१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

नगरका बिरामीलाई उपचार खर्च दिइने

खोटाङ – हलेसी तुवाचुङ नगरपालिकाले गम्भीर प्रकृतिका रोग लागेका बिरामीलाई आर्थिक सहयोग गर्ने कार्यविधि कार्यान्वयनमा ल्याएको छ। विभिन्न ९ किसिमका जटिल रोग लागेर अस्पतालसम्म पुग्न नसक्ने नगरवासी बिरामीको उपचार सहयोगका लागि नगरपालिकाले आर्थिक सहयोग तथा सिफारिस कार्यविधि तयार पारेर कार्यान्वयनमा ल्याएको हो।

गत फागुन ८ गते बसेको नगर कार्यपालिकाको बैठकको निर्णयअनुसार मुटु रोग, मिर्गौला रोग, क्यान्सर, हेड इन्जुरी, स्पाइनल इन्जुरी, अल्जाइमर्स, पार्किन्सन्, सिकलसेल एनिमिया र थर्डडिग्री इम्पेरस कोल्याप्सका बिरामीलाई जनही पाँच हजार दिने कार्यविधि कार्यान्वयनमा ल्याइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल किरातीले बताए।

मिर्गौला प्रत्यारोपण गर्ने बिरामीलाई भने जनही १० हजार प्रदान गरिने नगरपालिकाले जनाएको छ। गम्भीर रोगका लागि आर्थिक सहयोग तथा सिफारिस कार्यविधिअनुसार अन्य सामान्य बिरामी भएका नगरवासीलाई भने जनही २ हजार ५ सय प्रदान गरिने किरातीले बताए। मेयरको संयोजकत्वमा बनेको आर्थिक सहयोग तथा सिफारिस समितिको सिफारिसका आधारमा बिरामीले उपचार खर्च पाउनेछन्।

उपचार सहयोगका लागि बिरामीले आवेदन दिएको तीन दिनभित्रमा उपचार खर्च प्रदान गरिने नगरपालिकाले जनाएको छ। प्राप्त आवेदनका आधारमा समितिले उपचारका लागि आर्थिक सहयोग दिन मिल्ने÷नमिल्ने, सहयोग रकमको मात्रालगायतको टुंगो लगाएर सिफारिस गर्नेछ। नगरपालिकाको आर्थिक सहयोग पाउनका लागि अस्पतालको प्रमाणित कागजात पेस गर्नुपर्नेछ । ‘गम्भीर प्रकृतिका र सामान्य दुवै प्रकृतिका बिरामीलाई आर्थिक सहयोग गर्ने कार्यविधि कार्यान्वयनमा ल्याएका छौं,’ किरातीले भने, ‘प्राप्त आवेदनका आधारमा सिफारिस समितिले कति रकम दिने, रकम दिन मिल्ने÷नमिल्ने लगायतको टुंगो लगाउने व्यवस्था गरिएको छ।’

नगरपालिकाका जनताको स्वास्थ्यलाई ध्यानमा राखेर नगरपालिकाले गम्भीर रोगका लागि आर्थिक सहयोग तथा सिफारिस कार्यविधि तयार पारेको हो। उपचार खर्च अभावमा अकालमा ज्यान गुमाउनबाट बचाउने प्रयास स्वरूप जटिल किसिमका रोगबाट पीडित नगरका बिरामीलाई सहयोग गर्ने कार्यविधि कार्यान्वयनमा ल्याइएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए।

स्वास्थ्य स्वयंसेविकालाई मासिक प्रोत्साहन भत्ता
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता वितरण सुरु गरेको छ। नगर कार्यापालिकाको निर्णयअनुसार ११ वडाका १२८ महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहनस्वरूप मासिक जनही एक हजार रुपैयाँका दरले प्रोत्साहन भत्ता वितरण गरिएको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरातीले बताए। महिला स्वास्थ्य स्वयंसेविकाको योगदान र श्रमलाई मध्यनजर गर्दै नगरपालिकाबाट छुट्टै बजेट व्यवस्था गरेर साउनदेखि पुससम्मको प्रोत्साहन भत्ता प्रदान गरिएको नगरपालिकाले जनाएको छ।

हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका १० जना, हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका १० जना, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका ११ जना, हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेका ११ जना, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका १४ जना, हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका १२ जना, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका १३ जना, हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका १२ जना, हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका १० जना, हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका १३ जना र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका १२ महिला स्वास्थ्य स्वयंसेविकालाई वडामै पुगेर प्रोत्साहन भत्ता वितरण गरिएको हो।

नगरपालिकाले नगरमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाका लागि पहिलोपल्ट प्रोत्साहन भत्ता कार्यान्वयनमा ल्याएको हो। राज्यबाट पोसाक र गोष्ठी भत्ता तथा भिटामिन ‘ए’ खुवाएबापतको भत्तामात्र पाउँदै आएका उनीहरू नगरपालिकाबाट प्रोत्साहन भत्ता पाउँदा थप उत्साहित भएका छन्। गाउँमा बसेर वर्षौंदेखि सर्वसाधारणको स्वास्थ्यका क्षेत्रमा उत्कृष्ट सेवा प्रदान गरेकामा महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ताको व्यवस्था मिलाइएको मेयर इवनले बताए।

यसअघि माघमा दिप्रुङ चुईचुम्मा गाउँपालिकाले पनि महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक पाँच सय रुपैयाँका दरले साउनदेखि पुससम्मको प्रोत्साहन भत्ता वितरण गरेको थियो।

प्रकाशित: ४ वैशाख २०७५ ०१:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App