१७ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

२५ मिटरको पुल बनाउन आठ वर्ष

धादिङको थाक्रेस्थित महेशखोलामाथि निर्माण गरिएको पक्की पुल।

धादिङ - आठ वर्षको प्रतीक्षापछि पृथ्वी राजमार्गको छेउमा रहेको महेशखोलामा निर्मित पुल सञ्चालनमा आएको छ। जिल्लाको थाक्रे गाउँपालिका महादेवबेंसीस्थित महेश खोलामाथि निर्माण गरिएको पुल ठेकेदारको लापरबाही र ढिलासुस्तीका कारण अलपत्र थियो। दुई चरणमा दुईवटा ठेकेदार कम्पनीमार्फत २५ मिटर लम्बाइको पुल आठ वर्षमा निर्माण सम्पन्न भएको हो।

आर्थिक वर्ष २०६८÷६९ मा डिभिजन सडक कार्यालय भरतपुरसँग पुल निर्माणका लागि काठमाडौंस्थित इसान कन्स्ट्रक्सन प्रालिले जिम्मा लिएको थियो। पक्की मोटरेबल पुल एक करोड ३० लाख लागतमा निर्माण गर्न इसानले सम्झौता गरेको थियो। सम्झौता गरेको ६ वर्षमा पुल ढलान गर्न लगाइएका फर्मासमेत बर्खामा बाढीले बगाएपछि निर्माण कार्य अलपत्र बनेको थियो।

निर्माण थालिएको ६ वर्षमा पनि सम्पन्न नभएपछि सांसदलगायतका जनप्रतिनिधिलाई गुहारेको थाक्रेका रामचन्द्र रुपाखेतीले बताए। ‘पुलको ढलान सकिसकेको र दायाँबायाँ बार लगाउन मात्र बाँकी थियो। तर पुल सञ्चालन गर्न कसैले पनि वास्ता नगरेपछि हामीले दबाब दियौं,’ उनले भने, ‘स्थानीयको गुनासोपछि आठ वर्षमा बल्ल पुल बन्यो।’

पुल निर्माण अलपत्र पारेर ठेकेदार फरार भएपछि सडक विभागले इसान कन्स्ट्रक्सन कम्पनीलाई कालो सूचीमा राखेको छ।

ठेक्काको जिम्मा पाएको इसान कन्स्ट्रक्सनका ठेकेदारले नै पैसा खाएर भागेको स्थानीयको आरोप छ। सुरुमा पुल बनाउन भारतबाट कामदार ल्याइएको थियो तर कामदारलाई समेत पैसा नदिई ठेकेदार फरार भएपछि स्थानीयले पैसा उठाएर कामदारलाई तलब दिएका थिए। पुल निर्माणका लागि बालुवा, सिमेन्ट, रडलगायतका सामग्री ल्याइएको पसलमा समेत पैसा तिर्न बाँकी रहेको स्थानीयले बताएका छन्। ठेकेदार फरार भएपछि सडक विभागले इसान कन्स्ट्रक्सन कम्पनीलाई कालो सूचीमा राखेको छ।

ठेक्का सम्झौता भएको दुई वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने उक्त पुल ६ वर्षमा पनि निर्माण सम्पन्न नभएपछि स्थानीयको दबाबपछि प्रतिनिधिसभा सांसद भूमि त्रिपाठीलगायतको टोलीले सडक विभागको कार्यालयमा दबाब दिएको थियो। दबाबपछि विभागको टोलीले अनुगमनसमेत गरेको थियो। पुल नभएका कारण वर्षामा आवतजावतमा समस्या हुने गरेको थियो।

एक वर्षअघि निहारिका निर्माण सेवा हेटौंडाले बाँकी कामको जिम्मा लिएर पुल सम्पन्न बनाएको हो। करिब ३८ लाख खर्च गरेर निहारिकाले निर्माण सम्पन्न गरेको ठेकेदार प्रतिनिधि नवराज रिजालले बताए। ‘आठ वर्षअघि निर्माण सुरु गरिएको पुल सञ्चालन भएको छ’, उनले भने।

उक्त पुल तरेर पुगिने गोगनपुर, कल्लेरीलगायतका स्थान तरकारीको पकेट क्षेत्रका रुपमा चिनिन्छन्। पक्की पुल हुँदै महेशखोला पारितिरबाट दैनिक तीनदेखि १२ टनसम्म तरकारी काठमाडौंको कालीमाटी पुग्ने गरेको स्थानीयले बताएका छन्।

प्रकाशित: १० भाद्र २०७६ ०१:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App