६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

छात्रालाई साइकल उपहार

साइकल पाएपछि कक्षा ८ का छात्रा। तस्बिरः मदन /नागरिक

रौतहट –  रौतहटको परोहा नगरपालिकाले निम्न माध्यमिक र माध्यमिक तहमा अध्ययनरत सम्पूर्ण छात्रालाई साइकल उपहार दिने अभियान नै थालेको छ। गाउँभन्दा टाढा पढ्न जानुपर्दा कक्षा छुट्ने गरेको विषयलाई गम्भीरतापूर्वक लिएर नगरपालिकाले छात्रालाई साइकल दिने अभियान थालेको हो।

प्रदेश २ सरकारले पनि ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियान नै चलाएकाले छात्रा शिक्षामा नगरपालिकाले पनि विशेष जोड दिएको मेयर शेख वकिलले बताए। यस क्रममा नगरभित्रका विद्यालयमा पढ्ने कक्षा ८ का सबै १ सय ७४ छात्रालाई लौकाहास्थित ब्रह्मज्योति माध्यमिक विद्यालयमा बोलाएर साइकल उपहार दिइएको उनले जानकारी दिए। नगरस्तरीय वार्षिक परीक्षाको तयारी गरिरहेका छात्राहरूलाई समयमा विद्यालय पुग्न तथा चाँडै घर फर्केर शिक्षकले दिएका गृहकार्य गर्न सजिलो होस् भन्ने उद्देश्यले साइकल प्रदान गरिएको हो।

छात्रालाई साइकल प्रदान गर्दै नेपाली कांग्रेसका नेता रामचन्द्र गिरीले यसले अब बालिका शिक्षाको गुणस्तर सुधार हुने विश्वास व्यक्त गरे। यसअघि गत वर्ष नगरपालिकाले कक्षा ९ का छात्राहरूलाई साइकल दिएको थियो। साइकल पाएपछि पढ्न आउजाउ गर्न सजिलो भएको छात्राहरूले बताएका छन्।

प्रकाशित: २९ माघ २०७५ ०३:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App