१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

कर्णालीकै पहिलो छुवाछुतमुक्त वाँफिकोट

छुवाछुतमुक्त कार्यक्रममा सहभागिहरु । तस्बिर : नागरिक

रुकुम पश्चिम– वाँफिकोट गाउँपालिका कर्णाली प्रदेशकै पहिलो गाउँपालिकाको रुपमा जातीय छुवाछुत मुक्त गाउँपालिका घोषणा भएको छ। जातीय छुवाछुत तथा सद्भावयुक्त क्षेत्र घोषणाको लागि आवश्यक सबै सूचक पुरा भएपछि वाँफिकोटलाई जातीय छुवाछुत मुक्त घोषणा गरिएको हो।

यहाँ ७० प्रतिशत भन्दा बढी छुवाछुतको अन्त्य भएको गाउँपालिकाले जनाएको छ। सार्वजनिक धारा, मन्दिर, विद्यालय, स्वास्थ्य चौकी लगायतका सर्वजनिक स्थानमा छुवाछुत नहरेको गाउँ कार्यपालिका सदस्य तथा दलित अधिकारकर्मी मनबहादुर वादीले बताए। कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावतले कर्णाली प्रदेशको पहिलो छुवाछुत तथा सद्भावयुक्त गाउँपालिका घोषणा गरेका हुन्। घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यसबाट अब कर्णाली प्रदेशका अन्य स्थानीय तहले पनि सिको गर्नुपर्ने बताए। जातकै नाममा हुने विभेद्को अन्त्य गर्नुपर्नेमा उनले जोड दिए। समाजमा रहेका यस्ता कुसंस्कारलाई अन्त्य गर्नको लागि सबै लाग्नु पर्ने उनले बताए।

गाउँपालिकाले यस गाउँपालिकामा अन्तरजातीय विवाह, दलित समुदाय भित्रको जातीय छुवाछुत, खानपान लगायतका सूचकहरुको सुष्म अध्ययन गरेको थियो। सबै सूचकहरु पुरा भएपछि गाउँपालिकालाई जातीय छुवाछुत मुक्त गाउँपालिकाका घोषणा गरिएको गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले जनाए। 

आगामी दिनमा गाउँपालिकाले निर्माण गरेका सूचक कसैले कार्यान्वयन नगरे कार्बाही गरिने उनको भनाई छ। गाउँपालिकाले दलित र गैरुदलितबीच सामुहिक भोज, सामूहिक मन्दिर पूजा, अन्तरक्रिया, गोष्ठी लगायतका कार्यक्रम सञ्चालन भएको थियो।

प्रकाशित: ६ असार २०७५ १२:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App