१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

क्वारेन्टाइनबाट आमाको किरियामा

खोटाङ– खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाको क्वारेन्टाइनबाट दुई जना छुटेका छन्। चैत १२ गतदेखि क्वारेन्टाइनमा राखिएका दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाका एक जना र फागुन २१ गते साउदीअरवबाट आएका याम्खाकै एक जना छुटेका हुन्। चैत १२ गते याम्खा स्वास्थ्य चौकीमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएका पाँच जनामध्ये उनीहरु सोमबार छुटेका हुन्।

चैत ८ गते मात्र भारतको मेघालयबाट घर आएका युवालाई आमाको मृत्यु भएकाले काज किरियाका लागि केही दिनका लागि छाडिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए। उनलाई परिवारबाट अलग्गै बसेर काजकिरिया गर्ने र पुनः क्वारेन्टाइनमै फर्कने गरी छाडिएको हो। उनी आमा बिरामी भएकै कारण मेघालयबाट घर आएका थिए। यस्तै, घर आएको १४ दिनभन्दा बढि वितिसकेको कागजात पेश गरेपछि उनलाई घर फर्काइएको अध्यक्ष राईले बताए।

केपीलासगढीमा थप एक जना क्वारेन्टाइनमा
केपीलासगढी गाउँपालिकामा थप एक जनालाई क्वारेन्टाइनमा राखिएको छ। कतारबाट गत चैत ४ गते घर फर्किएका केपीलासगढी गाउँपालिका–६ दिप्सुङका ४५ वर्षीय व्यक्तीलाई क्वारेन्टाइनमा ल्याएर राखिएको हो। उनलाई मंगलबार ल्याएर गाउँपालिकाको केन्द्र पृथ्बी उमाबि बाक्सिलास्थित क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका अध्यक्ष कृष्णकुमार राईले बताए। केपीलासगढी गाउँपालिकाले सोमबार मात्र केपीलासगढी गाउँपालिका–२ खार्ताम्छाका एक युवालाई गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा राखेको थियो। अप्ठ्यारो मानिरहेका अवस्थामा उनीहरुलाई सम्झाई बुझाई गरेर १४ दिनसम्मका लागि खाने सुविधासहित क्वारेन्टाइनमा राखिएको हो।

यससँगै जिल्लामा क्वारेन्टाइनमा बस्ने व्यक्तिको संख्या ७ पुगेको छ। दिप्रुङ चुईचुम्मा गाउँपालिकाको क्वारेन्टाइनमा चार जना र साकेला गाउँपालिकाको क्वारेन्टाइनमा एक जना राखिएका छन्। यस्तै, चैत्र ४ गते फ्रान्सबाट कतार हुँदै काठ्माडौं आएकी युवतीसँगै यात्रा गरेका जन्तेढुंगा गाउँपालिका–३ काहुलेका एक युवालाई समेत चैत १२ गते साँझदेखि सेल्फ क्वारेन्टाइनमा छाडिएको छ। उनीसँगै आएका केपीलासगढी गाउँपालिकाका अर्का एक जना धरानमा क्वारेन्टाइनमा राखिएका छन्।

विदेशबाट फर्कनेको संख्या अधिक भए पनि जिल्लाका अन्य स्थानीय तहको क्वारेन्टाइन भने हालसम्म रित्तो छ। अधिकांश स्थानीय तहले विदेशबाट फर्किएका व्यक्तिलाई पनि सेल्फ क्वारेन्टाइन भन्दै घरमा बस्ने छुट दिएकाले क्वारेन्टाइनमा बस्नेको संख्या न्यून देखिएको हो। प्रशासनका अनुसार हाल मात्र विदेशबाट फर्किएका युवाको संख्या १२२ छ।

प्रकाशित: १९ चैत्र २०७६ ०७:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App