७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

१८ बुँदे मागसहित सामूहिक सत्याग्रह

व्यवसायी तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूले विभिन्न १८ बुँदे मागसहित काठमाडौँको कलङ्कीमा सामूहिक सत्याग्रह सुरु गरेका छन् ।

‘स्वदेशमै काम गरेर खान दे, उद्योगी व्यवसायी तथा आम नागरिकलाई बाँच्न दे’ भन्ने मूल नारा सहित बैशाख २४ गतेदेखि सुरु भएको सत्याग्रह माग सम्बोधन नभएसम्म जारी रहने दृढता आन्दोलनकारी पक्षले व्यक्त गरेको छ । 

सत्याग्रहमा बसिरहेकाहरूले बैङ्किङ कर्जा ब्याजदर अधिकतम ७ प्रतिशत हुनुपर्ने, कालोसूची वा लिलामीमा गएकालाई तत्कालै बन्द गरी न्यूनतम २ वर्षको अवधि थप गर्नुपर्ने, योजना सम्पन्न भएका निर्माण व्यवसायीलाई अविलम्ब भुक्तानी गर्नुपर्ने माग राखेका छन् । त्यस्तै सनातन राष्ट्र नेपाल घोषणा गर्नुपर्ने, यातायात क्षेत्रमा लगानी कर्ताको संरक्षण तथा पूर्ण बिमा व्यवस्था हुनुपर्ने, एम्बुलेन्स, तीर्थयात्री, पर्यटकीय सवारी, दिल्ली काठमाडौँ बस सेवाबाहेक सबै प्रकारका भारतीय मालवाहक सवारी पूर्णरूपमा बन्द हुनुपर्ने लगायत माग उनीहरुको छ । 

त्यस्तै स्वदेशमै रोजगारी सुनिश्चित गर्नुपर्ने, मिटर ब्याजीलाई कानुन अनुसारको व्याज दिलाई बाँकी रकम साँवाबाट घटाई कानुन अनुसार ठगी मुद्दा लगाउनुपर्ने, सरकारले कृषिजन्य उपज खरिद सुनिश्चित गर्नुपर्ने, प्रादेशिक संरचना पुनर्विचार गर्दै स्थानीय तहलाई अधिकार सम्पन्न गराउनुपर्ने लगायतका माग रहेको सत्याग्रहमा बसिरहेका व्यवसायी हिमलाल पौडेलले जानकारी दिए । उनले सरकारले आफ्ना माग पुरा नगरेसम्म सत्याग्रह जारी रहने बताए । 

‘सरकारले हाम्रा माग समयमै सम्बोधन नगरेमा आन्दोलनका थप कार्यक्रमहरू समेत सार्वजनिक गर्छौं,’ उनले भने । हाल सामूहिक सत्याग्रह अन्तर्गत विभिन्न व्यक्ति तथा सङ्घसंस्थाका प्रतिनिधि समेत नौ जना सत्याग्रहमा छन् । उनीहरूको समर्थनमा दैनिक हजारौँको संख्यामा व्यवसायी तथा सर्वसाधारण उपस्थिति हुने गरेको पौडेलले जानकारी दिए ।

प्रकाशित: २७ वैशाख २०८१ १५:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App