६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

भत्काइए ५० घरटहरा

सर्लाही - मूर्तिया वन व्यवस्थापन क्षेत्रअन्तर्गत नयाँरोड–बरहथवा सडकखण्डभन्दा पश्चिमतर्फ धरहरामा आफ्नो जमिन अतिक्रमण गरेको भन्दै सागरनाथ वन विकास परियोजनाले सर्वसाधारणका ५० घरटहरा भत्काएको छ। ‘मान्छेचाहिँ नबस्ने जमिन मात्र ओगट्ने हिसाबले बनाइएका घरटहरा भत्काएका हौं,’ परियोजना प्रमुख देवेशमणि त्रिपाठीले भने, ‘अतिक्रमण गरी बनाइएका त्यस्ता सबै घरटहरा भत्काउने अभियान चलाउनेछौं।’ अतिक्रमण गरी घरटहरा निर्माण गर्नेहरूले केही वर्षअघि कार्यालयले वृक्षरोपण गरेको सयौं मसलाका बिरुवासमेत उखेलेर र काटेर नष्ट पारेको त्रिपाठीले आरोप लगाए।

मसला, टिक, साल, सिमललगायत रूखको घना जंगल रहेको परियोजनाको दुई हजार हेक्टरभन्दा बढी क्षेत्रफल जमिन अतिक्रमण गरी २२ सयभन्दा बढी घरटहरा बनाएर सर्वसाधारणले खेती सुरु गरेको परियोजनाले जनाएको छ। उनका अनुसार परियोजना क्षेत्रभित्र करिब २२ सय घरटहरा छन्। कार्यालयले पटकपटक वन क्षेत्रभित्र घरटहरा नबनाउन र बनाइएका घरटहरा हटाउन सूचित गरे पनि अटेर गरेकाले नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय प्रशासनलगायतको सहयोगमा घरटहरा नष्ट पारिएको परियोजनाको भनाइ छ।

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भने जाडोयाममा गरिब नागरिकको बास खोसेको भन्दै घरटहरा नष्ट गरेको घटनाप्रति विरोध प्रकट गरेको छ। मूर्तिया वन व्यवस्थापन शाखाअन्तर्गत दुई हजार सात सय ४१ हेक्टर क्षेत्रफलमा २०६४ सालयता तस्कर समूहले काट्न थालेकाले वन क्षेत्र उजाड बन्दै गएको बताइएको छ। उक्त फँडानी कार्यमा परियोजनाकै कर्मचारीहरूको समेत मिलेमतो रहेको आरोप लाग्दै आएको छ। त्यहाँ सर्लाहीलगायत सिन्धुली, मकवानपुर, रौतहट, महोत्तरीका एवं भारतीय नागरिकहरूले समेत घरटहरा निर्माण गर्दै बसोबास एव खेतीपाती सुरु गरेको स्थानीयवासीको भनाइ छ। दुई वर्षअघि परियोजनाले झन्डै सात सय हेक्टरमा बालीनाली नष्ट पारेर मसलाको बिरुवा रोपेको थियो।

प्रकाशित: १५ पुस २०७५ ०१:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App