१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बाढीको त्रासमा वाग्मती किनारका बासिन्दा

गत वर्ष वाग्मतीको बाढी पसेर साता दिनसम्म डुबानमा परेको धनकौलको ढापटोल। तस्बिर : टंक /नागरिक

सर्लाही - आकाशमा कालो बादल मडारिनेबित्तिकै जिल्लाको धनकौल गाउँपालिका ढापटोल निवासी दिनेश महतो डरले थर्कमान हुन्छन्। ठूलो पानी प-यो भने गाउँ नै डुब्ने हो की भन्ने त्रासले उनी भयभित भएका हुन्।

गत वर्ष साउन अन्तिम साता अविरल वर्षाका कारण उनको गाउँ डुबानमा परेको थियो। पश्चिम वाग्मती नदी तथा पूर्वतर्फ गाउँ छेउमै बग्ने मनुष्मारा खोलाका कारण ढापटोलसहित महिनाथपुर, हरकठवालगायत आधा दर्जन गाउँ डुबान एवं कटानको चपेटामा परेका थिए। गाउँदेखि पश्चिमको बाँध फुटाएर मानपुर, धनकौल, महिनाथपुमा वाग्मतीको बाढी पसेको थियो। पूर्वपट्टी रहेको मनुष्मारा खोलामा समेत ठूलो बाढी आउँदा गाउँ जलमग्न भएको थियो।

गत वर्ष चार ठाउँमा बाँध भत्काएर वाग्मतीको बाढी पसेको ठाउँमा केही दिनअघि मात्र माटो हुरिएकाले अब आउने बाढीले सजिलै भत्काउने अवस्था छ।

गत वर्षको जस्तै आपत् आइलाग्ने हो कि भनेर ढापटोलका महतोसहित वाग्मती किनारका बासिन्दा यतिबेला त्रसित छन्। अझ रातको समयमा बाढी पस्यो भने त बर्बादै हुन्छ भनेर नदी किनारका बासिन्दा भयभित छन्। ‘दिउँसो बाढी आए त थाहा हुन्छ, भाग्न पनि सकिन्छ,’ महतोले भने, ‘राति सुतेको बेला बाढी पस्यो भने त चौपट नै हुन्छ।’

गत वर्ष चार ठाउँमा बाँध भत्काएर वाग्मतीको बाढी पसेको ठाउँमा केही दिनअघि मात्र माटो हुरिएको छ। माटो मात्र हुरिएको र नयाँ भएकाले अत्यन्त कमजोर उक्त भागलाई अब आउने बाढीले सजिलै भत्काउने भन्दै स्थानीय बासिन्दा चिन्तित छन्। ‘गत वर्ष नै भत्किएको बाँधमा भर्खर मात्र माटो हुरिएको छ,’ हरकठवाका सुखाराम रायले भने, ‘ठूलो वर्षा भयो भने वाग्मती फेरि पस्न बेर छैन।’ गत वर्ष वाग्मती नदी गाउँ पस्दा ढापटोलका ५५ घर पूरै डुबेका थिए। त्यस्तै महिनाथपुरका सयौं घर डुबानमा परेका थिए।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी द्रोणप्रसाद पोखरेलले वर्षायाममा हुन सक्ने डुबान एवं कटानलाई लक्ष्य गरेर बाँध निर्माण गर्नुका साथै उद्धारका लागि तयारी गरिएको जानकारी दिए। ‘वाग्मती पस्न सक्ने ठाउँहरूमा बाँध भर्न लगाइसकिएको छ,’ उनले भने, ‘अन्य स्थानमा समेत बाढीबाट हुन सक्ने क्षति कम गर्न धेरै कामहरू भएका छन् ।’ त्यस्तै उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित तीनवटै सुरक्षा निकायलाई हाइअलर्ट अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए।

प्रकाशित: ३१ असार २०७५ ०१:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App