खोटाङ- नेपाली भूमी अतिक्रणको विरोधमा खोटाङका शिक्षकले विरोध -याली निकालेको छ। भारतले हेपाहा दृष्टिकासाथ नेपाली भूमीलाई आफ्नो नक्साभित्र समाबेस गरेको विरोधमा नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठनले शुक्रबार दिक्तेलमा विरोध -याली निकालेको हो।
‘नेपाली भूमी अतिक्रमणको विरोध गरौं, राष्ट्रिय स्वाभिमान र अखण्डताका लागि एक जुट होऔं’ नारा लेखिएको कालो व्यानर सहित दिक्तेलको रत्नपार्कबाट सुरु भएको शिक्षक/शिक्षिकाको विरोध -यालीले दिक्तेल बजार परिक्रमा गरेको थियो। भारतले नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई आफ्नो नक्साभित्र समावेश गरेर सिमानामा अतिक्रमण गरेको बिरोधमा -याली निकालिएको शिक्षक संगठनले बताएका छन्।
अतिक्रमणमा परेका नेपाली भूमी फिर्ताको माग गर्दै सत्तारुढ दल निकट दुई शिक्षक संगठनले ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे, देशले रगत मागे, गाउँछ गीत नेपाली, जाग चम्क लम्क हे’ लगायतका देशभक्ती भावका स्वदेश गान घन्काएर विरोध -याली निकालेका हुन्।
नेपाली भूमी फिर्ता गर्नका लागि कुटनैतिक पहल गर्न माग
नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठनले अतिक्रमित नेपाली भूमी फिर्ता गर्नका लागि कुटनैतिक तथा कानूनी प्रकृया अगाडि बढाउन नेपाल सरकार समक्ष माग गरेका छन्। दिक्तेल बजारमा विरोध -याली निकालेपछि जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै शिक्षक संगठनले लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायतका नेपाली भूमी फिर्ताका लागि पहल बढाउन नेपाल सरकारको ध्यानाकर्षण गराएका हुन्।
भूमी अतिक्रमण कुनै पनि स्वाभिमानी नेपालीलाई मान्य नहुने भन्दै शिक्षक संगठनले जिल्लाका राजनैतिक दल र जिल्ला समन्वय समितिलाई बोधार्थ दिएको छ। प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायलाई ज्ञापनपत्र बुझाएपछि जिल्ला समन्वय समितिको प्रांगणमा आयोजित कोणसभामा नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष मनकाजी राई, एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष कृष्ण गुरुङलगायतले भारतीय हस्तक्षेपको चर्को बिरोध गरेका थिए।
भारतीय हस्तक्षेपको विरोधमा कात्तिक २५ गते नेविसंघको दिक्तेल बहुमुखी क्याम्पस ईकाई समितिले विरोध जुलुस प्रदर्शन गरेको थियो। यस्तै, कात्तिक २३ गते जिल्लाका साहित्यकारले पनि सडकमै कविता वाचन गरेका थिए।
प्रकाशित: २९ कार्तिक २०७६ ०९:१७ शुक्रबार