काठमाडौं – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले १३ हजार तीन ८५ गुनासो सम्बोधन गरी एक हजार सात सय पाँच पुनर्निर्माण लाभग्राही थप गर्ने निर्णय गरेको छ। प्राधिकरणको कार्यकारी समितिको मंगलबार बसेको बैठकले चार सय ८५ प्रवलीकरण लाभग्राही पनि थप गरेको छ। योसँगै पुनः जाँच तथा छुट सर्वेक्षण २०७५ एवं २०७६ बाट संकलित एक लाख ८९ हजार गुनासोमध्ये एक लाख ८२ हजार तीन सय एकको नतिजा सार्वजनिक भएको छ।
नतिजाअनुसार १७ हजार एक सय ६ पुनर्निर्माण लाभग्राही र आठ हजार तीन सय आठ प्रवलीकरण लाभग्राही कायम भएका छन्। बाँकी गुनासो चैत मसान्तभित्र विश्लेषण गरी नतिजा प्रकाशित गरिने प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिए। कार्यकारी समितिले तीन सय ५९ प्रवलीकरण लाभग्राहीलाई पुनर्निर्माण लाभग्राही कायम गर्ने निर्णय पनि गरेको छ।
गुनासो सम्बोधनको नतिजा जान्नका लागि गुनासोकर्तालाई आ–आफ्नो स्थानीय तहमा सम्पर्क राख्न उनले आग्रह गरे। आफू लाभग्राही भई अनुदान पाउन योग्य छु भन्ने लागेमा गैरलाभ ग्राही कायम भएका गुनासोकर्ताले पुनरावेदन समितिमा पुनरावेदन गर्न सक्ने छन्। यसका लागि उच्च अदालतका न्यायाधीशको अध्यक्षतामा एक जना कानुन व्यवसायी र एक प्राविधिक गरी तीन सदस्यीय समितिको व्यवस्था गरिएको छ।रासस
प्रकाशित: ५ चैत्र २०७६ ०३:०७ बुधबार