१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

स्वास्थ्य संस्थामै चार महिनामा चार जना सुत्केरीको मृत्यु

बाजुरा- गएको साउन यता जिल्लामा चार जना सुत्केरीको ज्यान गएको छ। सुरक्षित सुत्केरी गराउन पुर्‍याइएको स्वास्थ्य संस्थामै चार जना सुत्केरीको ज्यान गएको हो। ती मध्ये २ जना जिल्ला अस्पताल र २ जनाको गाउँकै स्वास्थ्यमा उपचारकै क्रममा ज्यान गएको अस्पताल श्रोतले बताएको छ।

मंसिर १० गते अर्थात् सोमबार जगन्नाथ गाउँपालिकामा ५ गोत्री सामुदायिक स्वास्थ्य ईकाइ केन्द्रमा एक सुत्केरीको मृत्यु भएसँगै स्वास्थ्य संस्स्थामै मृत्यु हुने महिलाको संख्या चार पुगेको हो। यसअघि जिल्ला अस्पतालमा ३ जना र छतारा स्वास्थ्य चौकीमा एक जनाको मृत्यु भएको थियो।

जगन्नाथ गाउँपालिका ५ गोत्रीकी ३५ वर्षीया पुल्ती रावलको स्वास्थ्य ईकाइमै ज्यान गएको जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र विश्वकर्माले बताएका छन्। घरमै सुत्केरी भएकी रावलको साल अड्कीएपछि अत्याधिक रक्तश्रापका कारण बेहोस भएकी थिइन्।

बेहोस अवस्थामै स्वास्थ्य संस्थामा ल्याइएको थियो। स्वास्थ्यकर्मीले साल निकाले रगत बग्न पनि विस्तारै कम भएको थियो, घाम ताप्दै गरेको अवस्थामा एकाएक ढलिन र त्यसैक्रममा मृत्यु भएको स्वास्थ्य ईकाइमा कार्यरत अहेब अमर बुढाले बताए।

घरमै सुत्केरी भएको भएपनि आफन्तले बाटोमा ल्याउदा ल्याउदै सुत्केरी भएको ढाँटेको बुझीएको छ। साल अड्केको र बेहोस भएको कुरा जानकारी आएपछि हेलिकप्टरको लागी जिल्ला प्रशासन मार्फत् प्रदेश सरकार र संघ सरकारसँग पहल भइरहेको थियो। महिला होसमा आएको र सुत्केरी अवस्था राम्रो भएको जानकारी आएपछि उद्धार गर्न पहल रोकेको डा. बिश्वकर्माले बताए।

त्रिवेणी नगरपालिका–१ विशाल बजार बस्ने रेजीया नेपालीको छतारा स्वास्थ्य चौकी मृत्यु भएको छ भने बडिमालिका नगरपालिका ७ की बसन्ती नेपाली र बुढीनन्दा नगरपालिका १० बस्ने निर्मला बोहराले जिल्ला अस्पतालमै ज्यान गुमाएका छन्।

त्रिवेणीकी रेजीना नेपालीको कात्तिक १६ गते छतारा स्वास्थ्य चौकीमा बच्चा जन्माएको ६ घण्टापछि ज्यान गएको हो। छतारा बिशाल बजार बस्ने रेजीया नेपाली चौथो सन्तान जन्माएको ६ घण्टापछि बेडमै मृत्यु भएको कार्यरत अनमी सुमित्रा पाध्यायले बताएकी छन्।

एकाएक बेहोस भएर ज्यान गएको हो, सुत्केरी गराउनमा संलग्न रहेकी अनमी पाध्यायको भनाइ छ। उनले बच्चा जन्माएको केही समयपछि एक गिलास दुध र विस्कुट खाएर बच्चालाई दुध समेत खुवाएकी थिइन्।

यस्तै, बडिमालिका नगरपालिका ७ जिल्ली घर भएकी २१ वर्षकी बसन्ती नेपालीको जिल्ला अस्पतालमै ज्यान गएको हो। नेपालीको पेटमै मृत्यु भइसकेको बच्चा जन्माएको करिब दुई घण्टापछि भदौं ७ गते बिहान अस्पतालको शैया मै ज्यान गएको थियो।

बच्चा खेल्ने भागको पानी फोक्सोमा पुगेको र रगतसँगै पानी पनि नशामा मिसिएर एकाएक ज्यान गएको तत्कालिन समयमा जिल्ला अस्पताल बाजुरामा कार्यरत डाक्टर टीका राईले बताएका थिए। राई हाल अन्यन्त्र गईसकेका छन्।

रगतको मात्रा निकै कम भएको, स्वास्थ्यकर्मीको सल्लाह अनुसार नियमित जाँच र उपचार सेवा नलिएको र परामर्श अनुसार स्वास्थ्य संस्थामा सुत्केरी गराउन समयमै नआएका कारण मृत्यु भएको स्वास्थ्यकर्मीको भनाइ थियो।

उनलाई भर्ना हुन भनिएको दिन भन्दा ठीक हप्तादिनपछि मात्र अस्पताल आएको र भर्ना हुन अनुरोध गर्दा घर गएकोले जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी कुलबहादुर रावलको भनाइ छ। तर आफन्तले भने स्वास्थ्यकर्मीकै लापरवाहीले ज्यान गएको आरोप लगाएका थिए। तर स्वास्थ्यकर्मीले केकति कारणले मृत्यु भईरहेको छ, भन्ने बारे कुनै खोजी गरिरहेका छैनन्।

भदाैं २४ गते नै उच्च रक्तश्रावका कारण बुढीनन्दा नगरपालिका–१० पाण्डसैनकी ३५ वर्षीया निर्मला बोहराको मृत्यु भयो। बोहराको पनि जिल्ला अस्पतालमै ज्यान गएको जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र विश्वकर्माले जानकारी दिए। उनले दुई वर्षअघि अपरेशन गरेर जन्माएकी बोहराको दोस्रो बच्चा जन्म दिन बेथा लागेपछि मात्र अस्पताल पुगेकी हुन्। भ्याकुममार्फत सुत्केरी गराएपछि शिशुको मुटुले काम गर्न छोडेकाले शिशुलाई समेत बचाउन नसकेको उपचारमा संलग्न डा. टिकाराम राईले बताएका थिए।

संस्थागत सुत्केरी दर बढेपछि असुरक्षित अवस्था सिर्जना नभएको आरोप सर्वसाधारणको छ। तर जिल्ला अस्पतालका प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले भने स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको कमजोरी भन्दा स्वयम् परिवार र गर्भवतीको कारण समस्या आउने गरेको बताउँछन्।

नियमित गर्भजाँच नगराउने, खानेकुरा र आराममा ध्यान नदिने र लगातारको काममा मात्र जोतीने गर्दा कमजोरीकै कारण रक्तश्राप जस्ता समस्या देखिने र ज्योखिममा हुने गरेका छन्। उसोत प्रदेश सरकारले आर्थिक वर्ष ७५/७६ मा तीन जनाको हेलिकप्टरबाट उद्दार गरि बचाएको छ।

जिल्लामा सुत्केरी गराउने कार्य संभव नभएपछि बुढीनन्दा नगरपालिका ३ का ४० वर्षकी सेतु ल्वार, स्वामिकात्तिक गाउँपालिकाका १ की २२ वर्षकी रजनी विक र खप्तड छेडेदह गाउँपालिका १ की २२ वर्षकी कल्पना विकको उद्दार गरिएको छ। जिल्ला अस्पतालमा सुत्केरी मृत्यु भएको एकीन तथ्याकं नभएपनि २०७० पछि मात्र १० जना बढीकको ज्यान गएको बताइएको छ।

स्वास्थ्य संस्था टाढा हुने र नियमित गर्भजाँच गर्न नसकिने अवस्था एकातिर छ, भने अर्कोतिर सचेतनाको कमीले पनि महिलाको ज्यान खतरामा रहने गरेको छ। सर्वसाधारणले स्वास्थ्य संस्थामै सुरक्षित महशुस गर्ने अवस्था नरहेको बताएपनि स्वास्थ्यकर्मी त्यस कुरालाई मान्ने पक्षमा भने छैनन्। पर्याप्त मात्रामा औजार उपकरण र औषधी नहुँदा समस्या हुने गरेपनि गर्भवती आमाको पनि कमजोरी रहेको छ।  

 

प्रकाशित: ११ मंसिर २०७६ ०८:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App