१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

चट्याङ लागेर ६ जनाको मृत्यु

दाङ – चट्याङ लागेर दाङ र रुपन्देहीमा गरी ६ जनाको मृत्यु भएको छ। तीमध्ये तीनजना बालक छन्। दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ मौरीघाटमा मंगलबार बेलुका परेको चट्याङ लागेर तीन बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ। प्रहरी नायब निरीक्षक रत्नबहादुर खत्रीका अनुसार मौरीघाटका १२ वर्षीय साजन चौधरी, १३ वर्षीय विवेक चौधरी र १० वर्षीय रमित चौधरीको मत्यु भएको हो।

चट्याङ लागेर सोही गाउँका ८ वर्षीय अविनाश चौधरी घाइते भएका छन्। उनको लमही अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार एकै गाउँका यी बालक मौरीघाट माध्यमिक विद्यालय परिसरनजिकै रहेको जामुनको रुखमुनि जामुन खाँदै थिए। बेलुका साढे ६ बजेतिर एक्कासि चट्याङ लागेर चारैजना ढलेका थिए। उनीहरुमध्ये अविनाशको अवस्था मात्रै सामान्य थियो भने अन्य तीनजना अचेत अवस्थामा थिए। ‘यी बालकहरु खैल्दै जामुन खाँदै गरेका रहेछन्’, खत्रीले भने, ‘त्यही क्रममा बेलुका साढे ६ बजेतिर चट्याङ लागेको रहेछ।’

अचेत अवस्थामा रहेका तीनजनालाई तत्काल लमही अस्पतालमा उपचारका लागि ल्याइएको थियो। अस्पतालले उनीहरु तीनैजनालाई मृत घोषणा गरेको प्रहरी नायब निरीक्षक खत्रीले जानकारी दिए।

यस्तै रुपन्देहीमा पनि तीनजनाको चट्याङ लागेर मृत्यु भएको बुटवलस्थित नागरिक संवाददाताले जनाएका छन्। चट्याङबाट गैडहवा गाउँपालिका ७ का २५ वर्षीय भगवानदास लोध, कञ्चन गाँउपालिका २ का ६० वर्षीय नन्दराम अर्याल र सैनामैना नगरपालिका ७ का ६२ वर्षीय चन्द्रबहादुर विकको मृत्यु भएको हो। साँझ ६ बजेपछिको समयमा खेतमा काम गरिरहेका बेला उनीहरुलाइ चट्याङ लागेको र उपचारकालागि लैजाँदै गर्दा मृत्यु भएको रुपन्देहीका प्रहरी प्रवक्ता धर्मराज भण्डारीले बताए।

चट्याङ लागेर तीनजना घाइते भएका छन्। घाइतेमध्ये सियारी गाउँपलिका २ की १४ वर्षीया ममता सहानीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार भइरहहेको छ। ममतालाई आफ्नै घरमा बसिरहेका बेला चट्याङ लागेको प्रहरीले जनाएको छ।

त्यस्तै चट्याङबाट घाइते सियारी ७ का ११ वर्षीय गौतम मल्लाह र १५ वर्षीय भोला मल्लाहको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। घरनजिकै चाउरमा खेलिरहेका गौतम र भोला पानी परेपछि रुखमुनि ओत लाग्दा चट्याङ लागेर घाइते भएका हुन्।

प्रकाशित: ११ असार २०७६ ०१:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App