१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

वर्षाैंदेखि नदीकै पानी पिउन बाध्य

सेती नदीको पानी भर्दै ढुंगाडका स्थानीय फोटोः बिरा/नागरिक

बैतडी - बैतडीको सिगास गाउँपालिका–५, ढुंगाडका बासिन्दा वर्षैदेखि सेती नदीको फोहर पानी पिउन बाध्य छन् । साढे तीन दशकदेखि चर्चामा रहेको पश्चिम सेती जलविद्युत् परियोजनाका कारण गाउँमा खानेपानी योजना निर्माण नहँुदा उनीहरू नदीकै पानी पिउन बाध्य भएका हुन् ।

पश्चिम सेती परियोजना बनेपछि डुबान क्षेत्रमा पर्ने भन्दै खानेपानी आयोजना नबनेपछि लामो समयदेखि धमिलो पानी पिउँदै आएको स्थानीय बासिन्दा बताउँछन् । नदीको फोहर पानी पिउँदा विभिन्न रोगका संक्रमण देखिन थालेका छन् । लामो समयदेखि चर्चामा रहेको परियोजना नबन्दा यहाँका अन्य विकास निर्माण समेत रोकिएका छन् ।स्थानीयका अनुसार एक दशकअघि तत्कालीन गाविसले पाइप मात्र दिएको थियो । ‘गाविसले पाइप मात्र दियो,’ स्थानीय बीरबहादुर चन्दले भने, ‘नजिक पानीका कुनै मुहान छैनन्, यही नदीको फोहर पानी पिउन बाध्य छौं ।’

ढुंगाडमा रहेका करिब सय परिवार वर्षाैंदेखि नदीकै फोहर पानी प्रयोग गर्न बाध्य छन् । प्रदूषित पानीकै कारण झाडापखाला, आउँ तथा छालासम्बन्धी रोग बढ्दै गएको ढुंगाड स्वास्थ्य चौकीका प्रमुख योगेन्द्रबहादुर महराले बताए । ‘स्वास्थ्य संस्थामा फोहर पानीका कारण लाग्ने रोगका बिरामी बढी आउने गरेका छन्,’ उनले भने, ‘पानी शुद्धीकरण वा उमालेर पिउन सल्लाह दिने गरे पनि सबैले त्यसो नगर्दा रोग लाग्ने गरेको छ।’

गत वर्ष पर्वतीय जलाधारको जलवायु परिवर्तन समानुकूलन आयोजनाले जिल्ला भू–संरक्षण कार्यालय मार्फत् सञ्चालन गरिरहेको सेती जलाधार कार्यक्रमले खानेपानी ट्यांकी त बनाएको छ । तर धारा निर्माण नगरिदिँदा नदीकै पानी प्रयोग गर्न बाध्य भएको स्थानीय हर्का चन्दले गुनासो गरिन् । खानेपानी व्यवस्थित हुन नसक्दा नदीकै पानीमा निर्भर रहेको उनको भनाइ छ ।

निर्वाचनका बेला तथा सरकार फेरिँदा सेती परियोजना बनाउने खुब चर्चा हुन्छ । तर काम भने कहिले अघि बढ्न नसकेको स्थानीय बासिन्दाको गुनासो छ । स्थानीय बासिन्दा भन्छन्, ‘यही परियोजनाको नाम लिएर धेरै नेताले भोट मागे तर काम गरेनन् ।’ अब त सरकारले बनाउँदैनौ भनिदिए हुन्थ्योजस्तो लाग्न थालेको स्थानीय रणबहादुर चन्दले बताए ।
२०३९ सालदेखि हालसम्म पश्चिम सेती नदीमा विद्युत् आयोजना निर्माण गर्ने प्रस्तावसहित विभिन्न कम्पनीले हात हालेको भए पनि एकपछि अर्को गर्दै ती कम्पनी आयोजना निर्माण नगरी फर्किने गरेका छन् । बैतडी, डडेल्धुरा र बझाङ जिल्ला हुँदै बग्ने सेती नदीमा पहिलोपटक फ्रान्सेली कम्पनी सोग्रेहले अध्ययन गरी विद्युत् उत्पादन गर्न सकिने प्रस्ताव गरेको थियो ।

सोही कम्पनीको अध्ययनका आधारमा सन् १९८७ मा जलाशययुक्त आयोजनाको पहिचान भएको थियो । त्यस पछिका वर्षमा पनि विभिन्न कम्पनीले परियोजना निर्माणमा चासो देखाए पनि काम अघि बढ्न सकेको छैन।परियोजना बन्ने चर्चाका कारण यहाँ विकास गतिविधि समेत ठप्प भएका छन् । परियोजना प्रभावित क्षेत्रमा पर्ने भएकाले स्थानीय तहलगायत अन्य संघसंस्थाले विकास निर्माणका काम गर्न बन्द गरेका स्थानीय बासिन्दा बताउँछन् । परियोजनाले गाउँ विस्थापित हुने भन्दै खानेपानी, बाटोघाटो, विद्यालय भवन लगायत अन्य भौतिक संरचना नबनेको स्थानीय लोकेन्द्र चन्दले गुनासो गरे ।

सेती नदीले समेत बर्सेनि खेतीयोग्य जमिन कटान गर्दै लगेको छ । बाढी आउने समयमा नदी किनारका बासिन्दा डरले रातभर जाग्राम बस्ने गरेका छन् । स्थानीय बासिन्दाक अनुसार २०७० सालको बाढीले उक्त गाउँमा ठूलो क्षति पु¥याएको थियो । कटान रोक्न तारजाली लगाइएको भए पनि नदीको बहाव बढ्दा तारजाली भत्काएर गाउँमा बाढी पस्ने गरेको स्थानीय बासिन्दा बताउँछन् ।
 

 

प्रकाशित: २७ वैशाख २०७५ ०१:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App