१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

देशैभर वर्षा, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौं - मनसुन न्यूनचापीय प्रणालीको प्रभावले देशैभर बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षा भएको छ। 

मनसुन न्यूनचापीय रेखा नेपाल नजिक (खासगरी मध्य र पश्चिम क्षेत्र) भएकाले काठमाडौं उपत्यकासहित देशभर बदली र वर्षा भएको मौसविद मीनकुमार अर्यालले जानकारी दिए। उनले आज राति (साेमवार) काठमाडौं सहित मध्य र पश्चिमका एक/दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाे बताए। बुधबारदेखि मौसममा क्रमिक सुधार आउने र वर्षा भए पनि भारी वर्षाको सम्भावना नरहेको मौसमविद अर्यालको भनाइ छ। 

मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा वर्षा हुने तथा पश्चिमी क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाे बताएकाे छ। 

मंगलबार दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रही देशका मध्य र पश्चिमका धेरै स्थानमा र पूर्वका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना छ। राति पश्चिम तथा मध्यका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। 

साेमवार काठमाडौं उपत्यकासहित देशैभर बदली र वर्षा भएको छ। महाशाखाको विवरणअनुसार आज काठमाडौंमा ४४ मिलिमिटर वर्षा भएको छ। सबैभन्दा धेरै नेपालगञ्जमा ६४, ओखलढुङ्गामा ५६ र वीरेन्द्रनगरमा ४६ मिलिमिटर वर्षा भएको छ। त्यस्तै सिमरामा ३६, पोखरामा २६, दाङमा २५ र विराटनगरमा १९ मिलिमिटर वर्षा भएको छ। लगातारको वर्षाका कारण आज काठमाडौं र ललितपुरका लुभू, गोदावरी खोलालगायत केही स्थानमा डुबान तथा बागमती, विष्णुमती, इच्छुमती, मनोहरा र हनुमन्तेमा पानीको बहाव बढेको छ। 

प्रमुख नदी तथा चुरे र पहाडबाट बहने नदीहरुमा बाढीको सम्भावना 
लगातारको वर्षाका कारण देशका प्रमुख नदी तथा चुरे र पहाडबाट बहने नदीहरुमा बाढीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, जलविज्ञान महाशाखा/बाढी पूर्वानुमान शाखाले जनाएको छ। 

शाखाले साेमवार तीन दिनसम्मको बाढी बुलेटिन निकालेर कमला, बागमती, कन्काई लगायतका नदीमा बहाब सतर्कता तह आसपास पुग्ने पूर्वानुमान भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको हो। 

दाङ, बाँके, बर्दिया, कैलाली, सुर्खेत, झापा, मोरङ, सिन्धुलीलगायत जिल्लाको चुरे र पहाडबाट बहने नदीहरुमा आकस्मिक बाढीको सम्भावना भएकाले सर्तक रहन आग्रह गरिएको छ। रासस
 

प्रकाशित: २१ श्रावण २०७५ १२:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App