१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

चिरा–चिरा पहरोमुनि नै पुनर्निर्माण

भूकम्पपछि चिरिएको कसेरी डाँडो र डाँडोमुनि रहेको माथिल्लो सिगार्चे गाउँ । तस्बिर : नागरिक

सिन्धुपाल्चोक– भूकम्पपछिको पुनर्निर्माण सकेर माथिल्लो सिगार्चे गाउँकी कृष्टि तामाङको परिवार केही महिनायता नयाँ घर सरेको छ। तीन वर्ष छाप्रोमा बसेर नयाँ घर सर्दा न कृष्टि खुशी छिन्, न उनको परिवारै उमंगमा छ। बरु मनमा त्रासले डेरा जमाएको छ। उनीहरु बसेको थातथलै असुरक्षित रहेको कृष्टिको बुझाई छ। 

कारण हो, उनको घरमाथिको कसेरी डाँडा चिरा–चिरा छ। डाँडाको माथिल्लो भागमा धाँजा फाटेको छ। ‘डाँडै खस्ने हो कि भन्ने पिरलोले सताइ रहन्छ,’ काखे बालकलाई दुध चुसाउँदै गर्दा भेटिएकी उनले चिरिएको पहरो देखाउँदै भनिन्। सामान्य झरी पर्दा अहिल्यैदेखि डर लाग्न थालेको सुनाउँछिन् कृष्टि। धाँजा र चिराबाट भलबाढी छिरेर डाँडै बस्तीतिर सोझिने हो कि भन्ने चिन्ताले त्रसित उनको अनुत्तरित प्रश्न थियो, ‘बर्खामा के हुने हो कुन्नि!’ 

यस्तै चिन्तामा छिन् रत्नकुमारी तामाङ पनि। निर्वाचित वडा सदस्य रहेकी उनको परिवारले पनि चर्किएकै डाँडोमुनि भूकम्पपछिको पुनर्निर्माण सकेको छ। नयाँ घर छिर्न पाउनुको क्षणलाई यही चिरिएको पहरोले उमंगमा बदल्न सकेको छैन्। ‘अन्यत्र जाने ठाउँ नभएकाले यहाँ बस्नु जोखिम छ भन्ने जान्दा जान्दै घर बनाउन बाध्य भयौं,’ उनले भनिन्। 

जनप्रतिनिधिको नाताले कसेरी डाँडाबारे जानकारी दिँदा दिँदै एक्कासी मौसम बदलियो। आकाशमा बादल मडारिएर झरी दर्केला जस्तै भयो। रत्नकुमारी कालोनिलो भइन्। उनको मनमा त्रास बडारियो, जसरी भर्खरै आकाशमा बादल मडारिएको थियो। ‘डरै डरमा बसेका छौँ,’ आफूलाई प्रतिनिधिको रुपमा उभ्याउँदै उनले गाउँलेको अवस्था सुनाइन्। 

२०७२ वैशाख १२ गते विनाशकारी भूकम्प निम्तिदाँसम्म कसेरी डाँडोमा केही भएको देखेका थिएनन् गाउँलेले। त्यसैले स्थानीयले आफूहरुलाई ‘भाग्यमानी’ ठानिरहेका थिए। तर भूकम्पको तीन महिनापछि साउन २८ को मध्यरात अकस्मात ठूलो आवाजसहित डाँडो खस्यो। भोलिपल्ट बिहान हेर्दा गाउँलेले डाँडो चिरिएको मात्र देखेनन्, डाँडामो थाप्लो (माथिल्लो भाग) मा चिरा र धाँजा फाटेको पनि भेटे। 

‘भूकम्प र पराकम्पले डाँडो थिलथिलो बनाएको रहेछ, पत्तै पाउन सकेनौँ,’ डाँडो खस्दा धन्नले बाँचेका चन्द्रबहादुर तामाङले भने। गाउँको सबैभन्दामाथि डाँडोमुनि उनी बस्थे। भूकम्पले घर ढालेपछि उनी त्यहीँ अस्थायी टहरो बनाएर बसेका थिए। पहिरोले उनको सबै सात रोपनी जग्गा पु-यो। उनले नजिकै स्थानीय साहुले उपलब्ध गराएको जग्गामा घर बनाएका छन्। ‘घर त ठडियो मन भने कामिरहेको छ,’ मलिन अनुहारमा चन्द्रबहादुरले भने। 

घटनाको केही दिनपछि इलाका प्रहरी कार्यालयबाट सुरक्षाकर्मी टोली पुग्दासमेत उनको परिवार डाँडो चर्किएको डाँडा सामुन्ने पहिरोकै बीचमा बसेको थियो। प्रहरीले असुरक्षा देखाउँदै आग्रह गरेपछि उनी अन्यत्र सरेका थिए। अहिले घर बनाएको ठाउँ पनि डाँडोमुनि नै पर्ने उनले सुनाए। 

झण्डै ७५ मिटर लामो कसेरी डाँडोको बीच भागमा चिरा परेको छ। चिराले डाँडोलाई दुई भागमा विभाजिन गरेको टाढैबाट प्रष्ट देखिन्छ। डाँडोको थाप्लो केही धस्सिएको छ। त्यहाँ अनगिन्ती चिरा र धाँजा छन्। चिरा र धाँजा फाटेको डाँडैमुनि स्थानीय भूकम्प पीडित त्रासकै बीच घर बनाउन व्यस्त छन्। ३० परिवार माथिल्लो सिगार्चे गाउँमा अधिकांश परिवार पुनर्निर्माण सकेर नयाँ घर सरेका छन्। केही परिवार पुनर्निर्माणको अन्तिम चटारोमा छन्। 

‘घटनापछि (डाँडो खस्दा) झण्डै आधा मिटरसम्म धाँजा फाटेका थिए। अहिले जोडिँदै गएको छ,’ अर्का स्थानीय बेन्द्रे तामाङ तामाङ भन्छन्, ‘यसै (जोडिँदै गरेका धाँजा)ले कुनै दिन झुक्याउन सक्छ।’ गाउँका अगुवा उनैले घटनापछि प्रहरी टोली बोलाएका थिए। इन्स्पेक्टर टोलीले जोखिम औंल्याएर गए पनि चिरिएको डाँडो हेर्न अरु कोही नआएको उनले बताए। 

गाउँलेले अर्को जुरे घटना निम्तिन सक्ने अनुमान लगाइ रहेको बेन्द्रे सुनाउँछन्। २०७१ साउन १७ गते कसेरी डाँडोभन्दा सामान्य चर्किएको जुरे पहाड खस्दा पाँच गाउँ बगाउँदै १ सय ४५ को ज्यान गएको थियो। उनका अनुसार डाँडोमुनिको माथिल्लो सिगार्चेभन्दा तल साढे २ सय घरपरिवारको तल्लो सिगार्चे र डाँडोमाथि त्यति नै परिवार बस्ने कसेरी गाउँ छ। भूकम्पपछि धाँजा र चिरा परेका क्षेत्रको भौगर्भिक अध्ययन गर्न विज्ञ टोली खटिएको सुने पनि यहाँ भने कोही नआएको स्थानीय बताउँछन्। ‘हाम्रो पहुँच प्रहरीसँग मात्र छ। त्यहाँ पुगेकै हौं,’ बेन्द्रेले भने, ‘प्रहरीले डाँडो चिरिएको सूचना माथिल्लो निकाएमा पु-याए/नपु-याएको थाहा भएन।’ वडा सदस्य रत्नकुमारी स्थानीयले विज्ञ टोलीबाट डाँडोको भौगर्भिक अध्ययन चाहेको बताउँछिन्।

प्रकाशित: २३ वैशाख २०७५ १३:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App