२४ पुस २०८१ बुधबार
image/svg+xml
समाज

टुँडिखेलको आँगनमा ‘सद्भावको धरहरा’

टुँडिखेलको पश्चिमतिर ठिंग धरहरा उभिएको छ। टुँडिखेलको पूर्वतिर भने परम्परागत पोसाकमा सांस्कृतिक धरोहरजस्तै देखिएका दौंतरी उभिएका थिए। तमु ल्होसार पर्वको अवसरमा सोमबार गुरुङ समुदायको पोसाकमा सजिएकी धादिङकी स्वस्तिका सेवा र दीपा गुरुङको मुस्कानले ल्होसारमा रौनकता झनै बढायो।

‘जिन्स सर्टमा सजिने मेरो साथीले मेरो पर्वमा मखमली चोलो र घलेक लगाएर आउँदा मलाई निकै खुसी लाग्यो,’ उनले भनिन्, ‘उसको आगमनले मेरा आफन्तलगायत अरूहरू पनि खुसी भए ।’ कक्षा १२ मा अध्ययनरत यी दौंतरीले एकअर्काको पर्व यसै गरी मनाउने गरेका छन्। ‘साथीलाई सरप्राइज दिन म गुरुङ पहिरनमा सजिएर आएकी हुँ,’ धादिङ घर भई कपनमा बस्दै आएकी स्वस्तिका सेवाले भनिन्, ‘मलाई आज गुरुङ्सेनी भएको महसुस भएको छ।’ 

उनीहरूको जस्तै अन्य समुदायकाहरूले पनि सांस्कृतिक पर्वमा सक्रिय सहभागिता जनाए। काभ्रे देउपुरका ७५ वर्षीय देवीप्रसाद न्यौपाने पनि ल्होसार पर्वमा काठे भाकामा कम्मर मर्काउँदै रमाउँदै नाचे। ‘आफ्नो पर्वमा मात्र होइन, अरूको पर्वमा पनि रमाउन जान्नुपर्छ,’ न्यौपानेले भने, ‘टुँडिखेलमा गुरुङ समुदायसँगै फन्को लगाउँदा संसार घुमेजस्तै भयो।’

अन्य समुदायका मानिस आएर आफ्नो समुदायको पर्वमा रमाउँदा उनीहरू पनि दंग थिए। ‘उहाँको नाचले हाम्रो मन छोयो,’ नीता गुरुङले भनिन्, ‘मलाई पनि उहाँसँगै नाच्ने रहर लाग्यो।’ टुँडिखेलमा सद्भावको धरहरा उभिएको यो पहिलो पटक होइन। विभिन्न जातजातिको उत्सव मनाउने थलोका रूपमा विकसित हुँदै गएको टुँडिखेलले डेढ दशक सिंगो नेपालको झल्को दिने गरेको छ। हरेक जातजातिको पर्वमा सिंगो नेपालीको उपस्थिति हुने भएकाले यो सद्भावको आँगनजस्तो पनि देखिन्छ। 

सामाजिक सञ्जालबाट प्रमको शुभकामना 
‘तमू ल्होसार सम्झँदा शिरमा शिरबन्दी, शरीरमा मखमली चोली, घलेक, पटुकी, छिटको गुन्यू लगाएर मजेत्रो ओढेर घाटु, सोरठी र कौडा नाचेका गुरुङ महिलाको सम्झना आउँछ,’ सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले लेखेका छन्, ‘भोटोमाथि भांग्रो लगाएर पटुकी र कछाड बाँधेर नाचेका पुरुषहरूको झलझली सम्झना आउँछ।’

विविध कारण देखाएर प्रधानमन्त्री कार्यक्रममा उपस्थित नभए पनि उल्लेख गरेजस्तै वेशभूषामा सजिएर सोरठी र कौडा नाचेका दृश्यले सोमबार राजधानीको टुँडिखेलमा रौनकता छाएको छ। गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै मनाएको तमू ल्होसार पर्वमा अन्य समुदायका मानिस पनि उत्तिकै रमाएका छन्।

‘सबैको पर्व रमाइलो हुन्छ,’ गुरुङ पहिरनमा नाच्दै गरेकी अस्मिता थापाले भनिन्, ‘गुरुङ साथीसँगै उसको पर्वमा रमाउँदै छौं।’ टुँडिखेलमा बुढाबुढीदेखि केटाकेटीसम्मको उत्साहपूर्ण सहभागिता रह्यो। हजुरआमासँग पर्व मनाउन टुँडिखेल आएका कक्षा ७ मा अध्ययनरत जेशिका गुरुङले दिन निकै रमाइलो भएको सुनाइन्। ‘हाम्रो मूल घर लमजुङ हो तर म सधैं यहीको पर्वमा रमाउने गरेकी छु,’ उनले भनिन्, ‘हजुरआमासँग यहाँ आउँदा निकै 
खुसी लाग्छ।’

‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्य रूपमा मनाउने गर्छन्। ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ। गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किंवदन्ती छ।

गुनिला गुरुङ टुँडिखेलमा आयोजित कार्यक्रममा उक्त समुदायका विभिन्न व्यक्तिले शुभकामना व्यक्त गरे। उनीहरूले आफूले निम्त्याएका कतिपय अतिथि नआएकोमा गुनासो पोख्दै आएकाप्रति आभार व्यक्त गरे। कार्यक्रममा अतिथि गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घलेले गुरुङ समुदाय मेहनत र इमानदारीका कारण अगाडि बढेको बताए। ‘इमानदारी र मिहेनतले हामीलाई अगाडि बढाएको छ,’ उनले भने, ‘हामी अझै सचेत भएर अगाडि बढ्नु जरुरी छ।’ 

उनले अब विदेश भएकालाई राजधानी फर्कन र राजधानीमा भएकालाई गाउँघरमा पुग्न अनुरोध गरे। ‘अहिले टुँडिखेलमा सबै जिल्लाका जम्मा भएका छौं,’ उनले भने, ‘हामीले हाम्रो गाउँघर पनि बिर्सनुहुँदैन।’ राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ समुदायको महान् चाड ‘तमु ल्होसार’का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र सुस्वास्थ्यको कामना गरेका छन्। राष्ट्रपति पौडेलद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ,’ बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा तमू ल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनका साथै यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास लिएको छु।’

नेपालका हिमाली र उच्च पहाडी भेगमा बसोबास गर्ने गुरुङ समुदायद्वारा तमु ल्होसार पर्वलाई नयाँ वर्ष सुरु भएको अवसरका रूपमा हर्षोल्लासका साथ मनाउने चलन रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले गुरुङ समुदायको बाहुल्य रहेका विभिन्न जिल्लामा यो पर्व धुमधामसँग मनाइने स्पष्ट पारेका छन्।

नेपालको सांस्कृतिक परम्पराको संरक्षण तथा संवर्द्धन गर्दै पर्यटन प्रर्वद्धनात्मक आर्थिक र सामाजिक रूपमा समृद्ध मुलुक निर्माण गर्नसमेत गुरुङ समुदायको भूमिका प्रशंसनीय रहेको राष्ट्रपतिको कथन छ। राष्ट्रपति पौडेलले तमू ल्होसार पर्वले आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणमा अग्रसर भई प्रगति पथमा अघि बढ्न सबैलाई ऊर्जा प्रदान गरोस् भन्ने कामना गरेका छन्। त्यस्तै मुलुकका विभिन्न दलका नेताहरूले तमू ल्होसार पर्वको शुभकामना दिएका छन्।

प्रकाशित: १६ पुस २०८१ ०७:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App