१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

निष्पक्ष छानबिन गर्न टिआईको माग

काठमाडौं – सार्वजनिक जग्गा व्यक्तिले कब्जा गरेको विषयमा कसैको दबाब र प्रभावमा नपरी अनुसन्धान गर्न ट्रान्सपरेन्सी इन्टरनेसनल ९टिआई० नेपालले सरकारसँग माग गरेको छ । बालुवाटारस्थित ललितानिवासको एक सय १३ रोपनी सरकारी जग्गा कर्मचारी, भूमाफिया, राजनीतिक कार्यकर्तासमेतको मिलिभगतमा व्यक्तिको नाममा दर्ता गराई हडप्ने कार्यमा भ्रष्टाचार भएको भन्दै टिआईले छानबिन माग गरेको हो ।

पूर्वसचिव शारदाप्रसाद त्रिताल नेतृत्वको जाँचबुझ समितिले ललितानिवास जग्गा प्रकरणमा अनियमितता तथा भ्रष्टाचार भएको ठहर गर्दै त्यसमा संलग्नको नामसमेत किटी कानुनी कारबाहीको लागि सिफारिस गरेको उल्लेख गर्दै टिआईले छिट्टै अनुसन्धान गर्न आग्रह छ ।

टिआईले त्यस प्रकरणमा मुछिएका राजनीतिक व्यक्तिलाई जोगाउने उद्देश्यले अभिव्यक्ति आएको भन्दै आपत्ति जनाएको छ । बालुवाटारको जग्गामा मुछिएका नेकपा महासचिव एवं पूर्वमन्त्री विष्णु पौडेललाई जोगाउने प्रयास भइरहेकोमा टिआईले आपत्ति जनाएको छ । टिआईका अध्यक्ष खेमराज रेग्मीद्वारा जारी विज्ञप्तिमा पौडेलको नाम उल्लेख नगरी सरकारसम्बद्ध राजनीतिक दलका पदाधिकारी जोगाउन खोजिएको उल्लेख गरिएको छ । ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमेतले अनुसन्धान प्रक्रिया अगाडि बढाइरहेकाले सरकारसम्बद्ध राजनीतिक दलका एक पदाधिकारीलाई कानुनी कारबाहीबाट जोगाउने उद्देश्यले निर्दोष रहेको भनी कहिले मन्त्री, कहिले प्रधानमन्त्रीज्यूले अभिव्यक्ति दिइरहेकोबाट अनुसन्धानमा प्रभाव पार्न खोजिएको स्पष्ट देखिन्छ’, विज्ञप्तिमा उल्लेख छ ।

अनुसन्धान तथा न्यायिक प्रक्रिया अघि बढाउन अनुकूल वातावरण सिर्जना गर्नुपर्ने दायित्व बोकेका मन्त्री सम्भावित अभियुक्तका पक्षमा खुलेर बचाउ गर्न लाग्नु सुशासनका दृष्टिले आपत्तिजनक भएको टिआईले जनाएको छ ।

प्रकाशित: २६ वैशाख २०७६ ०३:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App