१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

मिचिएको जग्गा खोज्दै तालबाराही स्कुल

पोखरा- पोखरा बैदामस्थित तालबाराही माविले विद्यालयको नाममा रहेको करोडौं मूल्यको जग्गा मिचिएको गुनासो गरेको छ। विद्यालयको जग्गा मिचेर आसपासका जग्गाधनीले पूर्वाधार बनाएको भन्दै फिर्ता गर्न माग गरेको छ। आसपासका जग्गाधनी र सडक विस्तारका क्रममा जग्गा मिचिएको विद्यालयको भनाइ छ।

विद्यालयको नाममा डिहिकोपाटनमा ११ रोपनी ५ आना जग्गा रहेकोमा साढे ४ रोपनी जग्गा हराएको विद्यालयको गुनासो छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम शर्मा पहारीले मोटरबाटो विस्तार गर्दा र छिमेकीले जग्गा मिचेको बताए । जग्गा मिचिएको भन्दै विद्यालयले शुक्रबार पत्रकार सम्मेलन गरेर सर्वसाधारणले जग्गा फिर्ता गर्नुपर्ने बताएको छ।

पहारीका अनुसार विद्यालयलाई २०३७ सालमा तत्कालीन पञ्चायतले त्यो जग्गा उपलब्ध गराएको थियो। विद्यालयको नाममा रहेकोमध्ये साढे ४ रोपनी जग्गा हराएको उनले बताए । ‘हामीले नापजाँच गर्दा जम्मा ६ रोपनी १५ आना मात्र जग्गा भेटियो । बाँकी हराएको पुष्टि भएको हो,’ उनले भने, ‘मिचेका व्यक्तिले त्यहाँ पूर्वाधार बनाउन पनि दिएका छैनन्।’

विद्यालयले यसअघि उक्त जग्गामा २०६३ मा १२ वटा सटर बनाएर भाडामा लगाएको छ। ती सटरबाट मासिक २ लाख ३७ हजार रुपैयाँ विद्यालयलाई भाडा आउँछ। बचेको जग्गामा यो पटक अस्थायी ट्रस बनाएर भाडामा लगाउन तयारी गरेपछि बल्ल जग्गा मिचिएको थाहा भएको उनले बताए। ‘ट्रस बनाएर विद्यालयका लागि आम्दानी दिलाउने र बाँकी रहेको जग्गा संरक्षणका लागि तारबार गर्ने तयारी गरेपछि बल्ल मिचिएको थाहा भएको हो,’ उनले भने, ‘यो बीचमा व्यवस्थापन समितिले ध्यान नदिएकै हो। जग्गा सही रूपमा रहेको हुनसक्ने भन्दै उत्ति चासो नपुगेको हो।’

जग्गामा पूर्वाधार बनाउनका लागि कोटेसन आह्वान गरेर निर्माण कम्पनीलाई काम गर्न दिँदा स्थानीयले विरोध गरेपछि बल्ल जग्गा हराएको थाहा भएको उनले बताए। नापजाँच गर्दा ६ रोपनी १५ आनामात्र देखिएको उनले बताए। ‘विरोध भएपछि विद्यालयले नापजाँच गर्दा पूरै जग्गा भेटिएन,’ उनले भने, ‘जग्गा खोज्दै जाँदा सडक बिस्तार र छिमेकीले मिचेको पत्ता लागेको छ।’

हराएको जग्गा खोजिदिन पोखरा–लेखनाथ महानगरसहित जग्गा रहेको वडा कार्यालयलाई समेत अनुरोध गरेको उनले बताए । विद्यालयमा अस्थायी शिक्षक आवश्यक परेको र थपिने शिक्षकका लागि रकम जोहो गर्नेगरी पूर्वाधार बनाउन खोजेको उनले बताए। पोखरा–लेखनाथ महानगर–६ का सदस्य विष्णु भट्टराईले हराएको जग्गा खोजी गरेर मात्र हालसाविक गर्ने बताए। ‘हालसाविक गर्दा पुराना जग्गा खोज्नु आवश्यक छ,’ उनले भने, ‘त्यसको प्रक्रिया पनि चलिरहेको छ।’ उनले जग्गाधनीले अरु मिच्ने स्वार्थले पूर्वाधार निर्माणमा बाधा अड्चन खडा गरेको पनि बताए।

व्यवस्थापन समितिका अनुसार अहिलेको समिति २०७३ मा मात्र आएको हो । यसअघिको व्यवस्थापन समितिले खोजी गर्न चासो नदेखाउँदा यो अवस्था आएको वर्तमान समितिका अध्यक्ष पहारीको भनाइ छ। उनका अनुसार विद्यालयको जग्गा मिचेर अहिले पक्की सडक बनेको छ । सडकले करिब साढे ३ रोपनी जग्गा मिचेको उनले बताए । त्यसबाहेक स्थानीयले थप एक रोपनी जग्गा मिचेका छन् । उनका अनुसार अहिले त्यस क्षेत्रमा एक रोपनी जग्गाको मूल्य अहिले कम्तीमा ८ करोड रुपैयाँ पर्छ। ‘विद्यालयको जग्गा एकोहोरो मापदण्डमा परेको छ,’ उनले भने, ‘यसले विद्यालय जस्तो सार्वजनिक निकायलाई नोक्सान पुगेको छ ।’ बेलैमा व्यवस्थापन समितिले चासो नदेखाउँदा जग्गा खुम्चिएको उनले बताए।

विद्यालयकी प्रधानाध्यापक भद्रकाली लामिछानेले सडक विस्तार गर्दा पनि विद्यालयलाई सम्पर्क नगरी जग्गा मिचेको बताइन् । ‘व्यवस्थापन समितिले गरेको बेवस्ताको परिणाम अहिले भएको हो,’ उनले भनिन्। उनका अनुसार बाटो विस्तारका क्रममा आसपासका घरमुलीसँग रकम उठाए पनि विद्यालयले तिर्दैन भनेर मागिएको थिएन।

‘विद्यालयले बाटो विस्तारका लागि रकम दिँदैन भनेर जग्गा मिचेर लगियो,’ उनले भनिन्, ‘त्यसका विरुद्ध बोल्ने हाम्रो आँट भएन । स्थानीय तह पदाधिकारीविहीन हुँदा विद्यालयको पक्षमा बोलिदिने पनि कोही भएन ।’ ७५ वर्षअघि स्थापित उक्त विद्यालयमा अहिले १२ कक्षासम्म अध्यापन हुन्छ । सबैगरी ९ सयभन्दा बढी विद्यार्थी त्यहाँ अध्ययनरत छन्।

प्रकाशित: १९ श्रावण २०७५ ११:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App