१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

लुम्बिनी क्षेत्रको सम्पदा संरक्षणमा कोष र स्थानीय सरकारबीच सहकार्यको खाँचो

बुद्धजन्मस्थल लुम्बिनी क्षेत्रको सम्पदा संरक्षण एवं थप पर्यटन प्रवर्द्धन गर्न लुम्बिनी विकास कोषले आइतबार लुम्बिनी सांस्कृति नगरपालिकाका जनप्रतिनिधिसँग छलफल गरेको छ। लुम्बिनी पुरातात्विक, धार्मिक र सांस्कृतिक दृष्टिकोणले नेपालको अमूल्य सम्पत्ति रहेकाले यसको विकास, संरक्षण र प्रवर्द्धनमा स्थानीय सरकार र कोषबीच सहकार्य गर्नुपर्ने खाँचो रहेको छलफलका सहभागीले औँल्याएका थिए।

लुम्बिनीको विकास र संरक्षण आफूहरूले मात्रै गरेर नहुने कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले बताए।  उनले भने, ‘स्थानीय सरकार, लुम्बिनीका स्थानीय बासिन्दाको साथ र सहयोग आवश्यक छ। कोषको वर्तमान पदाधिकारी स्थानीयवासीको सवालमा संववेदनशील रहेको लुम्बिनीलाई बौद्धमार्गी र विश्वशान्तिका अनुयायीहरूको थलोका रूपमा विकास गर्नुपर्छ।’

उनले स्थानीय तहका जनप्रतिनिधिले लुम्बिनीलाई साँच्चिकै शान्तिस्थलका रूपमा विकास गर्न सहयोग गर्नुपर्ने बताए। लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजनले कोष र स्थानीय सरकारबीच सहकार्यको वातावरण बढाउनुपर्ने बताए। उनले कोषले स्थानीय सरकारसँग समन्वय र सहकार्यमा कन्जुस्याइँ गरेको बताउँदै अब सहकार्य गरेर स्थानीयवासीको मागलाई समयमै सम्बोधन गरेर अगाडि बढ्न सुझाव दिए।

कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्दै कोषका सदस्यसचिव सानुराजा शाक्यले लुम्बिनी विश्व सम्पदा सूचीमा सूचीकृत भएको स्थल र विश्वका बौद्धमार्गीका आस्थाको केन्द्र भएकाले यहाँका विषयमा सबैपक्ष संवेदनशील हुनुपर्नेमा जोड दिए। ‘युनेस्कोले खतराको सूचीमा नराख्ने निर्णय भए पनि यसको संरक्षणका लागि कोषसँगै स्थानीय सरकार र स्थानीयवासीले सहयोग गर्नुपर्छ‘, उनले भने। 

लुम्बिनीभित्रको संरचनाले मात्रै खतरामा नपरेको बताउँदै वातावरण प्रदूषण, ‘प्रोक्वाक’ले भनेको शान्ति सहरजस्ता विषयमा प्रश्न उठेकाले यस विषयमा सङ्घ, प्रदेश र स्थानीय सरकारले चासो र सहकार्यको आवश्यकता औँल्याए। उक्त अवसरमा विहारहरूका प्रतिनिधिले आफूहरूले धर्मशाला सञ्चालन गरिरहे पनि होटलका रूपमा सञ्चालन गरेको भनेर स्थानीय होटल व्यवसायीले गुनासो गरेकामा दुःख व्यक्त गरेका थिए। 

छलफलमा भन्ते विवेकानन्द, सूचना तथा जनसम्पर्क प्रमुख डा हरिध्वज राई, विहारका प्रतिनिधिले लुम्बिनी क्षेत्रको विकासमा जोड दिएका थिए। कार्यक्रमम लुम्बिनी विकास कोषका कार्यकारिणी सदस्य श्याम रोक्का, सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक, कोषका विभागीय प्रमुख, विहारका प्रतिनिधिको उपस्थिति थियो। 

छलफलमा लुम्बिनी सांस्कृतिक नगरपालिका वडाअध्यक्षहरूले लुम्बिनी सांस्कृतिक नगरपालिकासँग कोषले सहकार्य नगरेको गुनासो गरेका थिए। कोषका पदाधिकारीसहित नगरपालिकाका उपप्रमुख हरिजन, वडाअध्यक्ष, विभिन्न विहारका प्रतिनिधि, बौद्ध भिक्षुसहितको उपस्थिति रहेको थियो। 

प्रकाशित: २१ श्रावण २०८१ ०७:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App