५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

सिद्धिचरण लोकमार्ग स्तरोन्नतिको माग गर्दै प्रतिनिधिमण्डल जाने तयारी

अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य सुरेश राई। तस्बिरः महेश्वर

कटारी(उदयपुर)- सिरहाको मिर्चयादेखि कटारी–घुर्मी हुँदै ओखलढुंगा जोड्ने सडक सिद्धिचरण लोकमार्गको स्तरोन्नति हनुपर्नेमा यहाँका सरोकारवालाहरुले जोड दिएका छन्। माथिल्लो सगरमाथाको प्रवेशद्वार मानिएको कटारी बजारदेखि ओखलढुंगाको सीमास्थल सुनकोसीस्थ्ति घुर्मीबजारसम्मको सडक अत्यन्त दूरावस्था रहेको भन्दै यसको दीर्घकालीन स्तरोन्नतिका लागि सरोकारवालाहरुले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका हुन्।

०५८ सालमा तत्कालीन शाही नेपाली सेनाको कालीबक्स गणले निर्माण सम्पन्न गरेर प्रयोगमा आएको ७२ किलोमिटर लम्बाईको सडमध्ये कटारी नगरपालिकाभित्र ६५ किलोमिटरको दूरी रहेको छ। स्थानीयका अनुसार उदयपुरको पहिलो कालोपत्रे उक्त सडक त्यतिबेलासम्म राम्रो थियो जतिबेला मारुती सिमेन्ट उद्योग सञ्चालनमा आएको थिएन। जब मारुती सिमेन्ट उद्योग सिरहाको चन्द्रोदयपुरमा सुरु भयो, त्यसपछि सडकको दुर्दसा पनि सुरु भएको स्थानीयको भनाइ छ।

कटारी नगरपालिका ८ सिरिसेस्थित पट्नाभन्ज्याङ खानीबाट उद्योगले चुनढुंगा ओसार्ने क्रममा अधिक भारका टिप्पर दैनिक सयौंको संख्यामा ओहोरदोहोर गर्न थालेसँगै सडक ध्वस्त भएको र यो क्रम अहिलेसम्म कायम रहेको उदयपुर उद्योग बाणिज्य संघ कटारीका पूर्व अध्यक्ष राजेशचन्द्र श्रेष्ठ बताउँछन्। उनका अनुसार १० टन क्षमताको कालोपत्रे सडकमा २५ टन भारका दैनिक ३/४ सय टिप्पर ओहोरदोहोर गर्ने गरेपछि भत्केको सडक वर्षेनी मर्मत गरे पनि ६ महिनाभित्र पुनः धुले सडकमा परिणत हुने गरेको छ।

सडक भत्कने र आसपासमा धुलोधुँवाले प्रदुषण बढाएपछि स्थानीयले विगत वर्षहरुमा मारुती सिमेन्ट उद्योगसँग सडक मर्मत गर्न, प्रदुषण नियन्त्रण तथा न्यूनिकरणमा बजेट छुट्याउन तथा बैकल्पिक सडक बनाएर टिप्पर चलाउन माग गरे। उनिहरुको माग पुरा नभएपछि आन्दोलन गर्दै पटकपटक सडक अवरुद्धसमेत गरे। स्थानीय आन्दोलित भएपछि उद्योग र स्थानीय तथा सरोकारवाला निकायका प्रमुखबीच छलफल गरी सहमति हुने गरेको छ। तर, सहमति पालना भने नभएको कटारीबासीको गुनासो छ।

दुईवर्षअघि यस्तै माग राख्दै स्थानीयले लगातार ३ दिन त्रिबेणी–कटारी खण्डमा सडक अवरुद्ध गर्दै टिप्पर चल्न नदिएपछि उद्योग, प्रशासन र नगरपालिकाबीच छलफल भयो। लामो वहस र छलफलबाट उद्योगले बैकल्पिक सडक निर्माण गर्ने सहमति भए पनि त्यो निर्णय अहिलेसम्म कार्यान्वयनमा आउन नसकेको उद्योग बाणिज्य संघका अध्यक्ष पुस्कर खड्का बताउँछन्। उनका अनुसार बैकल्पिक सडक निर्माणका लागि सरकारले एसियाली विकास बैंक (एडिबी) लाई गुहारेको थियो। जस अनुसार विस्तृत परियोजना प्रतिबेदन (डिपिआर) समेत तयार भईसकेको तर, डिपिआर बनेको वर्षदिन बित्दासम्म कार्यान्वयको कुनै संकेत नदेखिएको खड्काले बताए।

वर्षेनी सडक मर्मत गर्नुपर्दा राज्यको ठूलो लगानी खर्च हुने गरे पनि ६ महिनापछि जस्ताको तस्तै हुने लोकमार्गलाई दीर्घकालीन दीगो बनाउन पछिल्लो समय सबै एकमत हुनुपर्ने निश्कर्षमा स्थानीय पुगेका छन्। त्यसका लािग उद्योग बाणिज्य संघले सार्वज्निक वहसको सुरुवात गरेको छ। खड्काका अुनसार सडकको दीर्घकालीन र स्थायी समाधान निकाल्न वहस चलाउन भर्खरै सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको र त्यसबाट सबैपक्ष एकजुट भएर लागी पर्ने निश्कर्ष निस्केको छ।

लामो र पहाडी भेगको सडक भएकाले ठूलो बजेट लाग्ने निश्कर्षसहित नगरपालिका, प्रदेश सरकार र संघीय सरकारबीच समन्वय गर्दै दीर्घकालीन राष्ट्रिय योजना सञ्चालन गर्नुपर्ने ठहर सर्वपक्षीय भेलाले निकालेको कटारी नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए। उनका अनुसार स्थानीय सरकारले प्रदेश र संघीय सरकारसँग साझेदारीमा लगानी गर्नेगरी प्रस्ताव तयार गरि संघीय सरकारसमक्ष बजेट माग गर्न प्रतिनिधिमण्डल जाने तयारी भईरहेको छ। त्यसका लागि एक समितिसमेत गठन गरिएको छ। उद्योग वाणिज्य संघकै अन्तरक्रियात्मक भेलापछि गठित ४५ सदस्यीय समितिको नेतृत्व प्रतिनिधिसभा सदस्य शुरेसकुमार राई (हिमाल)ले गर्नेछन्।

भेलाले गठन गरेको २७ सदस्यीय समितिको बुधबार बसेको पहिलो बैठकले अन्य सदस्य थप्दै ४५ सदस्यीय पुर्‍याएको बाणिज्य संघका महासचिव जमानसिंह बस्नेतले बताएका छन्। उनका अनुसार समितिमा संविधानसभा सदस्यदेखि प्रदेशसभा सदस्य, पूर्व सांसदहरु, उद्योग वाणिज्य संघ, राजनीतिक दल तथा पत्रकारसमेतको प्रतिनिधित्व गराइएको छ। समितिले सबैको समय मिलाएर मंसिरभित्र प्रतिनिधिमण्डल जाने निर्णय गरेको महासचिव बस्नेतले बताए।

सांसद राईले सिद्धिचरण लोकमार्गको स्थायी र दीर्घकालीन विकासका लागि स्तरोन्नति कार्य चालु आर्थिक वर्षभित्रै सुरु गर्नेगरी पहल गर्न आफु लागीहाल्ने प्रतिबद्धता जनाएका छन्। उनले सर्वपक्षीय र सर्वदलीय सरोकारवाला समेटिएको समितिले मंसिरभित्रै सम्बन्धित निकायको ध्यानाकर्षण गराउन प्रतिनिधिमण्डल भौतिक पूर्वाधार योजना मन्त्रालय गएर सबभन्दा पहिले डिपिआर विषयमा सोधीखोजी गर्ने बताए। त्यसपछि सडकको लागत विषयमा प्राविधिकसँग छलफल गरी आवश्यक रकमका लागि अर्थ मन्त्रालयलाई जानकारी दिने तथा तत्काल योजना सञ्चालन गर्न सत्तारुढ दल नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराउने बताएका छन्।

आफ्नो निर्वाचन क्षेत्रमा पर्ने योजना भएकाले पनि सिद्धिचरण लोकमार्गको दीर्घकालीन र स्थायी स्तरोन्नतिबारे आफु गम्भीर रहेको नेकपा प्रदेश १ का सचिवसमेत रहेका सांसद राईले बताएका छन्।

 

प्रकाशित: २० मंसिर २०७६ ०८:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App