१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सर्लाही दिनभर ‘विद्युतमुक्त’

सर्लाही – सोमबारबाट मुलुक लोडसेडिङ मुक्त भएको घोषणा गरिएको छ। तर सर्लाही भने सरकारी घोषणाविपरीत सोमबार दिनभर ‘बिजुलीमुक्त’ रह्यो। दिनभर विद्युत अवरुद्ध हुँदा उपभोक्ता मर्कामा परेका छन्। ‘दिनभर बिजुली नहुँदा रेडियो नै बन्द हुने अवस्था आयो,’ कर्मैयास्थित वागमती एफएमका स्टेशन म्यानेजर श्रवण थापाले भने, ‘सोलारले समेत नथेगेपछि रोडियो चलाउनै कठिन भयो।’

त्यस्तै विद्युत नहुँदा जिल्लास्थित उद्योग कलकारखाना समेत दिनभर प्रभावित भए। मुलुक लोडसेडिङमुक्त भएकै दिनभर बिजुली गएपछि सर्लाहीका उपभोक्ताहरू छक्क परेका छन्। आइतबार राति आएको हुरीबतासले रूख लडाउँदा विद्युत पोलका तारहरू भुइँमा लत्रिएका कारण दिनभर विद्युत बन्द भएको नेपाल विद्युत प्राधिकरण लालबन्दी वितरण केन्द्रका इन्जिनियर नविन यादवले जानकारी दिए।

‘रौतहटको चन्द्रनिगाहपुरस्थित सवस्टेशनबाट हरिपुर तानिएको हाइटेन्सन लाइनका तारहरू छ÷सात ठाउँमा रूख लडेर भुइँमा खसालेको छ,’ उनले सोमबार दिउँसो नागरिकसँग भने, ‘दिनभर लगाएर चन्द्रनिगाहपुर र वागमती बीचको हाइटेन्सन लाइनको पोलमा तार चढायौं र अब ग्रामीण भेगमा लडेका पोल तथा खसेका तारहरूको मर्मतसंभार जारी छ।’

सानो पानी पर्ने वा हावा हुरी बतास आउनेबित्तिकै बिजुली जाने सर्लाहीमा सोमबार बिहान भीषण हुरीबतास आएपछि विद्युत बन्द भएको हो। ‘आकाशमा बादल मडारिनेबित्तिकै सर्लाहीमा बिजुली आउने जाने भइहाल्छ,’ हरिवनका व्यवसायी विनोद महतले व्यंग्य गरे, ‘त्यसमाथि राति ठूलै हुरीबतास चल्यो, अनि त बिजुलीलाई कर्मकाण्ड पुगिहाल्यो नि, यस्तो हालतले हाम्रो सर्लाही त के लोडसेडिङमुक्त होला र?’

प्रकाशित: १ जेष्ठ २०७५ ०२:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App