६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

शीघ्र श्रम स्वीकृति: एक कर्मचारीले दैनिक ८४ जनालाई सेवा दिनैपर्ने बाध्यता

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार कार्यालयले कागजपत्र पुगेको अवस्थामा २ मिनेट ४४ सेकेन्डमै करिब दुई महिनादेखि श्रम स्वीकृति दिँदै आएको छ।

श्रममन्त्री डोलप्रसाद अर्यालको निर्देशनमा वैदेशिक रोजगारीमा विभिन्न देश जान चाहने श्रमिकले श्रम स्वीकृति पाउने गरेका छन्। कर्मचारीकै कारण छोटो समयमै श्रम स्वीकृति दिने कार्यले तीव्रता पाएको मन्त्री अर्याल बताउँछन्।

वैदेशिक रोजगार कार्यालयले कागजात मिलेको अवस्थामा दुई मिनेटभित्रै श्रम स्वीकृति दिँदै आएको उक्त कार्यालयका निर्देशक कल्पना मास्केले बताइन्।

‘केही मिनेटमै दिने श्रम स्वीकृतिले निरन्तरता पाइरहेको छ,’ उनले भनिन्, ‘बिहान ७ देखि रातको ९ बजेसम्म दिने श्रम स्वीकृतिले गर्दा धेरै सरलता आएको छ। अहिले पहिलेजस्तो समस्या केही आएको छैन। पहिला धेरै ‘पेन्डिङ’ मा हुन्थ्यो। अहिले त्यो पनि छैन।’

कागजात मिलेको खण्डमा श्रम स्वीकृत गर्न समय नलाग्ने बताउँदै निर्देशक मास्केले वैदेशिक रोजगारीका लागि अधिकांश युवाले घरमै बसेर अनलाइनमार्फत श्रम स्वीकृति लिने गरेको सुनाइन्। उनले भनिन्, ‘कार्यालय पनि धेरै धाउँदैनन्। कहिलेकाहीं फाट्टफुट्ट मात्र आउने हो।’ 

वैदेशिक रोजगारीसम्बन्धी कामकारबाहीलाई प्रविधिमैत्री बनाउन वैदेशिक रोजगार कार्यालयले फेमिस प्रणाली प्रयोगमा ल्याएको छ। प्रणालीमा आउने समस्याका कारण पहिले श्रमिकले श्रम स्वीकृति पाउन घन्टौं कुर्नुपर्ने बाध्यता थियो। तर, प्रणालीमा आएको उक्त समस्या सल्टिएपछि मिनेटभरमै श्रम स्वीकृति पाउने गरेका हुन्।

‘पुनः श्रम स्वीकृति दैनिक करिब १५ सय र नयाँ श्रम स्वीकृतिका लागि ३ सय टोकन सुविधा छ’, उनले भनिन्, ‘लगभग सबैले श्रम स्वीकृति लिएका छन्। कागजात नमिलेको खण्डमा मात्रै श्रम स्वीकृति नपाउने हो।’ प्रत्येक कर्मचारीले ८४ जना युवालाई श्रम स्वीकृति दिनैपर्ने कार्यविधि मन्त्री अर्यालले लागु गरेको कार्यालयका कर्मचारी बताउँछन्।

उनका अनुसार पहिला एक श्रमिकको श्रम स्वीकृति दिन एक कर्मचारीले प्रमाणीकरण गर्ने र अर्को कर्मचारीले स्वीकृत गर्ने प्रक्रिया थियो। त्यतिखेर श्रमिकका लागि श्रम स्वीकृति दिने ५–७ जना मात्रै कर्मचारी थिए। तर, अहिले कार्यालयका सबै कर्मचारीले श्रम स्वीकृति दिने गरेको निर्देशक मास्केले जानकारी दिइन्।

विभागअन्तर्गतका वैदेशिक रोजगार कार्यालय काठमाडौंसहित श्रम तथा रोजगार कार्यालय पोखरा, श्रम तथा रोजगार कार्यालय बुटवल, श्रम तथा रोजगार कार्यालय जनकपुर र श्रम तथा रोजगार कार्यालय सुर्खेत र दूतावासबाट गन्तव्य देशबाट श्रम स्वीकृति लिन सकिने व्यवस्था छ।

वैदेशिक रोजगारीका लागि युवाले लिने श्रम स्वीकृति सातवटै प्रदेशबाट लिने व्यवस्था छ। काठमाडौं, ताहाचलबाट मात्रै सातामा १० हजारभन्दा बढीले श्रम स्वीकृति लिने गरेको कार्यालयका कर्मचारीले जानकारी दिए।

‘दैनिक वितरण गरिएको टोकन सकिएको खन्डमा सोही दिन आवश्यक परे थप पनि दिने गरेका छौं। अहिले केहीमा रोकावट छैन,’ उनले भनिन्। श्रमिकको सबै कागजात नपुगेको खन्डमा धेरै दिनसम्म पनि श्रम स्वीकृति दिन गारो हुने उनले बताइन्।

पछिल्लो समय सफ्टवेयरमा समस्या आउँदा १५ दिनसम्म पनि श्रम स्वीकृति दिन नसकिएको कर्मचारीले बताउँदै आएका थिए। जसकारण श्रमिकहरूले दुःख पाइरहेका थिए। समयमा श्रम स्वीकृति नहुँदा कतिपय युवाको उडानसमेत छुट्ने गरेको कार्यालयमा धाउँदै गरेका पीडितहरूको गुनासो हुन्थ्यो। तर, कार्यालयका कर्मचारीले चाहेको खन्डमा घन्टाभरमै नभई मिनेटभरमै श्रम स्वीकृति दिन सकिने पुष्टि भएको छ।

विद्युत् आपूर्ति बन्द हुने, इन्टरनेटको गति कम हुनेलगायत अन्य प्राविधिक समस्या आए पनि श्रम स्वीकृति दिन एक घन्टाभन्दा बढी समय नलाग्ने मन्त्री अर्यालले बताए।

यसअघि तत्कालीन श्रममन्त्री शरतसिंह भण्डारीले फेमिस प्रणाली सुधारका लागि भन्दै वैदेशिक रोजगार कल्याणकारी कोषबाट १० करोड रूपैयाँ खर्च गर्ने निर्णय गरेका थिए। तर, नियमविपरीत कोषको पैसा दुरूपयोग गर्न लागेको भन्दै चौतर्फी विरोध भएपछि अख्तियारले रोकिदिएको थियो।

वैदेशिक रोजगार कार्यालयका तथ्यांकअनुसार संस्थागत, व्यक्तिगत र जीटुजी गरेर चैत २३ देखि वैशाख २३ गते अर्थात् एक महिनामा वैदेशिक रोजगारीमा विभिन्न देशका जानका लागि ६६ हजार २ सय ९९ सय व्यक्तिले श्रम स्वीकृति लिएका छन्।

श्रम स्वीकृतिका लागि मुख्यतः पासपोर्ट, भिसा र रोजगारदातासँगको सम्झौतापत्र पेस गर्नुपर्छ। त्यस्तै श्रमिकले बिमा, कल्याणकारी कोष र सामाजिक सुरक्षा कोषको शुल्क पनि भुक्तानी गरेको हुनुपर्ने छ। श्रमिकलाई सहज रूपमा श्रम स्वीकृति प्रदान गर्न वैदेशिक रोजगार विभागले फेमिस ल्याएको हो।

अहिले दैनिक औसत १६ सय जनालाई श्रम स्वीकृति दिने गरिएको छ।

प्रकाशित: २५ वैशाख २०८१ १९:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App