयारी थालेको छ। पर्याप्त पौष्टिक तत्व हुने र गाउँकै उत्पादन भएकाले कोदो वितरण थालेको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले बताए। उनले कोदोसँगै दाल, तेल र नुन वितरण गर्ने तयारी रहेको जानकारी दिए। 

कुँवरका अनुसार कोदो वितरण गर्दा दुईवटा फाइदा छन्। पहिलो हो, कोदोबाट मानव शरीरलाई पर्याप्त पोषण मिल्छ। कोदोका परिकार खाँदा शरीर स्वस्थ हुने र त्यसले शरीरको रोगसँग लड्ने क्षमता बढाउने उनको भनाइ छ। दोस्रो फाइदा हो, गाउँमै पर्याप्त कोदो उत्पादन हुने भएकोले खरिद गर्न बाहिर जानु पर्दैन। गाउँको कोदो गाउँमै खपत हुँदा पैसा पनि गाउँमै रोकिन्छ। चामल किन्दा पैसा बाहिरिन्छ। गाउँमै पर्याप्त कोदो पाइने र गाउँपालिकामार्फत खरिद गर्दा गाउँलेले घरबाटै कोदो बेच्न पाउँछन्। गाउँमै कोदो बिक्री गर्न पाउँदा गाउँलेको आम्दानी बढ्छ। यसले दिगो विकासमा फाइदा पु-याउँछ।

गाउँपालिकाले प्रत्येक वडामा ५० देखि एक सय मुरी कोदो खरिद गरेर राख्ने निर्णय गरेको छ।

हामीले स्थानीय उत्पादनलाई जोड दिन चाहेका हौं’, उनले भने, ‘जनताको उत्पादनले पनि मूल्य पाउँछ। भोकै बस्न बाध्य जनताले पनि पेटभरि खान पाउँछन्।’ उनका अनुसार गाउँपालिकाले प्रत्येक वडामा ५० देखि एक सय मुरी कोदो खरिद गरेर राख्ने निर्णय गरेको छ। प्रतिपाथी १ सय ५० देखि २ सय रुपैयाँका दरले गाउँपालिकाले किसानसँग कोदो खरिद गर्दैछ। अहिलेसम्म २ सय मुरी कोदो खरिद भइसकेको उनले बताए। 

‘तत्कालै यहाँ राहत दिन जरुरी परेको छैन। तर हामीले कार्यविधि बनाइसकेका छौं। त्यही अनुसार राहत दिनुपर्ने अवस्थामा कोदो दिन्छौं,’ उनले भने। अहिले भन्दा अझै अप्ठेरो अवस्था आउने ठानेर कोदो संकलन गरेको उनले बताए। ‘लकडाउन धेरै दिन भएको छैन। अहिलेसम्म गाउँपालिकामा कोही भोको परेको छैन, अहिलेभन्दा अझै कठिन दिन आउने जोखिम पनि छ। ती दिनका लागि पनि हामीले जोहो गरेका हौं,’ कुँवरले भने।

गाउँपालिकामा अहिलेसम्म १ सय ५० परिवार राहतका लागि सूचीकृत भएका छन्। तर उनीहरु भोको भने परिसकेका छैनन्। अन्यत्रबाट काममा आएका मजदुरमात्र समस्यामा पर्न सक्ने कुँवरको भनाइ छ। ‘ग्रामीण भेग भएकोले अहिले पनि गाउँमा काम गरेर खान सक्ने अवस्था छ। त्यही भएर अहिले नै कोही भोको परेको छैन,’ उनले भने। कुँवरले पहिलो चरणमा राहत दिनुपरे एउटा परिवारलाई ५ पाथी कोदो, तेल एक लिटर, दाल र नुन एक–एक किलो दिने बताए।  

गाउँपालिकाभित्र एकैजना किसानले वर्षमा ४० मुरीजति कोदो फलाउँछन्। गाउँपालिकामा वर्षमा करिब ६ हजार मुरी कोदो उत्पादन हुने कुँवरको भनाइ छ। उनका अनुसार गाउँपालिकाभित्रका सल्यान, लाम्द्रुक, दाङसिङ, उल्लेरी र तिखेढुंगा पर्याप्त कोदो फल्ने गाउँ हुन्। पानी धेरै नचाहिने र कम स्याहारसुसारमै पर्याप्त उत्पादन हुने भएकोले गाउँलेले कोदोखेती गर्छन्। खपत नभएको कोदोबाट गाउँलेले मदिरा बनाउने गरेकोले यो पटक खाद्य अभाव हुने ठानेर कोदोबाट मदिरा बनाउन रोक लगाएको अध्यक्ष कुँवरले बताए। 

राहतको रुपमा चामलको साटो कोदो दिनु उत्तम निर्णय भएको पोषणविद् बताउँछन्। पोषणविद् डा. अरुणा उप्रेती भन्छिन्, ‘चामलको सट्टा कोदो दिनु उत्तम निर्णय हो।’ उप्रेतीका अनुसार कोदोमा सूक्ष्म पोषक तत्व हुन्छ। त्यस्तै मानव शरीरलाई चाहिने कार्बाेहाइड्रेट, क्याल्सियम, आइरन, फाइबरजस्ता पोषक तत्व चामलमा भन्दा कोदोमा बढी पाइन्छ, जसले मानव शरीरलाई ऊर्जा दिन्छ। ‘शरीरलाई पर्याप्त पोषक तत्व दिने खाद्यान्न यो बेलाको आवश्यकता हो। त्यसका लागि कोदो उत्तम हो,’ उप्रेतीले भनिन्, ‘यो बेला हामीलाई रोगसँग लड्न सक्ने शक्ति चाहिएको छ। कोदो खाँदैमा कोरोना भाग्ने होइन तर, कोदो खाँदा हाम्रो शरीर स्वस्थ हुन्छ, त्यसपछि शरीरको रोगप्रतिरोधक क्षमता बढ्छ।’ 

रगतको कमी हुने, महिला, गर्भवती, बालबालिकालाई सन्तुलित भोजनको रुपमा कोदो चाहिने उनले बताइन। ‘ढिँडो बनाएर खाने चलन पुरानो हो तर कोदोको विभिन्न परिकार बन्छन्। पाँचतारे होटलमा एक कप कोदोको सुपको मूल्य ६ सय रुपैयाँ पर्छ,’ उप्रेतीले भनिन्, ‘कोदोको मूल्य बुझ्नेका लागि ठूलो अर्थ राख्छ।’ गाउँको उत्पादन गाउँमै खपत हुँदा दिगो विकासमा पनि सघाउ पुग्ने उनले बताइन। ‘चामल भन्दा सस्तो पनि पर्छ। पाचनमा लामो समय लिने भएकाले कोदोको परिकार खाँदा भोक कम लाग्छ,’ उनले भनिन्।

प्रकाशित: २८ चैत्र २०७६ ०२:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App