१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

‘फिल गुड’ पानीमा किरा भेटियो

गुड फिलको जारभित्र किरा । तस्बिर : नागरिक

धरान– पिउन योग्य पानी भन्दै बजारमा बिक्रीवितरण हुदै उपभोक्ताको घरमा पुगेको ‘फिल गुड’ नामक ब्राण्डको जारको पानीमा किरा भेटिएको छ। 

इटहरी २४ तरहरामा रहेको शिवगंगा जल उद्योगले उत्पादन गरेको जारको पानीमा किरा भेटिएको हो। धरानको वडा नं १८ का अध्यक्ष प्रविण राईले सोमबार पसलबाट किनेको जारको पानीमा किरा भेटिएको छ। सोमबार राती जारको पानी आफ्नो बुबाले पिउन लाग्दा किराहरु चलमलाएको देखेको अध्यक्ष राईले बताए। उनले यो ब्राण्डको पानी घर र वडा कार्यालयमा पनि प्रयोग गर्ने गरेका थिए। ‘हाम्रो बुबा विदेशबाट आउनु भएको छ, उहाँले पो पानी पिउनु पर्यो भनेर गिलासमा थाप्न लाग्दा जारमा किरा देख्नुभएछ,’ अध्यक्ष राईले भने, ‘उपभोक्ताको स्वास्थ्यमाथि लापरवाही।’ नेपालमा जथाभावीरुपमा पिउने पानी उत्पादनको स्वीकृति दिने निकायले कस्तो गुणस्तरको पानी उत्पादन गरिरहेको छ भनेर अनुगमन भने गर्दैन। त्यसैको परिणाम उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्ने पानी बजारमा खुलेआम बिक्रीवितरण भइरहेको छ। 

उद्योगले उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलवाड गरेको भन्दै वडाअध्यक्ष राईले मंगलबार इलाका प्रहरी कार्यालय धरानमा ठाडो निवेदन दिएका छन्। अध्यक्ष राईले निवेदन दिएपछि प्रहरीले धरानमा पानी बिक्री गरिरहेको शिवगंगा जल उद्योगको को १ च ९९ १८ नम्बरको पिकअप भेनलाई नियन्त्रणमा लिएको थियो। यो उद्योग आर्थिक बर्ष २०७१÷०७२ मा दर्ता भई पिउने पानी उत्पादन गरिरहेको छ। उद्योग सञ्चालक विकल दाहालले एक पटकलाई गल्ती भएको स्वीकार गर्दै नदोहोर्याउने र फेरि घटना दोहोरिए उद्योगै खारेज गर्ने लिखित प्रतिवद्धता जनाएपछि गाडी छोडिएको डिएसपी रामेश्वर पौडेलले बताए। ‘सिडियो साप, एसपी सापलाई पनि घटनाबारे जाहेर गरे। एउटा जारमा भेटिएको रहेछ, अब फेरी त्यस्तो भेटिए उद्योगै खारेज गर्ने गरी कागज गरेर छोड्यौं,’ डिएसपी पौडेलले भने, ‘एक पटकलाई सुधार गर्ने मौका दिनुस् भनेकोले मौका दिएको हो।’

उद्योग सञ्चालक दाहालले पनि उद्योग शुरु गरेको ५ बर्षमा अहिलेसम्म ग्राहक, उपभोक्ताहरुबाट यस्तो कम्प्लेन नआएको भन्दै यो नै पहिलो घटना भएको दाबी गरे। आफुहरुले ठुलो लगानी गरेर उद्योग गरेको भन्दै दाहालले के कारणले जारमा किरा भेटियो भनेर अचम्म लागेको बताए। ‘५ बर्ष भयो, यस्तो कम्प्लेन आएको थिएन। हामी जारलाई पनि राम्रोसँग सफा गछौं, हामी आफै पनि यही पानी पिउने हो। त्यसैले लापरवाही गर्ने कुरा नै छैन,’ उनले भने, ‘एक पटकलाई भइहाल्यो, अब यस्तो मिस्टेक हुँदैन। म कर्मचारीलाई पनि अझै कडा गर्छु।’

प्रकाशित: ८ जेष्ठ २०७५ १३:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App