८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

डोल्पामा मनाइयो चैती

डोल्पा- डोल्पा काईके गाउँपालिकाका तराली मगरहरुले यो वर्षको तिचुरोङ अर्थात चैती पर्व मनाएका छन्। प्रत्येक वर्ष बैशाखको दोस्रो सातामा मनाईने तिचुरोङ अर्थात चैती पर्व काईके क्षेत्रका तराली मगरहरुले आपसी एकता सद्भाव र आत्मियता साटासाट गर्ने पर्वको रुपमा मनाउने गर्छन्।

जिल्लाको काइके गाउँपालिकाका तिचुरोङ क्षेत्रमा मनाइने यो चैती पर्व एक बिशेष महत्व बोकेको पर्वको रुपमा लिइन्छ।

तिब्बतीयन लामा धर्मको पात्रो अनुसार चैत महिनाको अन्तिममा मनाइने गरेको भएपनि काइकेबासीहरुले बैशाखको दोस्रो सातामा मनाउने गर्छन्।

यस पर्वको समयमा ठूलो गाउँ भएमा दुई घरधुरी र सानो गाउँ भएमा एक घरधुरी नयाँ चैतीस्वरुप रुपधारण गर्ने परम्परा छ।

पहिलो वर्ष नयाँ चैतीको रुप धारण गरेको घरको मुली स्वत अर्का वर्ष पुरानो चैती भइसक्ने परम्परा छ।

पहिलो वर्ष नयाँ चैती बनेको ब्यक्ति अर्को वर्ष पुरानो चैती बन्ने र एक घरले दुई वर्ष चैती बन्न पाउने प्रचलन छ।

पहिलो दिनमा चैती रुप धारण गरेको ब्यक्तिको परिवार खार्चीको रुपमा बिशेष प्रकारको सातु,घिउ,चिनी मिलाएर बनाइएको मिठाई खुवाउने गरिन्छ।

दोस्रो दिनलाई रुङ्गा भनिन्छ। यस दिनमा सोजजमरा मिलाउने र  बेलुकी ७ बजेदेखि ८ बजे सम्म नयाँ चैतीको रुपधारण गरेको परिवार परम्परागत भेषभुषामा सजिएर पुरानो चैतीवालाहरुको घरको छतमा जम्मा हुने गर्छन्।

पुरानो चैती अर्थात अघिल्लो वर्ष चैती बनिसकेकाहरुले नयाँ चैती बनेर आएकालाई स्वागत स्वरुप काँसको बटुकोमा घिउले सजावट गरेको बिशेष प्रकारको प्रसाद चढाउने गर्छन्।

सबै गाउँलेहरुको स्वागत सत्कार ग्रहण पछि सबै गाउँलेहरुलाई पुरानो चैती बनेका घरधुरीले पन्चपरिकारले बनेका खानेकुरा खुवाएर सम्मान गर्ने गरिएको काईके गाउँपालिका ३ की  सुकर बुढाले  बताइन।

पुरानो चैतीवाला गाउँलेहरुको छतमा झण्डै दुई घण्टाको बिशेष पूजाआजा र सम्मान सत्कार पछि नयाँ चैतीवालाको परिवार आधा घन्टा अगावै घरमा गएर पाहुनाहरुको सत्कारको लागि तयारी गर्ने गर्छन्।

सबै गाउँलेहरुले नयाँ चैतीलाई काँधमा राखेर बाजागाजा सहित घर भित्र्याउने चलन छ। यो वर्षको चैतीमा नयाँ चैतीको रुप धारणा गर्ने अवसर स्थानीय जगबहादुर बुढामगरले पाएका थिए।

रुङ्गाको भोली पल्ट नाङ्ककोरा हुन्छ। यस दिनमा गाउँमा नाचगान गरेर रमाईलो गरि  मनाउने  गरिन्छ।

तेस्रो दिनमा सबै गाउँलेहरु र टाढा टाढाबाट आएका इष्टमित्र आफन्त दिदिबहिनीहरुलाई बोका काटेर बिशेष खानपानका साथ नयाँ कपडा उपहार दिएर बिदा गर्ने गरिन्छ।

चैती(चितुरोङ) पर्व तराली मगरहरुको कुलदेवता च्याहोपता प्रति समर्पित भएर च्याहोपताको रुपधारण स्वरुप समाजिक ,एकता सद्भाव र भाईचारा कायम गर्ने पर्वको रुपमा मनाउने गरिएको काइके गाउँपालिकाका स्थानीय जगबहादुर बुढामगरले बताए।

 

प्रकाशित: १८ वैशाख २०७६ ०८:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App